२०७२ मा देशले गुमयाका हस्तीहरु

सुशील कोइराला
 पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको माघ २६ गते निधन भयो । २०१० सालदेखि राजनीतिमा सक्रिय हुँदै आएका कोइरालाले २०१७ सालमा प्रजातन्त्र अपहरणमा परेपछि १६ वर्षसम्म सपरिवार भारतमा निर्वासित जीवन बिताएका थिए । २०४२ सालको नेपाली कांग्रेसको सत्याग्रह तथा २०४६ सालको जनआन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

 नूरप्रताप जंगबहादुर राणा
 वरिष्ठ उद्यमी एवं बैंकर नूरप्रताप जंगबहादुर राणाको ७६ वर्षको उमेरमा निधन भयो । फोक्सोको समस्याबाट पीडित राणाको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित फोर्टिस अस्पतालमा ११ चैतमा निधन भएको थियो । राणा चर्चित गोल्ड स्टार जुत्ता तथा हात्तीछाप चप्पल कम्पनीका मालिकका साथै कुमारी बैंकका पूर्वअध्यक्षसमेत थिए ।

 . डा. माधवप्रसाद शर्मा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. माधवप्रसाद शर्माको ७५ वर्षको उमेरमा निमोनियाँका कारण माघ २७ मा निधन भयो । वि.सं. १९९८ मा धनकुटाको लेगुवामा जन्मिएका शर्मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध बुद्धिजीवी परिषद््को सल्लाहकार तथा पूर्वसभापति थिए ।

 सोहन चौधरी
 नेकपा एमालेका पूर्वसांसद तथा पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार सोहन चौधरीको ६९ वर्षको उमेरमा माघ २७ गते निधन भयो । चौधरी २०४८ र २०५१ को निर्वाचनमा दुई पटक सांसद निर्वाचित भएका थिए । २०१७ सालदेखि राजनीति सुरु गरेका चौधरीले चीनबाट इन्जिनियरिङ गरेका थिए । उनी मधुमेहबाट ग्रसित थिए /

 शक्ति लम्साल
 पत्रकार एवं नेपाली साहित्यमा प्रगतिशील धारका लेखक शक्ति लम्सालको ७९ वर्षको उमेरमा स्नायु रोगका कारण कात्तिक २४ गते निधन भयो । उनी लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा संलग्न थिए ।

 रत्नबहादुर खड्गी
 संगीतकार रत्नबहादुर खड््गीको ७९ वर्षको उमेरमा माघ ७ मा निधन भयो । २०१० सालमा रेडियो नेपालमा गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका खड््गीले पुराना तथा नयाँ गरी ७ सय गीतमा संगीत भरेका छन् । कीर्तिपुरमा जन्मिएका खड््गीका ‘एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आइदिन्छ’, कर्मको रेखा नमेट्दो रै’छ,’ ‘सिरानीले बिझायो कि ?’ जस्ता दर्जनौं गीत लोकप्रिय छन् ।

 पदमसिंह विश्वकर्मा
 दलित आन्दोलनका संस्थापक नेता तथा दलित आयोगका प्रथम अध्यक्ष पदमसिंह विश्वकर्माको ८२ वर्षको उमेरमा चैत ६ गते निधन भयो । २००६ सालमा नेपाली कांग्रेसको साधारण सदस्यता लिएर निरन्तर राजनीतिक आन्दोलनमा होमिएका विश्वकर्मा बागलुङको लमगाउँमा विक्रम संवत् १९९० मा जन्मिएका थिए ।
चन्द्रबहादुर डाँगी
२०६८ फागुन १४ गतेको मितिमा गिनिज बुक अफ वल्र्ड रेकर्ड््समा विश्वकै होचा व्यक्तिका रूपमा दर्ता भएका नेपालका चन्द्रबहादुर डाँगीको भदौ १८ गते निधन भयो । वि.सं. १९९६ साल मंसीर १५ गते सल्यानको कालीमाटी रामपुरमा जन्मिएका डाँगीको तौल १४ दशमलव ५ किलोग्राम र उचाइ १ फिट साढे ९ इन्च थियो । 


वसन्तजंग रायमाझी
 नेपाली चलचित्रका नृत्य–निर्देशक वसन्तजंग रायमाझीको ८१ वर्षको उमेरमा माघ २० गते निधन भयो । उनले २ सयभन्दा बढी नेपाली चलचित्रमा नृत्य निर्देशन गरेका थिए ।

 शिव केसी
गायक एवं संगीतकार शिव केसीको ७० वर्षको उमेरमा फागुन २८ गते निधन भयो । २००२ सालमा काठमाडौंमा जन्मिएका केसीले २०२६ सालदेखि गीत गाउन थालेका थिए । उनले लोक र आधुनिक गरी झन्डै १ सय गीतमा स्वर दिएका छन्् ।

 गोपालप्रसाद कोइराला
 नेकपा एमालेका नेता पूर्वसांसद गोपालप्रसाद कोइरालाको ८४ वर्षको उमेरमा जेठ २३ गते निधन भयो । कोइराला झापा क्षेत्र नम्बर ६ बाट २०५६ को उपनिर्वाचनमा निर्वाचित भएका थिए ।

 लालकुमारी पोखरेल
 पद्मकन्या क्याम्पसकी स्ववियु सभापति लालकुमारी पोखरेल (स्वस्तिका) को ३७ वर्षको उमेरमा निधन भयो । पोखरेल २०६५ को स्ववियु निर्वाचनबाट सभापतिमा निर्वाचित भएकी थिइन् ।

 दिनेश भण्डारी
 यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारीको फागुन ३ गते ६१ वर्षको उमेरमा निधन भयो । मुटुरोगले ग्रसित भण्डारी २०७१ भदौमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष निर्वाचित भएका थिए ।

 राजेश्वर देवकोटा
 राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राजेश्वर देवकोटाको ८६ वर्षको उमेरमा साउन २५ गते निधन भयो । नेपाली साहित्यमा समेत स्थापित देवकोटाको जन्म गोरखाको आँपपीपल गांविस १९८६ असोज २३ गते भएको थियो ।

 स्वामी प्रपनाचार्य
 वि.स. १९८० सालमा पाँचथरको बरडाँडामा जन्मिएका संस्कृत भाषाका विद्वान्् स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा भदौ ३ गते निधन भयो । वास्तविक नाम काले राई रहेका आचार्यले ३० वर्षको उमेरमा अक्षरारम्भ गरेर ‘वेदान्त नयाँ भूषण’ शीर्षकमा विद्यावारिधि हासिल गरेका थिए । उनले वेदका साथै संस्कृतको गहन अध्ययन गरेका थिए ।

 चन्द्रबहादुर गुरुङ
 राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री चन्द्रबहादुर गुरुङको क्यान्सरका कारण ६० वर्षको उमेरमा असोज १६ गते निधन भयो ।

 गणेशराज शर्मा
 वरिष्ठ अधिवक्ता तथा संविधानविद्् गणेशराज शर्माको ७९ वर्षको उमेरमा कात्तिक १० गते निधन भयो । बाराको रामपुरमा १९९३ सालमा जन्मिएका शर्मा काठमाडांैको धोविधारामा बसोबास गर्दै आएका थिए । 

बनबारीलाल मित्तल
 उद्योगी तथा व्यापारी बनबारीलाल मित्तलको ७९ वर्षको उमेरमा मंसीर ९ गते निधन भयो । हेलिकप्टर कम्पनी श्री एयरलाइन्सका मालिक मित्तल विभिन्न उद्योगधन्दा एवं संघसंस्थामा संलग्न थिए । 

लुनकरणदास चौधरी
चौधरी समूहका संस्थापक लुनकरणदास चौधरीको ९३ वर्षको उमेरमा माघ २१ गते निधन भयो । काठमाडौंको इन्द्रचोकमा विसं १९७९ मा जन्मिएका चौधरी लामो समयदेखि मधुमेह तथा मुटुको समस्याबाट पीडित थिए । 

लक्ष्मणप्रसाद सिंह
गणतन्त्रवादी नेता लक्ष्मणप्रसाद सिंहको ७६ वर्षको उमेरमा चैत २० गते निधन भयो । रामराजाप्रसाद सिंहले गठन गरेको जनवादी मोर्चा, नेपालका पूर्वमहासचिव सिंहको भारतको जमसेदपुरमा निधन भएको थियो । 

धनबहादुर गोले
 राणाकालीन समयमा गाडी बोकेर राजधानी भित्र्याउनेमध्येका एक भरिया मकवानपुर चित्लाङका धनबहादुर गोलेको ९२ औं वर्षको उमेरमा निधन भयो । ‘गाडी बोक्ने बूढा’ का रूपमा परिचित गोलेको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।

 डा. भोलानाथ चालिसे
 वरिष्ठ अर्थशास्त्री डा. भोलानाथ चालिसेको ६४ वर्षको उमेरमा वैशाख १ गते निधन भयो । नेपाल सरकारका पूर्वसचिवसमेत रहेका चालिसेले भियना युनिभसिटी अस्ट्रियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए । २३ वर्ष सरकारी सेवामा बिताएका चालिसेले योजना आयोगको सदस्य भएपछि २०५५ सालमा सरकारी सेवाबाट अवकाश लिएका थिए ।

 महेन्द्रबहादुर अमात्य
 नेपाल फर्मास्युटिकल ल्याबरेटोरी (एनपिएल) का संस्थापक तथा औषधी व्यवसायी महेन्द्रबहादुर अमात्य ६५ वर्षको उमेरमा माघ १९ निधन भयो । नेपाली औषधि उद्योगको विकासमा अमात्यको योगदान अतुलनीय मानिन्छ ।

0 comments

Write Down Your Responses