धुर्मुस–सुन्तलीकाे खातामा चार करोड ७५ लाख भन्छन , ‘अब सहयोग संकलन स्थगित गर्छाैं

धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा हाल सिन्धुपाल्चोकको गिरानचौरमा निर्माणाधिन नमुना एकिकृत बस्ती निर्माणका लागि चार करोड ७५ लाख रुपैँया सहयोग संकलन भएको छ। निर्माणकर्ता हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’का अनुसार बस्ती निर्माणका लागि करिब पाँच करोड लागत लाग्ने भएकाले अब २५ लाख सहयोग जुटेपछि संकलन स्थगित गरिनेछ। उनीहरुका भनाइमा केही संघसंस्था तथा व्यक्तिले सहयोगको प्रतिबद्धता जनाइसकेका छन्। उनीहरुको प्रतिबद्धता पुरा भएको खण्डमा पाँच करोड संकलन हुनेछ। त्यसैले अबको केही दिनमै उनीहरुले सिन्धुपाल्चोक बस्ती निर्माणका लागि सहयोग संकलन स्थगित गर्ने उनीहरुले जनाएका छन्। साथै उनीहरुले देश तथा विदेशमा संकलन भइसकेका रकम फाउन्डेसनलाई सकेसम्म छिटो बुझाउनसमेत अनुरोध गरेका छन्। फराकिलो मन भएका व्यक्ति तथा संस्थाको सहयोगका कारण छोटो समयमा नै पूर्व निर्धारित लक्ष्य हासील गर्न सकेको बताउँदै फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले यदि सहयोग चाहिएको खण्डमा आफूहरुले पुनः सहयोग याचना गर्ने जनाइन्। साथै उनले सहयोगी सबैप्रति धन्यावाद दिँदै अब श्रमदानको अत्यन्तै आवश्यकता पर्ने भएकाले व्यक्ति तथा संघसंस्थालाई सोका लागि अनुरोध गरेकी छिन्। बस्ती निर्माणका लागि अहिलेसम्म फाउण्डेशनले ५० लाख ७७ हजार ९ रुपैयाँ खर्च भएको जनाइएको छ। कम लागतमा बालमैत्री, अपाङ्गमैत्री नमुना बस्ती निर्माण गरेर भूकम्प प्रभावित ६५ परिवारलाई दशैँमा घर उपहार दिने उनीहरुको योजना छ।

0 comments

Write Down Your Responses