प्रियंकाको सपना : नृत्य स्कुल
वैशाख २, २०७३- ब्यस्तताले ‘बोल्ड एण्ड ब्युटीफूल’ नायिका प्रियंका कार्कीको बेलायत बसाई साता दिन बढी लम्बिएन । छोटो बेलायत भ्रमणमा आउँदा नयाँ वर्षका तीन कार्यक्रममा नाचेर उनी बुधबार साँझ नेपाल फिरिन् । छक्का पन्जाको छायांकन थाती राखेर हतारहतार लन्डन आएकी प्रियंकाले नेपाल फर्कनुअघि आफ्नो भविष्यको सपना उजागर गरेकी छन् । त्यो रहेछ, समाजसेवा ।
उनलाई नेपालका पिछडिएका महिला र बालबालिकाप्रति बढी नै दया रहेछ । ‘सामाजिक काम मेरो प्रमुख अजेन्डामा छ’, उनले भनिन्, ‘गरिब र असहाय बालबालिकाका लागि एउटा नृत्य स्कुल खोल्ने मेरो चाहना छ जहाँ खर्च धान्न नसक्ने तर प्रतिभा भएकाले नि:शुल्क नृत्य सिक्न सकून् ।’
कलाकारको सामाजिक दायित्वप्रति राम्रो हेक्का राखेकी उनले महिला बालबालिकालाई ‘इम्पावर’ गर्ने अठोट समेत गरिन् । ‘फिल्डमै खटिएर भन्दा आवाज उठाउने काम हाम्रो हो’, उनको धारणा छ, ‘बाँकी जिम्मेवारी त सरकारको हो नि ।’
आफ्नो नयाँ फिल्म ‘हाउ फन्नी’ को रिलिज डेट (बैशाख १०) कुरिरहेकी उनले नेपाली सिनेमा उद्योगको भविष्य उज्जवल देखेकी छन् । ‘०७२ मा धेरै उत्कृष्ट फिल्म बने । अब बिस्तारै नराम्रा कलाकार, निर्माता निर्देशक र सिनेमा आफैं फिल्टर हुन थालेका छन्’, प्रियंकाको आत्मविश्वास छ, ‘हामी संक्रमणकालमा रहेपनि कलाकार, हल, स्क्रिप्ट आदिको वर्गीकरणले नयाँ पुस्तालाई भविष्यमा सजिलो हुनेछ ।’
जीवनमा अन्त केही गर्न नसकेपछि फिल्म लाइनमा लाग्नेको जमात उत्तिकै रहेको दाबी उनको छ ।
यतिखेर बेलायत रहेका नायक दयाहाङ राईसँग मिलेर प्रोडक्सन हाउस खोल्ने योजना बनाइरहेकी उनले अहिले सिनेमा उद्योगको बजार बढ्दै गइरहेको सुनाइन् । ‘मेरो करोड क्लबमा छिरेको पहिलो फिल्म झोलेबाट नै म हिट नायिका भएँ’, उनी सम्झिन्छिन्, ‘नेपालमा फिल्म सफल नभइन्जेलसम्म सेलिब्रेटी भइन्नँ ।’
‘मिस टिन २००५’ बाट रंगीन दुनियाँमा छिरेकी प्रियंकाले बेलायतमा हुन लागिरहेको मिस यूके नेपाल प्रतियोगिता नवप्रतिभालाई गतिलो प्लेटफर्म हुने जनाइन् । ‘यस्ता प्रतियोगिताले आत्मविश्वास बढ्छ । तर, अरुको नक्कल गरेर होइन आत्मबल लिएर ब्युटी पेजेन्टमा गए सफल भइन्छ’, उनको सुझाव छ ।
नेपाली समाज डाक्टर, इन्जिनियर भए मात्र पैसा कमाइन्छ भन्ने मानसिकतामा रहेको उल्लेख गर्दै उनले सिनेमा, फेशन, संगीत, डान्स सबैमा उत्तिकै अवसर रहेको बताइन् ।



0 comments
Write Down Your Responses