सांसदको टोली आज बाट ग्यास अनुगमनमा
वैशाख १, २०७३- मागअनुसार ग्यास भित्रिए पनि सर्वसाधारणले ग्यास नपाएको गुनासो बढेपछि सांसद सहितको संयुक्त टोलीले ग्यास अनुगमन गरेको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयोजकत्वमा गरिएको अनुगमनमा सुशासन तथा अनुगमन समिति, नापतौल विभाग, जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू थिए। अनुगमनका क्रममा नेपाल ग्यासले उद्योगबाटै सिधै उपभोक्तालाई ग्यास दिएको फेला परेको छ। उद्योगबाट बिक्री गरेको फेला परेपछि केही सिलिन्डर जफत गरेको विभागका शाखा अधिकृत तथा टोलीको नेतृत्व गरिरहेका पोषराज खनालले बताए। विभागका अनुसार कम्पनीले निजी सवारी साधनमा ग्यास राखेर वितरण गर्दै आएका थिए। ‘उद्योगबाट सर्वसाधारणको घरमा कसरी ग्यास गएको छ भनेर नेपाल ग्यास कम्पनीमा संयुक्त टोलीले अनुगमन गरेको थियो,’ खनालले भने, ‘तर, सातवटा ग्यास निजी सवारी साधनमा राखेर बाहिर निस्केको भेटियो।’ ती सिलिन्डर जफत गरी प्रहरीलाई जिम्मा लगाएको उनले बताए। खनालका अनुसार ती सिलिन्डर चण्डी ढकालको नाममा थिए। अहिले उद्योगबाट सिधै सर्वसाधारणलाई बिक्री गर्न रोक लगाइएको छ। उद्योगबाट बिक्री गर्दा पहुँचवालाले मात्रै पाएको भन्ने गुनासो बढेपछि सरकारले डिपोबाट मात्रै बिक्री गर्ने नियम लागू गरेको छ। एलपी ग्यास उद्योग संघले पनि डिपोमार्फत नै वितरण गर्दै आएको जनाएको छ। तर, नेपाल ग्यासले भने उद्योगबाट बिक्री गरेको फेला परेको हो। नेपाल ग्यासका मार्केटिङ म्यानेजर राजेन्द्र दगालले उद्योगबाटै बिक्री गर्ने नियमबारे आफूलाई कुनै जानकारी नभएको बताएको शाखा अधिकृत खनालले बताए। ‘किन उद्योगबाट बिक्री गरेको भन्ने सोधपुछ गर्दा मन्त्री सांसदहरूको तोक आदेश आउँछ, त्यसैले दिने गरेका छौं भन्ने जवाफ पायौं,’ दगालको भनाइ उद्धृत गर्दै खनालले भने। यस्तै अनुगमनका क्रममा एउटा म्याद नाघेको सिलिन्डर भेटिएको थियो। ती सिलिन्डरसहित कानुनी कारबाहीका लागि प्रहरी कार्यालय बालाजु वृत्तमा पठाएको विभागले जनाएको छ। ‘प्रहरीले नियम कानुनअनुसार कारबाही गर्ने छ,’ खनालले भने। विभागका महानिर्देशक गोकुलप्रसाद धितालले ग्यास वितरणमा धेरै गुनासो आएपछि सांसदहरूले पनि अनुगमनमा चासो देखाएको बताए। ‘अहिलेको अनुगमन मुख्यत: ग्यासमा केन्द्रित छ,’ उनले भने, ‘सोहीअनुसार सांसदको टोली पनि अनुगमनमा गएका छन्।’ अनुगमनका क्रममा केही कैफियत फेला परे कानुनी कारबाही गरिने उनले बताए। नाकाबन्दी खुलेको महिनौं बित्दा पनि ग्यास अभाव कायमै भएपछि अहिले क्षेत्रगत रूपमा वितरण सुरु गरिएको छ। अभावलाई न्यूनीकरण गर्न क्षेत्रगत रूपमा वितरण गरेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। संघका अनुसार चैत २९ गते भक्तपुर जिल्ला/क्षेत्रमा ग्यास वितरण गरिएको थियो। ३० गते नयाँबानेश्वर, कोटेश्वर, बत्तीसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर, बबरमहल क्षेत्रमा वितरण भएको छ। संघका अध्यक्ष शिव घिमिरेका अनुसार हरेक डिलरलाई उसले बेचिरहेको उद्योगको ग्यास उपलब्ध हुनेछ। नाकाबन्दीअघि ती डिलरले महिनामा जति ग्यास सिलिन्डर बेच्दै आएका थिए सोही परिमाणमा सिलिन्डर उपलब्ध गराइने छ। उदाहरणका लागि कुनै डिलरले कुनै एक उद्योगका सिलिन्डर नाकाबन्दी अघि ४ सय बेच्थ्यो भने तोकिएको एकै दिनमा चार सय सिलिन्डर उपलब्ध गराइने छ। यदि तोकिएको दिन पुर्याउन नसकिए त्यसको दोस्रो दिन उपलब्ध गराइने घिमिरेले बताए। ‘कुन कुन डिपोले पहिले कति सिलिन्डर बाँडेका थिए त्यसको हामीसँग तथ्यांक छ,’ घिमिरेले भने, ‘त्यसकै आधारमा ग्यास दिइने छ।’



0 comments
Write Down Your Responses