क्रोएसियाको १०–० गोल अन्तरमा कीर्तिमानी जित
युरोकप फुटबलको तयारीमा रहेको क्रोएसियाले मैत्रीपूर्ण फुटबलमा सान मारिनोलाई १०-० को फराकिलो अन्तरले हराएको छ। शनिबार राति भएको खेलमा क्रोएसियाले सान मारिनोमाथि शानदार प्रदर्शन गर्दै १०–० को एक तर्फी नजिता निकालेको हो। एकतर्फी नियन्त्रण रहेको खेलमा क्रोएसियाको शानदार जितका लागि मारियो मान्जुकी र निकोला कालिनिकले ह्याट्रिक गरे। घरेलु मैदानमा भएको खेलमा क्रोएसियालाई जिताउन मान्जुकीले २३, ३६ र ३८ तथा कालिनिकले ५९, ७३ र ८४ मिनेटमा गरी ह्याट्रिक पूरा गरेका थिए। यस्तै थप गोल इभान रेकिटिक, इभान पेरिसिक, डारिजो सर्ना र मार्को पजाकाले गरे। अन्तर्राष्ट्रिय फुटबलमा क्रोएसियाले कुनै पनि टिमलाई फराकिलो अन्तरले हराएको यो पहिलो पटक हो। समूह डीमा रहेको क्रोएसियाले टर्कीसँग जेठ ३० गते खेल्दै युरोकपको सुरुवात गर्ने छ।


0 comments
Write Down Your Responses