अन्तत एनसेलले दुई अर्ब ८३ करोड कर तिर्यो

काठमाडौं: बिक्री गर्दा पाएको लाभमा एनसेलले पुँजीगत लाभकर तिर्ने हल्ला अर्थ मन्त्रालयमा बिहानैदेखि थियो । ठूला करदाता कार्यालयका अधिकारी पनि कतिबेला एनसेलले कतिबेला कर तिर्छ भनेर खबरका लागि बैंकमा सम्पर्क गरिरहेका थिए । कार्यालय समय सकिने बेला दुई अर्ब ८३ करोड १५ हजार रुपैयाँ बैंकमा दाखिला गरेको खबर त आयो, तर त्यो उनीहरूले हल्ला सुनेको जस्तो ८० प्रतिशत सेयर बिक्रीको थिएन । निरजगोविन्द श्रेष्ठले भावना श्रेष्ठलाई बिक्री गरेको २० प्रतिशत सेयरको पुँजीगत लाभकर थियो । तैपनि कर दाखिला भएपछि अर्थ र ठूला करदाता कार्यालयका अधिकारी उत्साहित देखिएका छन् । ‘अहिलेसम्म आधिकारिक जानकारी नभएकाले हामी एनसेललाई केही गर्न सकिने अवस्थामा थिएनौं, '२० प्रतिशतको स्वामित्व हस्तान्तरणले ८० प्रतिशत बिक्री गर्ने पक्षलाई पनि दबाब दिन सक्ने बनायो ।' करसम्बद्ध अधिकारीका अनुसार २० प्रतिशत स्वामित्व हस्तान्तरण भएपछि ८० प्रतिशत स्वामित्व लिने भनिएको कम्पनीले पनि अर्को महिना (वैशाख) २५ गतेभित्र आफ्नो अवस्था ठूला करदाता कार्यालयलाई जानकारी गराउन पर्नेछ । अन्यथा कार्यालयले ८० प्रतिशत खरिद बिक्रीको डिललाई छानबिनको दायरामा तान्न सक्छ । ‘अब हामी ८० प्रतिशत बिक्री गर्ने पक्षसँग पनि कर लिएरै छाड्छौं' , एक कर अधिकृतले भने । टेलियासोनेराले एनसेलमा भएको सेयर १ अर्ब ३ करोड डलरमा मलेसियाको एक्सिएटालाई बिक्री गरेको थियो । २० प्रतिशत सेयरचाहीँ भावनाले ४ करोड ८० लाख अमेरिकी डलरमा खरिद गरेकी थिइन ।

,

0 comments

Write Down Your Responses