काण्डै–काण्ड र फुटबल नेपाली खेलकुदमा २०७२ सालमा के–के भयो ?
चैत्र २७, २०७२- झण्डै नौ हजारको ज्यान लिएको भूकम्पको कारण २०७२ सालको सुरुआत नेपाली खेलकुदका लागि पनि राम्रो भएन । फुटबलको लागि मैदानभित्रको नतिजा अहिलेसम्मकै सबभन्दा उपलब्धिमूलक रह्यो तर मैदानबाहिरका गतिविधिले पनि लज्जाको इतिहास नै बनायो । समग्र खेलकुदलाई हेर्दा २०७२ साल वाह भन्ने खालको रहेन । तर, सम्भावनाका पाइलाहरू भने मेटिएका छैनन् । भूकम्पको पहिलो झट्का गल्फलाई पर्यो । आयोजनाको साता नै भूकम्प आएपछि घरेलु गल्फको सबभन्दा प्रतिष्ठित प्रतियोगिता सूर्य नेपाल मास्टर्सको २२ औं संस्करण आयोजना नै सम्भव भएन । यस कारण नेपाली व्यावसायिक गल्फरको भारत, बंगलादेश, श्रीलंकाका उत्कृष्ट खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर गुमेको थियो । भूकम्पकै कारण एसियन भारोत्तोलन च्याम्पियनसिप पनि काठमाडौंबाट पताया (थाइल्यान्ड) सारियो । यो पनि नेपाली खेलकुदको लागि ठूलै नोक्सान रह्यो । साहसिक दौडको रूपमा विश्वविख्यात तेन्जिङ हिलारी एभरेस्ट म्याराथनलाई पनि भूकम्पले प्रभावित पार्यो । वर्षेनी मे २९ मा आयोजना हुँदै आएको यो म्याराथनको १३ औं संस्करणलाई औपचारिकता दिन ५ अक्टोबरमा सञ्चालन गरिएको थियो । भूकम्पकै दिनपछि रोकिएको राष्ट्रिय लिग फुटबल पुन: भदौमा सुरु भयो । र, बल्ल कात्तिक, २०७२ सालमा सकियो २०७१ को लिग । साढे चार दशक जेठो भए पनि देशको एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना स्थल ‘दशरथ रंगाशाला’ लाई पनि भूकम्पले चोखो छोडेन । त्यसैले खुला रूपमा हुने ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर नेपालले निरन्तर गुमाउन थालेको छ । इन्डियन सुपरलिग (आईएसएल) ले पनि नेपालमा फ्रेन्चाइज टिम बनाउन चासो दिएको थियो । तर, स्तरीय रंगाशाला नहँ‘ुदा विश्वव्यापी चर्चा पाएको लिग खेल्ने अवसर नेपाली टिमका लागि टाढिँदै गएको छ । दशरथ रंगाशाला मर्मतसंभार गर्ने वा पूर्णरूपमा भत्काएर निर्माण गर्ने भन्नेमा राष्ट्रिय खेलकुद परिषद् नेतृत्व नै प्रष्ट छैन । वैकल्पिक रंगाशाला तत्काल तयार हुने कुनै छनक छैन । त्यसैले नेपालले १३औं दक्षिण एसियाली खेलकुद सन् २०१८ मा नै आयोजना गर्छ भन्ने विश्वास गर्न गाह्रो छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा पनि प्राविधिकले पहेंलो स्टिकर टाँसिदिएका थिए । तर, बिनामर्मत नै त्यही कभर्ड हलमा प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिप आयोजना गरियो । कीर्तिपुरस्थित इन्डोर क्रिकेट ट्रेनिङ सेन्टरलाई पनि भूकम्पले चिरा पारिदियो । नेपालमा खेल गतिविधि आवश्यकताभन्दा पनि न्यून छ । त्यसैमाथि भूकम्पले भौतिक पूर्वाधारहरूमा क्षति पुर्यायो र यसले नेपाली खेलकुदलाई फेरि उठ्ने अवसर दिएको छैन । चर्चित फुटबल क्लब रियल म्याड्रिड, बार्सिलोना, सुपरस्टारहरू क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, वायनी रोनी, फेसन आइकन फुटबलर डेविड बेक्हाम, न्युजिल्यान्डकी महिला गल्फर लिडियाको नेपालको साथमा रहेको सन्देश दिँदै भूकम्पपछि विश्व खेलकुदसँग हिमालयको देशलाई जोडिदिए । वृत्तचित्र बनाउने क्रममा आइपुगेका बेक्हामले त दरबार क्षेत्रमा ड्यामबुटमै फुटबल खेल्न पनि भ्याएका थिए । ओलम्पिक च्याम्पियन तथा ३५ पल्टका कीर्तिमानी पोल भल्टर सेर्गेई बुब्का (आईओसी सदस्य र आईएएफका वरिष्ठ उपाध्यक्ष) भूकम्पले छताछुल्ल भएकै बेला राजधानी आइपुगेका थिए । अन्तर्राष्ट्रिय ट्रायथलन संघका अध्यक्ष मारिसोल कासाडो, अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघका अध्यक्ष थोमस वेइकर्ट, रियो ओलम्पिकमा छनोट भएकी अस्ट्रेलियन टेबलटेनिस खेलाडी मेलिसा टापर, महिला विश्वकप फुटबल च्याम्पियन अमेरिकी टिमका लुरी फेयर (२००० ओलम्पिक स्वर्ण विजेता पनि हुन्) र ट्रेसी नोनामको आगमनले पनि नेपाललाई विश्व खेलकुदसँग नजिक्यायो । सागमा पत्ता साफ स्टारहरूको साथ, लिजेन्ड्स र पावर ब्रोकरहरूको आगमनले नेपाली खेलकुदमा मल्हमको काम गर्यो । भूकम्प र नाकाबन्दीले असर त गरेको थियो नै तर यी दुई कमजोरी लुकाउने सबभन्दा राम्रा बाहना पनि भइदिए । जसरी भए पनि मंसिरमा सातौं राष्ट्रिय खेलकुद गरिछाड्ने घोषणा गरेका परिषद्का सदस्यसचिव केशवकुमार विष्टले संख्याको आधारमा नेपालको लागि १२ औं दक्षिण एसियाली खेलकुद (साग) उपलब्धिमूलक रहेको भाषण गरिरहेका छन् । तर, विश्व खेलकुदमा बरियता स्वर्णको आधारमा निर्माण हुन्छ । ६ सय बढी (३८४ खेलाडीसहित) को जाम्बो टिम लिएर गएको नेपालले गुवाहाटी–सिलोङ यात्रामा जितेका तीन स्वर्ण सन् १९९३ यताकै सबभन्दा खराब नतिजा हो । सातौं राष्ट्रिय खेलकुद कहिले हुन्छ भन्ने टुंगो छैन र यसले पनि सागमा नेपाललाई कमजोर बनायो । १२ औं सागमा नेपालले तीन स्वर्ण, २३ रजत र २४ कास्यसहित कुल ६० पदक हात पार्यो । मैदानमा ओर्लनुअघि नै पदक पक्का भएको महिला हकी पनि यसैमा पर्छ । स्कुले विद्यार्थी निमा घर्तीमगरले उसुको सान्सौमार्फत् नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन् । २१ वर्षपछि जुडोमा स्वर्ण जित्ने कार्य फुपुल्हामु खत्रीले पूरा गरिन् र उनी जुडोमा स्वर्ण चुम्ने पहिलो नेपाली महिला पनि भइन् । विशेषगरी सेमिफाइनलमा माल्दिभ्स र फाइनलमा भारतविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै नेपाली यू–२३ पुरुष फुटबल टिमले स्वर्ण जित्यो । १३ वर्षीया स्विमर गौरिका सिंहले जितेकी ऐतिहासिक एक रजत र तीन कास्य चानचुने उपलब्धि थिएन । फुटबलमा २३ वर्षपछि, त्यो पनि भारतलाई हराएर स्वर्ण हात पारेको खुसीयालीले १२ औं सागमा नेपालका कमजोरीलाई छायामा पारिदियो । पौडी, जुडो र फुटबलमा नेपालको सहभागिता उपलब्धिमूलक रह्यो । बास्केटबलमा कोर्टमा उत्रिन पाएन । सुटिङ ह्यान्डबल, साइक्लिङ र टेनिसमा मात्र पदक आएन । तर, खेलाडी उभ्याएकै भरमा नेपालले धेरै कास्य पाएको थियो । पहिलो संस्करण (सन् १९८४) यता म्याराथनमा पहिलोपल्ट पदकविहीन भएको नेपालले एथलेटिक्समा एकमात्र कास्य पायो । अहिलेसम्मकै सबभन्दा खराब नतिजा ल्याएको बक्सिङमा नेपाली खेलाडीलाई रिङमा पूरा समय टिक्न पनि गाह्रो भएको थियो । तेक्वान्दोमा पनि कीर्तिमान बन्यो तर सफलतामा भने होइन, सागमा स्वर्ण नजितेको पहिलो वर्षका रुपमा । दशकअघिसम्म पनि मार्सल आर्टसमा नेपाली खेलाडीलाई दक्षिण एसियामा कसले हराउन सक्छ भनेर सोध्ने गरिन्थ्यो । अहिले नेपाली खेलाडीले कसलाई हराउँदैन भनेर सोध्ने बेला आइसकेको छ । कुशल नेतृत्वकै अभावमा खेल क्षेत्र ओरालो लागेको हो । लज्जाको शृंखला नेपाली फुटबलमा २२ वर्ष एकछत्र राज गरेका गणेश थापा आर्थिक अनियमितताको आरोपमा दुई वर्षयता चर्चामा थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का यी अध्यक्षलाई एसियाली फुटबल महासंघ (एएफसी) उपाध्यक्ष भएकै बेला विश्व फुटबल महासंघ (फिफा) ले पदीय जिम्मेवारीबाट सात महिना अलग गरेको थियो । अन्तत: उनलाई कात्तिकमा फिफाको इथिक्स कमिटीले १० वर्ष प्रतिबन्ध र २० हजार स्विस फ्रयांक जरिवाना गर्दै फुटबलबाट हटाइदियो । थापाको प्रतिबन्धअघि असोजमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, पूर्वडिफेन्डर विकाससिंह क्षेत्री र प्रशिक्षक अञ्जन केसीलाई ‘फिक्सिङ’ को आरोपमा प्रहरीले पक्राउ गर्यो । देशद्रोहको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ । तर, त्यसले खासै प्रभाव पार्ने छैन । किनभने एएफसीले उनीहरूलाई फुटबलबाट आजीवन प्रतिबन्ध लगाइसकेको छ । गणेश थापा र फिक्सिङ काण्डले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय समुदायमै बदनाम बनायो । थापाले आलोचक पदाधिकारीलाई कारबाही गरेपछि सुरु भएको नेतृत्व विवाद एन्फामा अहिलेसम्म टुंगिएको छैन । निधन भएका तत्कालीन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्थानमा उपाध्यक्ष नियुक्त गरिएका नरेन्द्रबहादुर श्रेष्ठले अहिले एन्फाको कार्यवाहक प्रमुख छन् । उनले पनि विवाद टुंग्याउने बाटो खोलको छैनन् । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीलाई भ्रष्टाचार आरोपमा विशेष अदालतले सफाइ त दियो तर त्यो कार्यसमितिले सही तवरले नयाँ नेतृत्व छनोट गरेन । गुटको राजनीतिक चलखेलबीच चतुरबहादुर चन्द क्यान अध्यक्ष त भए तर त्यसलगत्तै परिषद्ले रमेश सिलवालको नेतृत्वमा तदर्थ कमिटी बनाइदियो । यसबीच प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको भूमिका पनि चलाखीपूर्ण रह्यो । उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वास गर्छ । तर, क्यानको दुवै कमिटीलाई आईसीसीले पत्याएको छैन । यसले नेपाली क्रिकेटलाई उल्टो गतिमा धकेलेको छ । यो साल राष्ट्रिय टिमको नतिजा पनि उपलब्धिमूलक रहेन । आस पनि फुटबलमा राष्ट्रिय टिमले २३ वर्षपछि उपाधि जित्यो । उपाधिको खडेरी बंगबन्धु गोल्डकपमा तोडिएको थियो । थापा र फिक्सिङ काण्डलगत्तै साफ च्याम्पियनसिपमा निराशाजनक प्रदर्शन गरे पनि ढाकामा प्राप्त बंगबन्धुको सफलताले नेपाली फुटबललाई जोगाउने काम गर्यो । एएफसी यू–१६ च्याम्पियनसिपमा छनोट भए पनि बढी उमेरका खेलाएको पाइएपछि नेपाल कारबाहीमा पर्यो । अरू उमेर समूह र महिला फुटबलको नतिजा भने सुखद भएन । तर, मोफसलमा सञ्चालित नौ गोल्डकपले घरेलु फुटबललाई जीवन दिने काम गर्यो । साग र बंगबन्धुमा युवा खेलाडीको वर्चस्व थियो । गोलको खडेरीबाट गुज्रिँदै आएको नेपालका लागि नवयुग श्रेष्ठ नयाँ स्टार बने । उनले सागमा सात र बंगबन्धुमा चार गोल गरेका थिए । स्पेनको मार्बेला युनाइटेड क्लबले युरोप टुरमा विमल घर्तीमगर, अञ्जन विष्ट र अनन्त तामाङलाई बोलाउनु, मलेसियाको टी–टिमले रोहित चन्दलाई अनुबन्ध गर्नु र इन्डोनेसियाको माडुराले विक्रम लामालाई रोज्नु पनि नेपाली फुटबलका उपलब्धि हुन् । साफ यू–१९ च्याम्पियन हुनुले पनि अर्थ राख्छ । विश्व टी–२० छनोटमा साह्रै कमजोर देखिएको राष्ट्रिय क्रिकेट टिम विश्व क्रिकेट लिग च्याम्पियनसिपका चारै खेलमा हार्यो । तर, उत्कृष्ट खेल पस्कँदै यू–१९ विश्वकपमा भने नेपाली टिम क्वाटरफाइनल पुगेको थियो । यसमा उत्कृष्ट प्रदर्शन गर्दै लेग स्पिनर सन्दीप लामिछाने, ब्याटसम्यान आरिफ शेख र अलराउन्डर प्रेम तामाङले सिनियरसँगको खाडल पुर्ने संकेत दिएका छन् । धनगढी क्रिकेट लिगले पनि घरेलु क्रिकेटको शून्यता हटाउन सहयोग गर्यो । ट्रयाकबाहिरको खेल साहसिक दौड (अल्ट्रा/ट्रेल) मा मीरा राईको सफलता पनि २०७२ को विशेष उपलब्धि हो । वैशाखमा स्काई रनर वल्र्ड सिरिजको मोन्ट ब्लान्क (फ्रान्स) मा कीर्तिमानसहित स्वर्ण जितेपछि उनी विश्व चर्चित भएकी हुन् । उनको सफलताले साहिसक खेलमा नेपालीको सम्भावना पनि देखाएको छ ।



0 comments
Write Down Your Responses