कोटा ६० प्रतिशत घट्यो, फारम भर्ने १८ प्रतिशत बढे

कोरिया जान ६० हजार ६ सय ७८ जनाले आवेदन फारम भरका छन्। फारम बुझाउने समय शनिबार सकिएको छ। बुधबारदेखि आवेदन खुला गरिएको थियो। गत वर्षभन्दा यसपटक झन्डै १० हजार बढीले आवेदन फारम भरेका हुन्। प्रतिशतमा हिसाब गर्दा यसपटक फारम भर्ने गत वर्षभन्दा १८ प्रतिशतले बढेका छन् तर कोटा भने ६० प्रतिशतले घटेको छ। सबैभन्दा धेरै धरान केन्द्रबाट १२ हजार दुई सय ७६ जनाले फारम भरेका छन्। सबैभन्दा कम जनकपुरमा दुई सय १९ जनाले मात्र फारम बुझाएका ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। उपत्यकामा ३१ हजार चार सय ८८ जना र उपत्यकाबाहिर २९ हजार एक सय ९० जनाले फारम भरेको देखिन्छ।कोटा घटेका बेला आवेदन संख्या थप बढ्नुले यसपटक भाषा परीक्षा निकै प्रतिस्पर्धा हुने देखिएको छ। पछिल्ला वर्ष ईपीएस परीक्षार्थीबीच निकै ठूलो प्रतिस्पर्धा हुने गरेको छ। उच्चशिक्षा हासिल गरेका प्रतिभाशाली युवाको पनि कोरियातिर मोह बढेकाले प्रतिस्पर्धा चुलिएको हो। प्रतिशतमा हिसाब गर्दा यसपटक फारम भर्ने गत वर्षभन्दा १८ प्रतिशतले बढेका छन् तर कोटा भने ६० प्रतिशतले घटेको छ। कोरियाले गत वर्ष आठ हजार पाँच सय जनालाई भाषा परीक्षामा पास गरेको थियो। जबकी गत वर्ष जम्मा ५१ हजार जनाले फारम भरेका थिए। आगामी वर्ष जम्मा ३१ सय जना कामदार लैजाने जानकारी कोरियाले दिइरहँदा आकांक्षीको संख्या भने ह्वात्तै बढेको हो। ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले ६० हजार ६ सय ७८ जनाले आवेदन फारम भरेको जानकारी दिए। ‘कोटा घटेको छ। परीक्षा निकै प्रतिस्प्रधात्मक हुने भयो’, उनले भने। आवेदक धेरै हुनुले ईपीएसको पारदर्शी कामको पनि पुष्टि गर्ने उनले बताए। ईपीएस कोरिया शाखाले उपत्यकाबाहिर पाँच र उपत्यकामा पाँच स्थानबाट आवेदन फारम भर्न सकिने व्यवस्था मिलाएको थियो। उपत्यकाबाहिर डँडेलधुरा, पोखरा, बुटवल, धरान तथा जनकपुरबाट आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। यसैगरी, उपत्यकामा कीर्तिपुरको ल्याबरेटरी स्कुल, भ्याली स्कुल महाराजगन्ज, बेदविद्या श्रम बनकाली, महेन्द्र विद्या श्रम सातदोबाटो र च्यासल खेलमैदान बालकुमारीमा आवेदन फारम बुझाउने व्यवस्था मिलाइएको हो। यसपटक आवेदनमा एमआरपी अनिवार्य गरिएको छ। विगतमा भन्दा यसपटक आवेदन फारम भर्दा व्यवस्थापन प्रभावकारी देखिएको छ। विगतमा भएका त्रुटि दोहोरिन नदिन पूर्वतयारी गरिएकाले सहजपूर्ण ढंगले आवेदन संकलन गर्ने काम सम्पन्न भएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। कोरिया रोजगारीको आकर्षक गन्तव्य हो। नेपाल सन् २००८ देखि त्यहाँ प्रशिक्षार्थी कामदार लैजान थालेको हो। जाने बित्तिकै नेपाली कामदारले मासिक न्यूनतम एक लाख १२ हजार हाराहारीमा कमाउन सक्छन्। अनुभवी भएपछि कमाई अझ बढ्छ। अतिरिक्त समय काम गर्नेले मासिक साँढे दुई लाखदेखि तीन लाखसम्म पनि कमाउने गरेको त्यहाँ काम गरिरहेकाहरू सुनाउँछन्। हाल कोरियामा ३० हजार नेपालीले काम गरिरहेका छन्। उद्योग र कृषि क्षेत्रमा नेपालीले काम पाएका छन्। कोरियामा म्यानपावर कम्पनीले कामदार पठाउन पाउँदैनन्। दुवै देशका सरकारीस्तरमा (जी टु जी) मात्र कामदार आदानप्रदान गर्ने व्यवस्था छ।

0 comments

Write Down Your Responses