युरोकपमा अन्तिम १६ को टुङ्गो लाग्यो ४ टोली बने भाग्यमानी

असार ९, २०७३ युरोकप फुटबलमा प्रि क्वाटर फाइनल खेल्ने १६ टोलीको टुङ्गो लागेको छ । समुह चरणको अन्तिम खेल सकिदा विजेता र उपविजेता बन्दै १२ टोलीले प्रि क्वाटर फाइनलमा स्थान बनाए । यस्तै अन्य ६ समुहबाट तेस्रो स्थानमा रहेका उत्कृष्ट ४ टोली पनि अघिल्लो चरण प्रवेश गरेका छन् । समुहचरणको अन्तिम खेलमा गएराती बेल्जियम, रिपब्लिक अफ आयरल्याण्ड र आइसल्याण्डले आआफ्नो खेलमा जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाएका हुन् । समुह इ को बेल्जियमले स्विडेनलाई र रिपब्लिक अफ आयरल्याण्डले इटलीलाई समान १–० गोल अन्तरले हराउदै अघिल्लो चरणमा स्थान बनाएका हुन् । बेल्जियमकालागि राज्डा नैनगोल्यानले ८४औ मिनेटमा गोल गर्दै टोलीलाई अन्तिम सोह्रमा अटाएका हुन् । हारसंगै स्विडेन प्रतियोगिताको समुहचरणबाट बाहिरिएको छ । यस्तै, खेलको ८५औं मिनेटमा रोबी ब्राडीले गरेको गोलले आयरल्याण्डको जित सुनिश्चित गर्‍यो । समुह चरणको अन्तिम खेलमा हार बेहोरेको पनि इटली समुह इ बाट विजेता बन्यो । समुह एफको गएराती सम्पन्न दुई खेलमा आइसल्याण्डले अष्ट्रियामाथि २–१ को जित निकाल्दा हंगेरी र पोर्चुगलले ३–३ गोलको बराबरी खेले । आइसल्याण्डकालागि खेलको १८औ मिनेटमा जोनडोइ बुभर्सन र थपिएको अतिरित्त समयको चौथो मिनेटमा अरनोर ट्राउसटसनले गोल गरे । अष्ट्रियाका एलेसेन्ड्रोले गोल गरेपनि टोलीको हार टार्न नसक्दा उ प्रतियोगिताको समुह चरणबाट बारिएको छ । यसैबीच, युरोकपको जारी सिजनमा चार टोली भाग्यमानी बने । समुह विजेता र उपविजेता बाहेक ६ समुहबाट तेस्रो स्थानमा रहेका उत्कृष्ट ४ टोलीले समेत युरोकपको अन्तिम १६ मा स्थान बनाए । सवैभन्दा भाग्यमानी टोली समुह एफ मा रहेको पोर्चुगल बन्यो । लिग चरणको तीनै खेलमा बराबरीमा रोकिएको पोर्चुगल ३ अंकमा प्रिक्वाटर फाईनलमा प्रवेश गर्‍यो । उसले प्रिक्वाटरफाईनलमा क्रोएसियासंग प्रतिस्प्र्धा गर्नेछ । ४ अंक रहेको समुह बी को स्लोभाकिया र समुह ई मा रहेको रिपब्लिक अफ आयरल्याण्डले पनि अन्तिम १६ मा स्थान बनाए । यस्तै समुह सी मा रहेको नर्दन आयरल्याण्डले पनि प्रिक्वाटरफाईनलको टिकट काट्यो । युरोकपको नकाउट चरणका खेल आगामी शनिवारबाट सुरु हुनेछन् ।

,

0 comments

Write Down Your Responses