आन्दोलनमा दमन गर्न खोजिए परिणाम भयानक हुन्छ: उपेन्द्र यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको ढोका बन्द गरी सरकारले बन्दूकले आन्दोलन दमन गर्न खोजे परिणाम भयानक हुने चेतावनी दिएका छन्। ‘सरकारले वार्ताको सबै ढोका बन्द गरी जनताको जायज आन्दोलनमा दमन गरिए ठीक हुँदैन’, यादवले भने । यादवले राज्य विरुद्ध निर्णायक आन्दोलनका लागि समेत तयार रहन आव्हान गरे। वार्ता र संवाद मार्फ़त समाधान खोज्न सरकार गम्भीर नदेखिएकोले संविधान पुनर्लेखनका लागि आन्दोलनको विकल्प नभएको उनले बताए। ‘यो सरकार नश्लवादी, एकलजातीय र गैर समावेशी छ’,- सिरहाको गोलबाजारमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, ‘सरकार गैर जिम्मेवार बनेकोले मधेशी, आदिवासी जनजाति, थारु, मुश्लिम सहित उत्पीड़ित समुदायले मसाल बोकेर आन्दोलनको बिगुल फुक्नुको विकल्प छैन।’ भावी सन्ततिको सुरक्षित भविष्यका लागि न्याय प्राप्तिको आन्दोलनमा साथ दिन यादवले सबैलाई आव्हान गरे । यादवले भने, ‘अब काठमाण्डौ मैं हिसाब किताब हुन्छ । राजधानी केन्द्रीत शान्तिपूर्ण अहिंसात्मक आन्दोलनले सरकारलाई घुडा टेकाउछ।’


0 comments
Write Down Your Responses