वैशाख- १५ – घर फर्कन हवाइजहाजको टिकट काट्ने पैसा नहुँदा युएईको आबुधाबीस्थित नेपाली दूतावासको सेल्ल्रमा पुगेका महिलाहरु सेल्टरमै बस्न बाध्य भएका छन् । घरेलु कामदारका रुपमा युएई आएर समस्यामा परेकाहरु घरफिर्तीका लागि दूतावासको सेल्टरमा पुग्ने गरेका छन् । सेल्टरमा पुगेका महिलासँग घर फर्कने पैसा नहुँदा सेल्टरमा उनीहरुको बसाई लम्बिदै गएको हो । कसैले टिकट दिएर सहयोग गरे उहाँहरु नेपाल फर्कन सक्ने दूतावासले जनाएको छ । समस्यामा परेर दूतावास पुगेकी पोखरा छोरेपाटनकी सर्मिला विक झण्डै एक महिना देखि दूतावासकै सेल्टरमा बस्दै आउनु भएको छ । कानूनी प्रक्रिया पूरा गरेर पनि नेपाल फर्कन हवाई टिकट जुटाउन नसक्दा उहाँले नेपाल फर्कन पाउनुभएको छैन । दूतावासले अरु सहयोग गरे पनि टिकट काट्न पैसा नभएकाले कसैले सहयोग गरिदिए नेपाल फर्कन सक्ने उहाँले बताउनुभयो । विकले स्थानीय दलालको सहयोगमा १६ वर्षको उमेरमै २२ वर्ष पुगेको भनेर नागरिकता र पासपोर्ट बनाउनुभयो । र दलालकै सहयोगमा भारतको बाटो हुँदै युएईको साहजाह आउनुभएको थियो । घर मालिकले पिट्ने, विरामी हुँदा औषधी उपचार नगर्ने, तलब समयमै नपाउने र पाएको पैसा समेत चोरेर लगिदिने गरेको भन्दै उहाँ नेपाली समाज युएईका प्रतिनिधी मार्फत दूतावासमा पुग्नु भएको हो । दलालले एक हजार दिरहाम कमाइ हुने भन्दै सर्मिलालाई युएई पठाएको थियो । दूतावासको सेल्टरमा अहिले पाँच जना महिलाले आश्रय लिइरहेका छन् । तीमध्ये तीन जनासँग नेपाल फर्किनका लागि हवाई टिकट किन्न एक पैसा छैन । अन्य दुई जनाको कानूनी प्रक्रिया दूतावासले थालेको छ । उनीहरुको अन्य जरिवाना शुल्क दूतावासले तिरेको छ । तर टिकट काट्न र ओभर स्टे वापत जारिको पैसा नहुँदा महिलाहरु झन पिडामा परेका हुन । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले घरेलु महिला कामदार तथा विदेशमा समस्यामा पर्ने नेपालीको उद्दार शीर्षकमा पठाउने बजेट चालु आर्थिक वर्षमा नआएकाले समस्यामा परेका महिलालाई सहयोग गर्न नसकिएको हो । बोर्डलाई निरन्तर ताकेता गरेर उद्दारका लागि बजेट पठाउन अनुरोध गरिएको दूतावासले जनाएको छ । विदेश आएर समस्यामा पर्नेलाई दूतावासले सहयोग गर्दैनौ भन्न मिल्दैन । तर दूतावाससँग आवश्यक रकम नै नभए पछि समस्यामा परेका छौं । दूतावासकी श्रम सहचारी हिराकुमारी यादवले भन्नुभयो । पछिल्लो समयमा भिजिट भिसामा युएई आउने र यतै आएर काम खोजेर यस्तै बस्ने आशामा आएका महिलाहरु समेत राहत माग्दै दूतावास आउन थालेको यादवले बताउनु भयो । भिजिट भिसामा दलाललाई मोटो रकम दिएर युएई आउने र यहाँ समस्यामा परेपछि दूतावासमा आउने महिलाको संख्या बढेको पनि उहाँले बताउनु भयो ।
घर फर्कने पैसा नहुँदा दूतावासको सेल्टरमा बास


0 comments
Write Down Your Responses