२०७२ : जो चर्चामा रहे, जसले समाचार बनाए को को पर्न सफल भयत,,,
आज वर्ष २०७२ को अन्तिम दिन । भूकम्प र नाकाबन्दीका कारण यो वर्ष इतिहासमा ‘खराब’ वर्षका रुपमा अंकित हुने ठानिएको छ । यस वर्ष पनि केही ठूला घटनाहरु भए भने केही मानिसहरु आफ्ना विचार र कर्मका कारण चर्चामा रहे । ती चर्चा सकारात्मक पनि थिए, नकारात्मक पनि । हामीले यहाँ यस वर्ष चर्चामा रहेका केही ‘न्युजमेकर’हरु बारे उल्लेख गरेका छौं : विद्यादेवी भण्डारी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारीको चयन यो वर्षको सबभन्दा ठूलो महत्वको समाचार थियो । संविधानसभाद्वारा दोस्रो राष्ट्रपतिका रुपमा भण्डारीको चयन नेपालको राजनीतिक इतिहासको एउटा कोसेढुंगो हो । राष्ट्रको सबभन्दा उच्च ओहोदामा भण्डारी पुग्नुबाट नेपाली समाजमा महिलाले जस्तोसुकै पनि प्रगति गर्न सक्छन् भन्ने स्थापित भयो ।
केपी शर्मा ओली
उखान टुक्काका भरमा विरोधीलाई तह लगाउने नेकपा एमालेका नेताबाट ‘राष्ट्रवादी’ प्रधानमन्त्रीका रुपमा यस वर्ष केपी शर्मा ओलीको कायापलट भयो । संविधान जारी भएपछिको विषम परिस्थितिमा प्रधानमन्त्री चुनिएका ओलीले मधेस आन्दोलनको व्यवस्थापन र नाकाबन्दीपछिको कालो बजारी नियन्त्रणमा सफलता नपाए पनि राष्ट्रवादको डुंगा चढेर उनी अहिलेसम्म आन्दोलनको नदिमा तैरिइरहेका छन्/
ओनसरी घर्ती
पहिलो महिला सभामुखका रुपमा ओनसरी घर्तीले इतिहास निर्माण गरिन् । रोल्पाकी माओवादी छापामारदेखि देशको व्यवस्थापिकाको सर्वोच्च पदमा पुग्ने महिलाका रुपमा यो वर्ष राष्ट्रपति विद्यादेविजस्तै ओनसरीको सफलता अर्को कोसेढुंगा मानिनेछ ।
सुशीला कार्की
२०७२ लाई भूकम्प र नाकाबन्दीजस्तो नकारात्मक कारणले मात्र नभई राष्ट्रका तीन उच्च पदमा तीन महिला पुगेको वर्षका रुपमा पनि सम्झना गरिनेछ । राष्ट्रपति भण्डारी र सभामुख घर्तीको उपलब्धिसँगै जोडिन आइपुगिन् सुशीला कार्की । वर्षको अन्त्यमा उनलाई संवैधानिक परिषद्ले देशको पहिलो महिला प्रधानन्यायाधीशका रुपमा सिफारिस गरेको छ ।
सुशील कोइराला
संविधान सभाबाट संविधान जारी गर्न सफल प्रधानमन्त्रीका रुपमा सुशील कोइरालाको नाम इतिहासमा अंकित भयो । नेपाली कांग्रेसका सभापति समेत रहेका कोइरालाको माघ २६ गते देहान्त भयो । मृत्यु पर्यन्त उनको चर्चा भने जारी रह्यो । प्रधानमन्त्री निर्वाचनमा केपी शर्मा ओलीविरुद्ध उम्मेदवार भएर आलोचित बनेका भएपनि प्रधानमन्त्रीका रुपमा कोइराला सफल मानिए ।
शेरबहादुर देउवा
पहिलोपटक प्रधानमन्त्री बनेको करिब २० वर्षपछि शेरबहादुर देउवा नेपाली राजनीतिमा फेरि एकपटक उदाए । देशको सबभन्दा ठूलो दल नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भएको एक महिनामा उनी पार्टी संसदीय दलको नेता पनि निर्वाचित भए । अधिकांश मानिसहरु देउवा फेरि प्रधानमन्त्री बन्ने दौडमा रहेको अनुमान गर्दछन् ।
कमल थापा
जनआन्दोलनका दोषीका रुपमा कुना पसेका कमल थापा हिन्दु राष्ट्रको बुई चढेर देशको उपप्रधानमन्त्री बन्न आइपुगे । जम्मा १० वर्षमा उनको यो फड्को ठूलो उपलब्धि थियो । परराष्ट्रमन्त्रीका रुपमा नाकाबन्दी अन्त्यसँग भारतमा उनले गरेको ‘चलखेल’लाई हेर्दै केही विश्लेषक उनलाई ‘पर्सन अफ दियर’मा मनोनित गर्छन् ।
रामवरण यादव
देशका प्रथम राष्ट्रपति रामवरण यादवले जब संविधान सभामा संविधानको मस्यौदालाई उचालेर ढोगे, त्यो ‘आइकनिक’ तस्बिर बन्यो । संविधान सभाले निर्माण गरेको जनताको संविधान लागु भएको घोषणा यादवले गरे । मधेस आन्दोलनका मागहरु नसमेटिएकाले संविधानको पूर्णतामाथि प्रश्न उठाएका भए पनि संविधान जारीकर्ताका रुपमा प्रथम राष्ट्रपति यो वर्ष समाचारमा रहे ।
राजेन्द्र महतो
र मधेस केन्द्रीत दलका नेताहरु मधेस आन्दोलन यस वर्षको ठूलो घटना थियो । र, राजेन्द्र महतो यसका चर्चित नेता । महन्थ ठाकुरजस्ता वरिष्ठ नेता र उपेन्द्र यादवजस्ता मानिएका नेताहरु भए पनि आन्दोलनको अनुहार र आवाज बनेर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो उदाए । यस वर्ष महतोसँगै मधेस केन्द्रीत दलका नेताहरु चर्चामा रहे ।
सुवास नेम्वाङ
दुइटै संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ यो वर्षका अर्का चर्चित व्यक्ति हुन् । पहिलो संविधानसभाको असफलताको भागिदार मानिएका नेम्वाङ दोस्रो सभाले संविधान जारी गर्दाका अध्यक्षका रुपमा रहे । संविधान जारी भएपछि अहिले पूर्वअध्यक्ष नेम्वाङ नेकपा एमालेको राजनीतिमा सक्रिय छन् ।
रामचन्द्र पौडेल
महाधिवेशनको पूर्वसन्ध्यामा सभापति सुशील कोइरालाको निधन भएपछि रामचन्द्र पौडेल नेपाली कांग्रेसको ‘संस्थापन पक्ष’का सभापतिका आकांक्षीका रुपमा अघि आए । तर, आफ्नै पक्षका नेताहरु मिलाउदा मिलाउदै सभापति उम्मेदवार बनेका उनी देउवासँग दोस्रो चरणको निर्वाचनमा पराजित भए । सँगै संसदीय दलको नेतामा पनि उनी पराजित भएपछि कांग्रेसमा रहेको ‘६०–४०’को भागबन्डा समाप्त भएको मानियो ।
बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई यस वर्ष एमाओवादी पार्टी फुटाएर चर्चामा आए । करिश्मा मानन्धरदेखि सरोज खनालसम्मका कलाकारहरुलाई आफ्नो पछाडि राखेर जब उनले नयाँ शक्तिको घोषणा गरे यसले ठूलो चर्चा पायो । ट्विटर र फेसबुकभरी बाबुरामको पक्ष विपक्षमा मतहरु प्रकट भए ।
नवयुग श्रेष्ठ
र नेपाली फुटबल टिम नेपाली राष्ट्रिय टिमले बंगबन्धु र यु–२३ टिमले सागमा स्वर्ण पदक जितेर यस वर्ष नेपाली फुटबलमा सफलताको बहार ल्याए । र, यी दुवै जितमा नवयुग श्रेष्ठले नायकत्व प्राप्त गरे । दुवै खेलमा ह्याट्रिक गरेका नवयुगसँगै विमल घर्तीमगर, अन्जन विष्ट, प्रकाश बुढाथोकी, अनन्त तामाङ, विकेश कुथु र विराज महर्जन पनि स्टारका रुपमा उदाए । निमा घर्ती मगर/फुपुल्हामु खत्री/गौरिका सिंह महिला शक्तिको बोलबाला रहेको यो वर्ष राजनीतिमा मात्र होइन, खेलकुदमा पनि महिलाको श्रेष्ठता सावित भयो । पदकको खडेरीका बीच दक्षिण एसियाली खेल (साग)मा पहिलो स्वर्ण पदक जितेर १६ वर्षिया स्कुले विद्यार्थी निमा घर्ती मगरले नेपालीको मन जितिन् । जुडोमा स्वर्ण जितेर फुपु ल्हामु खत्रीले चर्चा पाइन् । यस्तै, १३ वर्षिया गौरिका सिंहले सागमा एक्लै चार पदक जितेर सफलताको मानक खडा गरिन् ।
खुमबहादुर खड्का
अदालतले भ्रष्टाचारी ठहर गरेर जेल सजाय भोगेर निस्किएका खुमबहादुर खड्का यस वर्ष नेपाली कांग्रेसको महाधिवेशनसँगै चर्चामा आए । केन्द्रीय सदस्यमा दोस्रो धेरै मत ल्याए पनि उनको चर्चा पदाधिकारीमा जित्नेहरुको भन्दा बढी भयो । पार्टी कार्यकर्ताले सकारात्मक मत दिएको भए पनि उनको जितलाई धेरैले सकारात्मक रुपमा व्याख्या गरेको देखिएन ।
शशांक कोइराला/गगन थापा
कांग्रेस महाधिवेशनमा सभापतिका साथै महामन्त्रीको प्रतिस्पर्धा पनि चर्चित बन्यो । र, यसले मुख्य चर्चा पाए शशांक कोइराला र गगन थापाले । ‘संस्थापन’ प्यानलबाट उम्मेदवार बनेका शशांक विजयी भए । आफ्नै ससुरा अर्जुननरसिंह केसीविरुद्ध उम्मेदवारी दिएर तेस्रो बनेका गगन थापाले चर्चा भने उनको बराबरी पाए ।
प्रिन्स ह्यारी
बेलायती राजकुमार ह्यारी यो वर्षका अर्का ‘न्युजमेकर’ रहे । नेपालको ६ दिने औपचारिक भ्रमणमा आएका ह्यारीले बर्दिया निकुञ्जदेखि लमजुङका गाउँसम्मको भ्रमण गरे । भ्रमण लम्ब्याएका उनले गोरखामा भूकम्पले भत्काएको स्कुलको पुनर्निमाणमा संलग्न भएर नेपालीको मन जिते ।
दिनेश न्यौपाने/सन्तोष राना
नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमाण्डपको जहाज फागुन १४ गते कालिकोटको चिल्खयामा आकस्मिक अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा यसका चालक दिनेश न्यौपाने र सन्तोष रानाले ज्यान गुमाए । दुर्घटनामा उनीहरु बाहेक यात्रीहरु भने जोगिए । आफू मरेर अरुलाई बचाउने पाइलटका रुपमा यी दुईको सम्झना भइरहनेछ ।
हरिप्रसाद पराजुली पराजुलीले
नाम होइन, बद्नामी कमाए । तर, पनि उनी चर्चित रहे । असार १५ मा खेत रोप्न मुलपानी पुगेका पराजुली आफ्नो हर्कतका कारण विवादित बने । हिलोमा छिरेका पराजुलीले स्थानीय महिलासँग गरेको व्यवहारले उनकै अनुहारमा हिलो छ्यापियो । मन्त्री पदबाट राजीनामा गरेर उनले त्यो हिलो पखाल्ने प्रयास गरे ।
लोकमानसिंह कार्की
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की आफ्नो नियुक्ती देखि नै निरन्तर चर्चामा छन् । आफैं जनआन्दोलनको दोषीका रुपमा सुचीकृत भए पनि कार्की नेतृत्वको अख्तियारले पूर्व प्रहरी अधिकारीहरुलगायत कर्मचारीलाई केही ठूलो भ्रष्टाचार मुद्दामा अदालत पुर्यायो ।
दयाहाङ राई
पछिल्लो समय मौलिकताको खोजी गरिरहेको नेपाली फिल्मको ‘पोस्टर ब्वाई’का रुपमा दयाहाङ राईको उदय सुखद् संकेतका रुपमा देखा परेको छ । ‘कबड्डी कबड्डी’ र ‘फन्को’जस्ता फिल्मबाट उनी यस वर्ष पनि चर्चामा रहे । यसबाहेक नेपाल बाहिर पनि उनको क्रेज देखियो । गत वर्षको ‘कबड्डी’बाट उनले राष्ट्रिय अवार्ड र क्रिटिक्स अवार्ड पनि पाए ।
खगेन्द्र लामिछाने
नाटकबाट फिल्ममा आएर सफल हुने कलाकारको सुचीमा खगेन्द्र लामिछानेको नाम थपियो । बधशाला र टलकजंग भर्सेस टुल्केजस्ता फिल्मबाट आफ्नो प्रतीभा देखाएका लामिछानेले यस वर्ष ‘पशुपति प्रसाद’मा झन् गहिरो छाप छोडे । यो फिल्मको निर्माता र पटकथाकारका रुपमा पनि उनी सफल रहे ।
अर्चना पनेरु ‘पोर्नस्टार’
बन्न चाहने किशोरीका रुपमा अर्चना पनेरु यो वर्षभरी चर्चामा रहिन् । उनलाई लिएर म्युजिक भिडियो र फिल्म बनाउनेहरु निस्किए । त्यस्तै मध्येका एक राजु गिरीले उनलाई फिल्ममा अनुबन्ध पनि गरे । तर, पोखरा प्रहरीले विनाअनुमति सुटिङ गरेर भनेर पक्राउ गरेपनि निर्देशकसँगै अर्चना पनि प्रहरीको ‘पाहुना’ बनिन् ।



0 comments
Write Down Your Responses