वर्षका सामान्य र फ्लप नेपाली चलचित्र
चैत्र २९, २०७२-
देशका लागि वर्ष ०७२ दु:खदायी रह्यो, तर चलचित्र क्षेत्रका लागि भने यसले मिश्रित परिणाम दिएर गयो । राम्रो तरिकाले बनाइएको चलचित्र चल्छ भन्ने उदाहरण यो वर्ष मज्जाले देख्न पाइयो । चलचित्र विकास बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यो वर्ष कुल ६८ वटा नेपाली चलचित्र प्रदर्शनमा आए । तीमध्ये चलचित्र ‘रेशम फिलिली’ लाई भूकम्पका कारण दुई पटक रिलिज गर्ने अवसर प्रदान गरियो । कतिपय चलचित्रले राम्रोसँग प्रचार–प्रसार गरेर लगानी उठाए भने कतिपयले चर्चा कमाए पनि दर्शक कमाउन सकेनन् । अनि केही यस्ता चलचित्र पनि आए, जसले नेपाली चलचित्रको साख जोगाए र मनग्गे पैसा पनि कमाए ।
वर्ष ०७२ मा आएका चलचित्रमा केही यस्ता चलचित्र पनि रहे, जसको शीर्षक दर्शकले कहिल्यै सुनेनन् । बिहीबारका दिन सहरका केही ठाउँमा ती चलचित्रका पोस्टर टाँसिएको देखिन्थ्यो, शुक्रबार हलमा दर्शक देखिँदैनथे । तिनीहरूलाई सुपरफ्लप भन्न सकिन्छ ।
वान साइड लभ, मुक्ति, हे युवा, पाप, द ट्रयाप, न रंगीएको सिउँदो, उधुम, अग्नि, मिसन खेलाडी, डन्ट ब्रेक माई हार्ट, बेबी, छल कपट, द सोल्जर, लक्की सेभेन, इन्द्रावती आदि चलचित्रका निर्माताहरूमा प्रचार–प्रसार गरे मात्र चलचित्र चल्न सक्छ भन्ने हेक्का रहेको पाइएन । यस्ता चलचित्रले हलमा पानी पनि मागेनन् ।
सामान्य चलचित्र
वर्ष ०७२ मा आएका चलचित्रहरूमा भूकम्पपछि सफलता पाउने पहिलो चलचित्र ‘सपना तिम्रो मेरो’ हो । यो चलचित्र साउनको २२ गते प्रदर्शनमा आएको थियो । शीर्षगीतले श्रोता पाएका कारण पनि चलचित्र ‘सपना तिम्रो मेरो’ले आफ्नो लगानी उठाउन सक्यो । भदौ २५ मा आएको चलचित्र ‘लभसब’ले पनि आफ्नो लगानी सुरक्षित गर्यो । देवकुमार श्रेष्ठ निर्देशित तथा सुशील पोखरेलद्वारा निर्मित चलचित्र ‘लभसब’मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी आदि कलाकारले अभिनय गरेका थिए । कात्तिक ३ गते आएको चलचित्र ‘अधकट्टी’ पनि चर्चासँगै लगानी सुरक्षित गर्ने चलचित्रमा पर्छ । निखिल उप्रेतीका एक्सन दृश्यहरूले भरिएको चलचित्र ‘लुटेरा’ले पनि निर्माता गोपाल कायस्थको लगानी जोगाइदियो । दयाहाङ राई, सौगात मल्ल, अनुप बराल, प्रियंका कार्की, केकी अधिकारी जस्ता कलाकारको भीड रहे पनि चलचित्र ‘फन्को’ले ‘सुपरहिट’को ट्याग भिर्न सकेन । चलचित्रको एउटा गीत ‘ठुङ्दे ठुङ्दे’ले चर्चा पाउनु र चलेका कलाकारको हुलले पनि ‘फन्को’लाई सामान्य व्यवसाय गर्ने चलचित्रसम्म बनायो ।
अभिनेता तथा निर्देशक दिनेश डिसी यस पटक नराम्रोसँग चुके । चर्चा पाउँदा पाउँदै पनि भुवन केसी तथा अनमोल केसीको चलचित्र ‘ड्रिम्स’को छायाँमा पर्दा निर्देशक डिसीको चलचित्र ‘फुलैफूलको मौसम तिमीलाई’ले सामान्य चलचित्रमा सीमित हुनुपर्यो । संगीतकार चेतन सापकोटाले पहिलो पटक निर्माण गरेको चलचित्र ‘भाग सानी भाग’ पनि सामान्य नै ठहरियो । पत्रकार डब्बु क्षेत्री निर्देशित चलचित्र ‘राहदानी’ हेर्न गएका कृषिमन्त्री चलचित्र हेरिसकेपछि फर्केर रुँदा दर्शकहरू ‘मन्त्री रोएको चलचित्रको टिकट पाउँ’ भन्दै हलसम्म पुगे । यसरी चलचित्र ‘राहदानी’ पनि सामान्य चलचित्र सावित भयो ।
प्रसंग फ्लप चलचित्रको
चर्चा व्यापक भएर पनि केही चलचित्रले सामान्य लगानी पनि उठाउन सकेनन् । यद्यपि ती चलचित्रले चर्चा भने निकै कमाए । यसमा नायिका करिश्मा मानन्धरद्वारा निर्माण गरिएको चलचित्र ‘फागु–द कलर्स अफ लाइफ’ सहित ‘बागमती’, ‘आवेग’, ‘को आफ्नो’, बिन्दास–३’, ‘काफल पाक्यो’, ‘ठमेल डटकम’, ‘सुश्री’, ‘चंखे शंखे पंखे’ आदि पर्छन् ।
दक्षिण भारतबाट आएका निर्देशक तथा प्राविधिकहरूले फरक ढंगबाट बनाएको भनेर प्रचार गरिएको अहिलेसम्मकै सबैभन्दा बढी लगानीको चलचित्र ‘बागमती’लाई दर्शकले नकारे । राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारीजस्ता कहलिएका कलाकारहरू हुँदा पनि यो चलचित्रले छोटो समय मात्र चलचित्र हलमा रहन पायो । त्यस्तै भयो ‘फागु–द कलर्स अफ लाइफ’को परिणम पनि । सम्झना उप्रेती रौनियारले निर्देशन एवं नायिका करिश्मा मानन्धरले निर्माण गरेको ‘फागु–द कलर्स अफ लाइफ’को प्रचारमा कुनै कमी थिएन । चर्चा पनि थियो । शिल्पा पोखरेलले मुख्य भूमिका निर्वाह गरेको उक्त चलचित्र तराईको कथामा निकै लगानी गरी तयार पारिएको थियो, तर दर्शकले त्यसलाई त्यति रुचाएनन् । फलत: चलचित्रले छोटो समयमै चलचित्र हल छाड्नु पर्यो ।
झन्डै एक करोड लगानी गरिएको अर्को चलचित्र ‘चंखे शंखे पंखे’ले पनि लगानीको थोरै अंश मात्र हात पार्न सक्यो । त्यसपछि यही वर्ष अर्को चलचित्र ‘प्रेम गीत’ बनाएर चर्चासँगै पैसा पनि कमाएको ब्यानर अशुसेन फिल्मस्का निर्माता सन्तोष सेन, निर्देशक सुदर्शन थापा तथा नायिका पूजा शर्माको समूहले निर्माण गरेको ‘चंखे शंखे पंखे’ले उनीहरूलाई नराम्रोसँग घाटा ख्वायो । असोज ८ गते प्रदर्शनमा आएको यो चलचित्रको प्रस्तुति राम्रो भएर पनि विषय दर्शकलाई मन परेन ।
दसैंको छेकोमा आएका दुई चलचित्र ‘ठमेल डटकम’ र ‘सुश्री’ले पनि प्रदर्शन अघि नै चर्चा पाए । यद्यपि ती चलचित्र चलचित्र हलसम्म त आए तर दर्शक हलमा आएनन् । कतिपय हलमा त ‘ठमेल डटकम’ र ‘सुश्री’ कहिले लागे, कहिले झरे थाहै भएन । चलचित्र ‘को आफ्नो’को विषय सुन्दा लाग्थ्यो यो चलचित्रले परिवारिक कथा बोकेका यो वर्षका चलचित्रहरूमा दह्रो स्थान बनाउनेछ । त्यसमाथि कलाकारहरूको भीड र नायिका ऋचा शर्माको फरक गेटअपले त यो चलचित्र उच्चकोटीको छभन्दा फरक पर्दैनथ्यो तर जब चलचित्र हलमा ‘को आफ्नो’ चल्यो, दर्शक आफ्नो भएनन् । केही मल्टिप्लेक्सले त पहिलो सो मै यो चलचित्र उतारे ।
चलचित्र ‘काफल पाक्यो’ हास्यप्रधान भएर पनि दर्शकहरूको मनमा बस्न सकेन । नायक जीवन लुइँटेलले चलचित्रमा हास्य अभिनय गरेका थिए । बेमौसमी काफल यसपटक पाक्न नसकी झर्यो । राजु गिरीको ‘बिन्दास’ श्रृंखलाको तेस्रो चलचित्र ‘बिन्दास–३’को हल्ला चलाउन नायिका शुभेच्छा थापाले गरमागरम फोटो सुट गराइन् तर त्यो हल्ला चलचित्रका लागि नकारात्मक सावित भयो । चलचित्र ‘बिन्दास–३’ चलेन । यसैगरी क्रिकेटको लहर चलिरहेका बेला नेपाली क्रिकेट आधारित चलचित्र ‘च्याम्पियन’ले पनि दर्शक पाउन सकेन ।
http://bit.ly/23ob1OR



0 comments
Write Down Your Responses