भुवन केसी मेरो बेस्ट फ्रेन्ड

उनी जम्मा २१ वर्षको भए तर कुरा सुन्दा लाग्छ, उनी पाका भैसके । यो उमेरमा पनि उनका समकालीन साथी छैनन्, जति छन्, सबै ४० वर्ष नाघेका छन् । काम सकेपछि उनी सिनेमा हेर्छन्, अथवा संगीत सुन्छन् नत्र सुतेर समय कटाउँछन् । १८ वर्षको उमेरमा भुवन केसीको चलचित्र ‘साथी म तिम्रो’ मा सानो भूमिकाबाट नेपाली रजतपटमा छिरेका अनमोल केसी अहिलेका महँगा स्टार हुन् । गएका दुई वर्षमा उनका दुई चलचित्र ‘होस्टल’ र ‘जेरी’ हिट चलचित्रमा परेपछि उनको स्टारडम पनि ठूलो भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर उनको महत्त्वाकांक्षी चलचित्र ‘ड्रिम्स’ रिलिज हुँदैछ भने अर्को वर्षको सुरुमै उनी ‘गाजलु’ लिएर आउँदैछन् । 

यति चाँडै यो स्टारडम, कस्तो लाग्छ ?
स्टार भैसकेँ जस्तो लाग्दैन । चलचित्र चलेको कुरा सुन्दा भने खुसी लाग्छ । लामो यात्रा हिँड्नु छ । 
म अन्तर्वार्ता लिन आउँदा तल धेरै युवती अनमोल कतिबेला घरबाट तल झर्ला र देख्न पाइएला भनेर कुरिरहेका थिए, यस्तो देख्दा कस्तो लाग्छ ?
मलाई नै कुरेजस्तो लाग्दैन । त्यहाँ पानीपुरी–चटपटे पसल छ, युवतीहरूलाई त्यो मन पर्छ । त्यही भएर भीड भएको हो कि ?
अनमोलकै कारण त्यहाँ पानीपुरी बेच्न सुरु गरेको भन्दै थिए, पसले...?
(हाँसो) होला । ...मैले याद गरेको छैन । 
यो डेटिङ गर्ने उमेरमा किन यसरी लजाएको ?
खासमा म यस्तो कुरा सुन्दा अलि असहज महसुस गर्छु । प्लस टु पढ्न थाले लगत्तै म सिनेमामा बिजी भएँ । अरू कुरामा ध्यान दिन थालें भने मेरो सिनेमाको पाटोमा न्याय गर्न सक्दिन । मेरी गर्लफ्रेन्ड पनि छैनन् । गर्लफ्रेन्ड भएपछि समय दिनुपर्छ । त्यो मसँग छैन । यतातिर सोच्न थाल्यो भने काम राम्रोसँग गर्न सकिँदैन । 

शारीरिक आवश्यकता पनि एउटा कुरा हो । कसले पत्याउला ?
यथार्थ त यही हो । जहाँसम्म बायोलोजिकल निड्सको कुरा छ, त्यसमा ध्यान दिइएन भने यो ठूलो कुरा हुँदैन । खुसी हुने धेरै ठाउँ भएकाले त्यतातिर ध्यान नगएको हुनसक्छ । 
जस्तो ?
म लगातार चलचित्रको सुटिङ वा डबिङमा हुन्छु । फुर्सद भयो भने चलचित्र हेर्न थाल्छु । मैले यो दुई–चार वर्षमा हजारौं चलचित्र हेरे हुँला । म्युजिक त मेरो प्यासन नै हो । म जहाँ जान्छु, म्युजिक साथमा हुन्छ । एक्लै हुँदा गिटार लिएर गाउन थाल्छु । सम्भवत: म एकलकाँटे व्यक्ति हुँ । सानैदेखि होस्टलमा बसेकाले पनि यस्तो भएँ हुँला ।  
प्रेम कहिल्यै भएन ?
५–६ क्लासमा पढ्दा स्कुलमा गर्लफ्रेन्ड बनाउने लहर नै चल्थ्यो । मेरी पनि थिइन् । त्यसलाई तपाईं बेबी लभ भन्न सक्नुहुन्छ । प्रत्येक वर्ष गर्लफ्रेन्ड फेरिन्थे तर त्यो युवाको जस्तो प्रेम होइन, जस्ट फेसन । 
अनि शारीरिक संसर्ग नि ?
तपाईं घुमिफिरी फेरि त्यहीँ आइपुग्नुभयो । म बुझ्न सक्छु तपाईं मबाट के चाहनुहुन्छ । तर के गर्ने, म त्यस्तै केटा हुँ । फिजिकल निड्सका बारेमा मेरो कमजोरी के छ भने कुनै युवती तयार भैहालिन् भने पनि म सेक्समा जान सक्दिनँ ।  कम्तीमा दुई–चार वर्ष संगत गरेको हुनुपर्छ । 
मैले सुनेअनुसार तपाईं बिग्रिएको छोरा हुनुहुन्थ्यो रे । धेरै पटक स्कुलले तपाईंलाई ड्रपआउट गरेको थियो रे, हो ?
हो, न्युज नै आएको थियो । शुभतारा स्कुलमा पढ्दा एसएलसी दिने बेलामा म निकालिएको थिएँ । म सानैदेखि चकचके र बद्मास थिएँ । पढ्न मन लाग्दैनथ्यो, हामी स्कुल बंक गरेर घुम्न जान्थ्यौं । म स्कुलका ग्याङ फाइटहरूमा संलग्न हुन्थेँ । साथीहरूलाई साथ दिनुपर्छ भन्ने भावना हुन्थ्यो । होस्टलमा राति भोक लाग्दा स्कुलको भान्साको तारको जाली काटेर त्यहाँ भएका खानेकुरा खान्थ्यौं । मेरा लागि केश धेरै प्रिय थियो । होस्टलमा केश काट्ने दिन म दिनभर खाटमुनि वा दराजभित्र लुकेर बिताउँथे । तैपनि स्कुलमा सार्वजनिक बेइज्जत गर्दै एसेम्लीमा उभिएका बेला मेरो केश काटिन्थ्यो । त्यस्तो हुँदा नराम्रो फिल हुन्थ्यो । 
मैले ५ वटाजति स्कुल चेन्ज गरेँ । जब एसएलसीको मुखमा स्कुलले मलाई निकाल्यो र बुवा–ममीको शिर निहुरिएको देखेँ, उहाँहरूको आँखामा आँसु देखें र स्कुलको प्रिन्सिपललाई एकपल्टलाई चान्स दिनुहोस् भनिरहेको देखेँ । मलाई साह्रै नमज्जा लाग्यो । त्यही बेलादेखि साथीहरूभन्दा अभिभावक ठूलो कुरा रहेछ भन्ने बुझेँ । त्यसपछि म परिवर्तन भएँ । 
स्कुले जीवनका राम्रा पक्ष नी ?
म पढ्नमा राम्रो थिइनँ । अहिले पनि पुस्तक पढ्न उति रुचाउँदिनँ, तर खेलकुद, संगीत र अभिनयमा सधैं राम्रो गर्थे । स्कुलबाट अन्डर सिक्सटिनको राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीतर्फ १५ मिटरको ब्याटस्टोकमा ब्रन्च मेडल पाएको थिएँ । स्कुलको बास्केटबल प्रतियोगितामा लिडर थिएँ । धेरैले ‘होस्टल’ चलचित्रमा मैले खेलेको बास्केटबल देखेर कसरी यति राम्रो गर्‍यौ भनेर सोधेका थिए । म फोटोग्राफी पनि गर्छु । मसँग तस्बिरहरूको राम्रो संकलन छन् । भविष्यमा तस्बिरसम्बन्धी केही बिजनेस सुरु गर्न सकिन्छ कि भन्ने पनि लाग्छ । 
तपाईं संगीतको सौखिन हुनुहुन्छ, यो कसरी सुरु भयो ?
सन् २००७ मा स्कुलका साथीहरू मिलेर हामीले एमटीओ–०७ (मेरो टिम सेभेन) नामको ब्यान्ड स्थापना गरेका थियौं । स्कुलको म्युजिक कम्पिटिसनमा पदक जित्थ्यौं । म यसरी सिनेमामा आउँला भन्ने लागेकै थिइनँ । संयोगले मेरो होस्टल जीवनको कथासँग फिल्म होस्टलको स्क्रिप्ट मिलेको पाएपछि मैले चलचित्रमा काम गर्ने मनसाय बनाएको हुँ । त्यो चलचित्र हिट नभएको भए सम्भवत: यति बेलासम्म म म्युजिकमै लागिसकेको हुन्थें । म सधैंभरि चलचित्र लाइनमा हुन्छु भन्ने अहिले पनि सोच्दिनँ । खासमा म म्युजिक मै केही गर्न चाहन्छु । मेरो स्वर सुन्नेहरूले पनि मलाई म्युजिकमै लाग्न सल्लाह दिन्थे । अहिलेचाहिँ चलचित्रमा रस लाग्न थालेको छ । मैले म्युजिकको क्लास पनि लिएको थिएँ । त्यसैले फुर्सदमा म म्युजिकमै रमाउँछु । 
चलचित्रमा तपाईंको अभिनय पनि राम्रो मानिन्छ, कसरी सिक्नुभयो ?
आमा–बुवा दुवै कलाकार हुनुभएकाले मेरो जीनमै त्यो थियो भन्ने लाग्छ । मैले कतै पनि फिल्मको क्लास लिइनँ । अँ, मैले नहेरेको कुनै चलचित्र छैन । मलाई कलाकारले कसरी यो भूमिका निर्वाह गर्‍यो होला भन्ने अनुभव हुन थालेको छ । आमा–बुवाको फिल्म हेर्दा पनि म यति गर्न सक्छु भन्ने आत्मविश्वास आउँछ । 
आमा–बुवा अलग बस्नुहुन्छ । बजारमा विभिन्न किसिमका कुरा हुन्छन्, कस्तो लाग्छ ?
अरू कुरा मलाई थाहा हुने कुरा भएन तर उहाँहरू मेरा लागि असल माता–पिता हुनुहुन्छ । म २ कक्षा पढ्दा नै उहाँहरूको डिभोर्स भएको थियो तर मेरा लागि थप ८ वर्ष सँगै बस्नुभयो । मसँग सल्लाह लिएर नै एसएलसी पूरा भएपछि उहाँहरू अलग हुनुभएको हो । जब मैले उहाँहरूको कुरा मिल्दैन भन्ने बुझेँ, अलग बस्न सल्लाह दिएँ । म बेला बेलामा ममीको घर जान्छु र तपाईंहरू सँगै बस्ने होइन भनेर जिस्क्याउँछु । 
धेरै सन्तान आमा–बुबाको डिभोर्स भएपछि आमासँग बस्छन्, तपाईं किन बुबाको घरमा ?
सानैदेखि म जुन कोठामा बसेको थिएँ, जुन कोठासँग मेरो भावना गाँसिएको थियो, त्यो छाड्न सकिनँ । मलाई सिनामंगलको घरमा लगाइएका रूख, त्यहाँको हावापानी र आफन्त सबैले आकर्षित गरे । ममीसँग जाँदा ती सबै कुरा गुम्थे, म त्यो चाहन्नथेँ । आखिर ममी जहाँ गए पनि मम्मी नै हो । मायामा फरक पर्दैन भन्ने लाग्यो ।
 
आमा र बुबाका राम्रा बानी के–के लाग्छन् ?
ममी धेरै मीठो खाना बनाउनु हुन्छ । उहाँको हातको खाना सधैँ मिस गर्छु । उहाँ मेरो भविष्य बिग्रिएला भन्ने कुरामा सधैँ सचेत हुनुहुुन्छ र कडाइ गर्नुहुन्छ । पहिले यो कुरा मलाई चित्त बुझ्दैनथ्यो । अहिले बुझ्दा लाग्छ, उहाँले ठीक गर्नुभएको थियो । उहाँले सधैँ मेरो आवश्यकताको ख्याल राख्दै आउनु भएको छ । लुकाइ–लुकाइ पैसा दिनुहुन्थ्यो । बुवाचाहिँ मेरो साथीजस्तो हुनुहुन्छ । भुवन केसीलाई मेरो बेस्ट फ्रेन्ड भन्दा हुन्छ । म उहाँसँग सबै कुरा सेयर गर्न सक्छु, जसरी एउटा साथीसँग सेयर गरिन्छ । 
तपाईंका कुरा परिपक्वजस्ता लाग्छन्, अन्तर्वार्ता कसरी दिने भनेर बुवाले तालिम दिनुहुन्छ हो ?
केही कुरा त सिकाउनुहुन्छ, तर म संसारका प्रसिद्ध व्यक्तिहरूको भनाइ संकलन गर्न रुचाउँछु । जुन बेला मलाई जस्तो फिलिङ्स आउँछ, त्यो बेला ती भनाइहरू पढेर म आफूलाई म्यानेज गर्छु । मेरो मोबाइलमा सयौं यस्ता भनाइको संकलन छ । ती भनाइहरू नै मेरा गुरु हुन् ।


0 comments

Write Down Your Responses