साइबर अपराधी पक्राउ पर्ने क्रम बढेको छ
सर्वेन्द्र खनाल, प्रमुख
महानगरीय अपराध महाशाखा, टेकु
पछिल्ला केही साता फेसबुकको माध्यमबाट हुने आपराधिक घटना सतहमा देखिएका छन्, के साइबर क्राइम बढेको हो ?
साइबर क्राइमको दर बढेको होइन । बरु, कारबाहीलाई तीव्र बनाइएको हो । हिजो साइबर अपराध भित्रभित्रै मौलाइरहेको थियो । आज पनि अवस्था उही छ । फरक के हो भने तुलनात्मक रूपमा अहिले कारबाही प्रक्रिया चुस्त बनाइएको छ । त्यसैले साइबर अपराधी पक्राउ पर्ने क्रम बढेको छ ।
के–कस्ता प्रकृतिका छन् साइबर अपराध ?
धेरैजसोले फेक आइडी बनाउने र ब्ल्याकमेलिङ गर्ने प्रवृत्ति देखिएको छ । केटाले केटीको नाममा आइडी बनाउने, केटीको फोटो राख्ने र केटाहरूलाई फसाउने गरेका छन् । केटी बनेर विस्तारै केटा साथीको गोपनियता थाहा पाउने र त्यही आधारमा ब्ल्याकमेलिङ गर्ने क्रम बढेको छ । त्यसबाहेक केटाहरूले फेसबुकमा नयाँ केटी साथी बनाउने, प्रेमको नाटक गर्ने तथा एक–अर्कामा पासवर्ड सेयर गर्ने चलन पनि छ । पछि आफूले भनेजस्तै गर्न बाध्य तुल्याउने र त्यसो नगरिएको अवस्थामा एकाउन्ट ह्याक गरी बेइज्जति गरिदिने घटना पनि छन् । पासवर्ड ह्याकरहरू पनि उत्तिकै सक्रिय छन् ।
कुन वर्ग यसमा बढी संलग्न छ ?
१६ देखि २२ बर्ष उमेर समूहका । खासगरी किशोर–किशोरीहरू । उनीहरूमध्ये कतिपयलाई मैले अपराध गरिरहेको छु भन्ने कुरा थाहा पनि छैन ।
साइबर क्राइम रोक्न कानुन छ, प्रहरी छ तर यस्ता प्रकृतिका घटना किन नियन्त्रण भएका छैनन् ?
विद्युतीय ऐनअन्तर्गत साइबर अपराधीलाई कारबाही गर्ने कानुनी व्यवस्था छ । यद्यपि साइबर अपराध रोक्न कानुन मात्र पर्याप्त हुँदैन । प्रहरी परिचालन गरेर मात्र पनि यो रोकिने अवस्था छैन । अमेरिका जस्तो मुलुकमा पनि साइबर सेक्युरिटी ४० प्रतिशतसम्म मात्र अपनाउन सकिएको छ । हामीजस्तो प्रविधिमा पछौटे मुलुकले शतप्रतिशत (साइबर क्राइम) रोक्न त्यति सम्भव छैन ।
साइबर अपराधविरुद्ध कारबाही चलाउन प्रहरी प्राविधिक रूपमा कति सक्षम छ ?
साइबर अपराध रोक्न प्रहरीले आफूलाई प्रविधिसँगै अपग्रेड गर्दै लगेको छ । त्यसअनुरूप प्रगति पनि भैरहेको छ ।
फेक आइडी बनाउने तथा कुनै कुनामा लुकेर साइबर क्राइम गर्नेहरूसम्म प्रहरी पुग्न सक्छ ?
अवश्य पुग्न सक्छ । अर्काको नाममा आइडी बनाएर वा कतै लुकेर चलाइएको एकाउन्टका सम्बन्धमा प्रहरीले कुनै भेउ पाउन सक्दैन भन्नु भ्रम मात्र हो । किनभने त्यस्ता आपराधिक क्रियाकलाप गर्नेले कहाँबाट त्यस्तो काम गरिरहेको छ भन्ने कुरा हामी पत्ता लगाउन सक्छौं । जस्तो भर्खरै मात्र पनि हामीले यस्ता अपराधीलाई भारतबाट पक्राउ गरेर ल्यायौं । त्यसैले उनीहरूले भागेर वा लुकेर बच्न सक्छौं भन्ने नसोचे हुन्छ ।
त्यसो भए प्रहरीले साइबर अपराध पूरै नियन्त्रण गर्न सक्छ ?
प्रहरीले त उजुरीका आधारमा कारबाही प्रक्रिया अघि बढाउने हो । हामी पीडितले उजुरी गरेपछि अपराधी कहाँ छ, त्यसले कसरी अपराध गरिरहेको छ भन्ने कुरा पत्ता लगाउँछौं । त्यसलाई पक्राउ गर्छौं र आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाउँछौं । यद्यपि यतिले मात्र साइबर अपराध नियन्त्रण हुँदैन । यसको सबैभन्दा प्रभावकारी र भरपर्दो माध्यम भनेको जनचेतना हो । खासगरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई म के भन्न चाहन्छु भने सुरक्षाका उपायहरू पूर्ण रूपमा अपनाउनुहोस् । नितान्त व्यक्तिगत कुरा सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् । पासवर्ड अरूलाई नदिनुहोस् र पासवर्ड दुई–चार महिनामा परिवर्तन गरिरहनुहोस् ।
तर, धेरैजसो प्रयोगकर्तालाई यसको सुरक्षा प्रणालीका सम्बन्धमा जानकारी नहुन सक्छ । उनीहरू
विद्यमान कानुनका सम्बन्धमा पनि बेखबर हुन सक्छन् ?
अहिलेको समस्या नै यही हो । कतिपयले फेसबुक के हो र यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा थाहा नपाई फेसबुक एकाउन्ट सञ्चालन गरिरहेका छन् । उनीहरूलाई यसको सुरक्षा प्रणालीका सम्बन्धमा कुनै जानकारी छैन । अब प्रविधिको जमानामा उनीहरूलाई फेसबुक नै चलाउन नदिने भन्ने कुरा सान्दर्भिक हँुदैन । बरु यससम्बन्धी जनचेतना जगाउनु आवश्यक छ, अभियानहरू सञ्चालन गरिनु पर्छ । त्यसका लागि युवाहरू स्वयं अग्रसर हुनुपर्छ । म त के भन्छु भने विद्यालयको पाठ्यक्रममै साइबर सेक्युरिटीसम्बन्धी च्याप्टर समावेश गर्न आवश्यक भैसकेको छ ।



0 comments
Write Down Your Responses