भाउ बढ्यो दीपिकाको
बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो एक दिनको शुल्क ४ करोड नेपाली रुपैयाँभन्दा बढी तोकेकी छिन् । एउटा उत्पादनको ब्रान्ड इन्डोर्समेन्टका निम्ति उनले प्रतिदिन ४ करोड २५ लाख रुपैयाँ माग गरेको बताइन्छ ।
३ दिन विज्ञापनका निम्ति समय मागिएपछि उनले १२ करोड ८० लाख रुपैयाँ मागेकी थिइन् । यो डिल फाइनल हुने अन्तिम चरणमा छ, एक मिडियाले लेखेको छ, यदि यो डिल फाइनल भए दीपिका शाहरूख, सलमान, आमिर तथा रणवीर कपुर बराबर पुग्नेछिन् । स्पोर्ट्स सेलिब्रेटिज महेन्द्रसिंह धोनी र विराट कोहलीको शुल्क पनि यही हाराहारी छ । सूत्रका अनुसार दीपिकालाई उनको मागबमोजिमको शुल्कमा काम गराउन एक एयरलाइन्स कम्पनीले प्रस्ताव गरेको थियो ।
दीपिकाले बलिउडका अन्य नायिकाको तुलनामा निकै बढी रकम लिएर विज्ञापनमा काम गर्न लागेकी हुन् । प्रियंका चोपडा तथा कैटरिना कैफले आफ्नो एक दिनको रेट डेढ करोड रुपैयाँ तोकेका छन् । यस्तै करिना कपुर, अनुष्का शर्मा ८० लाखजति लिन्छन् । पछिल्लो समय बलिउडकी नम्बर वान नायिका दीपिका पुरुष कलाकार बराबरको हैसियतमा छिन् । गत वर्ष उनीद्वारा अभिनीत पिकु र वाजिराव मस्तानी ब्लकबस्टर हिट भएका थिए ।



0 comments
Write Down Your Responses