काठमाडौँमा बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा

फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार बायोग्यास निकाल्नका लागि अहिले मेसिन ल्याउने तयारी भएको छ, भारतबाट ल्याउनुपर्ने भएकाले मेसिन आइपुग्ने बित्तिकै कामको सुरुवात हुनेछ। असारको पहिलो साता बायोग्यास उत्पादन गर्ने मेसिन नेपाल ल्याइनेछ। उहाँका अनुसार कामपाको वडा नम्बर २१, १२, १९ र २० छुट्याएको कुहिने र नकुहिने फोहरबाट दैनिक तीन टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने तयारी महानगरको छ। बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ। यो पहिलोे नमुना परियोजना हो। यो योजना सफल भएमा अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गरिने कामपाले जनाएको छ। पछिल्लो समय फोहरको उचित व्यवस्थापन गरी सहरलाई फोहरबाट मुक्त गर्न लागिएको होे। दिगोरुपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्ययन भइरहेको कामपाले जनाएको छ। कामपामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ। दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ। रासस

0 comments

Write Down Your Responses