डोटीमा एके–४७ सहित पाँच भारतीय प्रहरी पक्राउ
भीमदत्तनगरः भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै हिँडेका भारतीय प्रहरी निरीक्षकसहित पाँच भारतीय प्रहरी डोटीबाट पक्राउ परेका छन् ।
आइतबार बिहान सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट सादा पोसाकमा नेपाल प्रवेश गरेका भारतीय प्रहरीलाई डोटी प्रहरी टोलीले पक्राउ गरेको हो ।
पश्चिमी नाका गड्डाचौकी भएर हतियारसहित सादा पोसाकमा नेपाल पसेका भारतीय सुरक्षाकर्मीलाई डोटी प्रहरीले सानागाउँ, चौखुट्टे नजिकैबाट पक्राउ गरेको हो । सानागाउँ डोटी र अछामको सीमा क्षेत्र हो ।
‘पाँच जना भारतीय प्रहरी पञ्जाबको डाक्टर हत्या प्रकरणका आरोपितलाई खोज्न भन्दै अछाम जान लागेका बेला पक्राउ परेका हुन्,’ प्रहरीले स्रोतले भन्यो, ‘उनीहरुले बाटो देखाउन भन्दै पञ्चाबबाटै अछामका एक स्थानीयवासीलाई लिएर हिँडेका थिए ।’
स्रोतका अनुसार उनीहरुसँग एक थान एके–४७ तथा त्यसमा लाग्ने गोली २५ थान र पेस्तोल तथा गोली १२ थान समेत भेटिएको छ ।
उनीहरु वनबासा सीमा क्षेत्रसम्म पोसाकमा आएको र सीमा वारि आइसकेपछि सादा पोसाकमा भित्रिएको थाहाभएको छ ।
उनीहरु निजी जीप लिएर डोटी पुगेका थिए । पाँचै जनालाई कैलाली ल्याइँदैछ । हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाल आउजाउ गर्न पाउँदैन ।
यस घटनाबारे जान्न खोज्दा सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी विजयराज भट्टले विस्तृत विवरण दिन चाहेनन् । ‘अहिले नै मकहाँ आइपुगेको छैन,’ डिआइजी भट्टले भने /



0 comments
Write Down Your Responses