के हो झाडा पखाला अनि किन दोहोरिन्छ झाडापखाला ?

एक दिनमा तीन वा त्योभन्दा बढीपटक पानीजस्तो पातलो दिसा लाग्नु झाडापखाला हो । आँखाले देख्न नसकिने किटाणुहरूको कारणबाट खाना, पानी संक्रमित भई खाना, पानी र फोहोर हातको माध्यमबाट निरोगी मानिसमा यो रोग सर्छ । पुराना रोगहरूको लक्षणको रूपमा पनि पखाला लाग्छ । झाडापखाला विषाणु, जीवाणु र परजीवीका कारणबाट लाग्छ । भाइरसभन्दा व्याक्टेरिया र व्याक्टेरियाभन्दा परजीवीबाट हुने झाडापखाला लामो समयसम्म रहने र उपयुक्त औषधी प्रयोग नगरुन्जेल निको हुँदैन । एक्कासी हुने झाडापखालामा भाइरल- रोटा, ब्याक्टेरिया- भी. कोलेरी, सालमोनेला, क्लोस्ट्रोडियम आदि प्रोटोजोबल- इ. हिस्टोलाइटिका, जिपारडिया लाम्बलिया आदि विषाक्त खाना (फुड प्वाइजनिङ) बाट हुने गर्छ । दीर्घकालीन झाडापखालामा- मधुमेह, पाकस्थली, ठूलो आन्द्रा, पित्ताशयमा सुजन, पित्त थैलीमा पत्थरी, शरीरमा भिटामिन बीको कमी, क्षयरोग, क्यान्सर आदि पर्छन् । टाइफाइड र जन्डिसमा पनि पखाला लाग्न सक्छ । त्यसैगरी एन्टिबायोटिक औषधी र अन्य केही औषधीले पनि पखाला गराउन सक्छन् ।

 लक्षण
 हुन त प्रत्येक उमेर तथा लिङ्गका व्यक्तिलाई यो रोग लाग्ने भए पनि बालबालिकालाई बढी सताउने गर्छ । पटक-पटक पानीजस्तो पातलो दिसा लाग्छ । आन्द्राको शोषण शक्ति घट्छ । दिसा बस्दा पचाकाको तेजीले (पिचकारी) उत्सर्जित हुन्छ, वाकवाकी लाग्ने र वान्ता हुने हुन्छ । दिसामा नपचेको भोजनका टुक्रा रहेको र साह्रै गन्हाउने हुन्छ । पेट गड्याङगुडुङ गर्छ, दुख्छ । हातखुट्टा र मांसपेशी दुख्छ, बाउडिन्छ, गल्छ । बच्चाले झर्को मान्ने, बेचैन हुने, बढी मात्रामा तिर्खा लाग्छ । रिङ्गटा लाग्छ, कमजोरीको महसुस हुन्छ, मुख, जिब्रो सुख्खा र फोहोरी हुन्छ । त्यसपछि आँखा गाडिने, गाला भित्र धसिने हन्छ । पिसाब कम हुन्छ तथा जलविनियोजन बढी भएमा पिसाब हँुदैन । रुँदा आँसु आउँदैन । बच्चाहरूमा तालु धसिन्छ । आँखा सुख्खा हुन्छ, शरीर चिसो हुन्छ, पेटको छाला तन्काएर छोड्दा मुजा परिराख्छ, विस्तारै फर्कन्छ, नाडीको गति कम, मन्द र पत्ता लगाउन गाह्रो हुन्छ, रक्तचाप कम हुन्छ, श्वास-प्रश्वास तीव्र हुन्छ, बिरामीमा आलस्य हुन्छ । उपचार नगरे दीर्घ झाडापखालाले कुपोषण, कडा खालको जलविनियोजन सेप्टेसेमिया डिसइलेक्टोलाइटेमिया र सिकिस्त भएमा बिरामीले खान, पिउन नसक्ने, लोलाउने, पिसाब बन्द हुने, बालबालिकाको तालु भासिने, आँखा झिम्क्याउन नसक्ने, रक्तसञ्चार रोकिने, फोक्सो र मुटुले काम नगर्ने, बेहोश हुने साथै समयमै उपचार नभएमा अन्त्यमा मृत्युसमेत हुनसक्छ ।


झाडापखालामा घरेलु उपचार

 झाडापखाला हुँदा घरमै गरिने उपचारलाई घरेलु उपचार भनिन्छ । कुपोषणबाट जोगाउन साविककै जस्तो खानेकुरा दिने गर्नुपर्छ । प्रशस्त मात्रामा घरेलु झोल पदार्थ खुवाउनुपर्छ । आमाको दूध खाने बच्चा भए साविकको भन्दा बढीपटक दूध खुवाउनुपर्छ । बच्चा ६ महिनाभन्दा बढी उमेरको भए वा ठोस आहार खाने बच्चा भए बिरामीलाई प्रशस्त मात्रामा झोलिलो खानेकुराहरू जस्तै- दालको झोल, तरकारी (मसला कम भएको) गेडागुडीको झोल, केरा, माछामासु, फलफूलको रस, फिका चिया, भातको माड, पातलो लिटो यीसमेत नभएमा सादा पानी प्रशस्त मात्रामा दिनुपर्छ ।

 रोकथाम

 रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै वेश हुन्छ । जसका लागि जुनसुकै उमेर र वर्ग तथा तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ । शौचालयमा मात्र दिसा-पिसाब गरौं । खानेपानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने गरौं । खाना खानु अघि र दिसा-पिसाब छोएपछि साबुन-पानीले हात धुने गरौं । सडेगलेका बासी र झिंगा भन्केका खानेकुरा नखाई माटोमुनि गाडिदिऔं । नाक, मुखलाई मास्क वा सफा कपडाले छोप्ने गरौं । दीर्घरोगीहरूले नियमित औषधी सेवन गरौं । सरुवा रोगहरूबाट बच्न सकेसम्म भिडभाडमा नबस्ने र बस्नैपरे कम्तीमा एक मिटरको दूरी कायम गरौं । पीडितहरूलाई नजिकको स्वास्थ्य संस्था, अस्पताल वा स्वास्थ्य शिविरमा तुरुन्त पुर्‍याऔं । व्यक्तिगत सरसफाइ र वरिपरिको वातावरण सफा राखौं । र महामारीबाट बचौं ।

,

0 comments

Write Down Your Responses