एनसेलले कर नतिर्ने अडान दोहोर्याएको छ।
वैशाख -१६- २०७३- एनसेलबाट आफ्नो सेयर बिक्री गर्ने टेलिया कम्पनी (टेलियासोनेरा) ले आफूले नेपालमा कर नतिर्ने अडान दोहोर्याएको छ।
बुधबार आफ्नो विज्ञप्ति जारी गर्दै टेलियाले नेपालको कर कार्यालयबाट अर्को पत्र आएको जानकारी दिँदै पुरानै अडान सार्वजनिक गरेको हो। यस विषयमा टेलिया कम्पनीको मान्यता परिवर्तन भएको छैन हाम्रो नर्वेली सहायक कम्पनीलाई पत्रको जवाफका लागि निर्देश गर्ने छौं, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ठूला करदाता कार्यायलले मंगलबार कारोबारको विवरण दिन र कर दाखिला गर्न अर्को पत्र पठाएको थियो। यसअघि पनि कार्यालयले पत्र पठाएको थियो। पहिलो पत्रको जवाफ उसले गत बिहीबार विज्ञप्तिमार्फत नै दिएको थियो।
पहिलेको विज्ञप्तिमा उसले आफ्नो कारोबार नेपालको करको विषयसमेत नभएको बताएको थियो। विज्ञप्तिमा उसले उपयुक्त र न्यासंगत हिसाबले आफू कार्यरत मुलुकहरूमा कर तिर्ने तर नेपालको कारोबार भने नेपाली करको क्षेत्रभित्र नपर्ने दाबी गरेको थियो।
स्विडेनको एक पत्रिकामा टेलिया कम्पनीले कर नतिरेको विषयमा समाचार आएपछि त्यसको खण्डनका लागि पनि उसले यस्तो विज्ञप्ति निकालेको थियो। कार्यालयले त्यसपछि अर्को पत्र पठाएकाले टेलियाको यस्तो विज्ञप्ति आएको हो।
कार्यालयले आयकर ऐन २०५८ को दफा ९६ अनुसार विवरण दिन सुरुमा पत्र पठाएको थियो। यससँगै पछिल्लो पत्रमा दफा ९५ अनुसार अग्रिम कर कट्टीका लागि पत्र पठाएको हो। यसमा टेलिया पन्छिएपछि सरकारको भूमिका के हुने भन्ने प्रस्ट छैन।
कार्यालय प्रमुख शोभाकान्त पौडेलले अरू विषय मा आफू बोल्न नमिल्ने भन्दै पक्रिया कानुनसम्मत अगाडि बढ्ने बताए। यो विषयमा मैले धेरै प्रतिक्रिया दिन मिल्दैन, उनले कान्तिपुरसित भने, कानुनअनुसार प्रक्रिया अगाडि बढ्छ।
एनसेलको स्वामित्व टेलियाले मलेसियाली कम्पनी एक्जिएटालाई बिक्री गरेको हो।


0 comments
Write Down Your Responses