सरकार सरकार युवा बेच्ने कहिलेसम्म ?

                स्वदेशमै काम गरेर खान, देऊ, सरकार ! युवा बेच्ने कहिले सम्म ? जस्ता नारा लगाउँदै ब्यानर र पम्पलेट बोकेका युवाहरू शनिबार खुलामञ्जमा चिच्याइरहेका थिए । उनीहरूको नजिकै १२ युवा भुइमा लडिरहेका थिए । कसैको हातमा स्लाइन पानी चढाइएको थियो, त कोहि निराश मुद्रामा एकोहोरो हेरिरहेका थिए । यी युवाहरूको परिचय हो, हाम्रो मुलुकका बेरोजगारहरू । रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान’ नामक संस्थाका १२ युवाले ४ दिनदेखि आमरण अनसन भोक हड्तालजारी राखेका हुन् । अनसन बुधबार सुरूआत गरिएको थियो । मुलुकभरबाट एक हजार युवाले यो अभियानमा साथ दिइसकेका छन् । बेरोजगार युवाहरू खुला मन्चमा छिर्छन्, हस्ताक्षर गर्छन् र आफ्ना हक अधिकार सरकारले दिनु पर्ने माग गर्छन् । कपिलबस्तुका सुनीलकुमार चौहान भन्छन्,रोजगारीलाई संविधानको मौलिक हकमै लेखिएको छ । मौलिक हकमा भएको कुरालाई पूरा गर्नु सरकारको कर्तव्य हो । उनले देशमा युवाहरु बेच्ने मात्र वातावरण सरकारले बनाइरहेको अरोप लगाए । ‘सरकारले कि हाम्रो देशमा स्रोत, साधन छैन, हामी कंगाल हो भन्नु पर्‍यो । नत्र हाम्रो माग पुरा गर्नु पर्छ । युवाहरूको समूहले चैत २७ मा सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ बुदे ज्ञापन पत्र बुझाएको थियो । सरकारलाई हाम्रो माग पूरा गर्न १५ दिनको समय दिएका थियौं । तर हालसम्म केहि जवाफ आएको छैन, गुल्मीका ज्ञानेन्द्र अधिकारीले भने । ज्ञापन पत्रको पहिलो माग योग्याता, क्षमता, सीप र दक्षता अनुसारको रोजगारको ग्यारेन्टी गर्नु पर्ने थियो । दोस्रो माग रोजगारी दिन नसके राज्यले शैक्षिक योग्यता, क्षमता, सीप र कलाको प्रमाण पत्र धितो राखेर सहुलियत दरमा ऋण प्रदान गरि स्वरोजगार हुने वातावरण तत्काल बनाउनु पर्ने उल्लेख छ । यस्तै, तेस्रो माग रोजगार वा स्वरोजगार गराउन नसकेका युवाहरुको हकमा परिचयपत्रसहित बाँच्न सक्ने गरि सामाजिक सुरक्षा भत्ता (बेरोजागर भत्ता) को व्यवस्था गर्नु पर्ने छ । चौथो माग राष्ट्रिय स्तरका खेलाडी र कलाकारको विशेष व्यवस्था हुनु पर्ने भनिएको छ । पाँचौ माग बन्द हड्ताल, चक्का जाम र तालाबन्दी गर्न प्रतिबन्ध लगाउने कानुनी व्यवस्था मार्फत उद्योग मैत्री र रोजगार मुलक व्यवस्था तत्काल गर्नु पर्ने र छैटौ स्वदेशी बस्तुको प्रयोग गर्ने व्यवस्था तत्काल गर्नु पर्ने उल्लेख छ । आमरण अनसनमा बस्ने सबै युवाहरुले प्लस टु पास गरिसकेका छन् । कानुन, कम्प्युटर, बीबीए बीए लगायत विषय पढिरहेका छन् । जबसम्म सरकारले हाम्रो माग पूरा गर्दैन यो अनसन जारी रहन्छ चौहानले भने हाम्रा साथीहरु बिरामी भइरहेका छन् । तर हामी आफ्ना मागमा कटिबद्ध छौं ।

0 comments

Write Down Your Responses