अनिश्चितकालिन बन्द कर्णाली राजमार्ग। । ।

                                      वैशाख- १५- २०७३- कर्णाली यातायात व्यवसायी संघ प्रधान कार्यालय जुम्लाले बुधबार बिहान देखि अनिश्चितकालिन कर्णाली राजमार्ग बन्द गरेको छ । बन्दका कारण यात्रु विचल्लीमा परेका छन । बन्दले यात्रु सडकमा हिँडेर यात्रा गरिरहेका छन् । चन्दननाथ यातायात प्रालीले सेवा सञ्चालनमा गरेको करारनामा किर्ते भएको भन्दै छानबिन नहुँदासम्म राजमार्गको बन्द नखुल्ने कर्णाली यातायतका अध्यक्ष मिनबहादुर थापाले जानकारी दिए । उनले चन्दननाथ प्रालीको नाममा अवैधानिक रुपमा कर्णालीमा बस सञ्चालन गर्न नमिल्ने भन्दै प्रक्रिया नपुगेसम्म चल्न नदिने बताए । यसअघि जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको सर्वदलिय, सर्वपक्षिय बैठकले वेशाख १७ गते देखि बिना अवरोध प्रालीका बस चल्न पाउने निर्णय गरेको थियो । सयौं यात्रुहरु बस छुट्ने आसमा बसपार्कमा बसेका छन् । जुम्लादेखि सुर्खेत नेपालगंज, काठमाडौं र छोटो दुरीमा चल्ने बस छुट्न सकेका छैनन् । यता चन्दननाथ प्रालीले सर्वदलिय बैठकको निर्णय बमोजिम १७ गते बिहानदेखि बस छुटाउने जनाएको छ । आफूहरुका कागजपत्र अवैध नभएको भन्दै अवैध भए अदालतमा गएर पुष्टी गराउन चेतावनी दिए । चन्दननाथ प्राली सेयर होल्डर धुव्र थापाले आफूहरु स्वस्थ प्रतिष्पर्धा गर्न आएको भन्दै खारेज भइसकेको एकाधिकार प्रथा हटाउन स्थानिय प्रशासनलाई अनुरोध गरे । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले चन्दननाथ प्रालीले अवैध कागजात पेश गरेको भए अदालतमा गएर रिट दायर गर्न सकिने बताए । उनले भने, उनीहरुले कम्पनी ऐन बमोजिम करारनामा गरिएको भन्दै कागजात किर्ते कार्वाहीको दायारमा ल्याउने छु । प्रमुख जिल्ला अधिकारी पण्डितले व्यवसायीबीचको आन्तरिक विवादले यात्रुको विचल्लीमा परेको भन्दै यथासिघ्र दुवै पक्ष मिलेर यातायात सञ्चालनमा ल्याउन सुझाए । यात्रुहरुले आफूहरुले पाउनु पर्ने यातायात सेवा सञ्चालनको लागि माग गरेका छन् ।

0 comments

Write Down Your Responses