ला लिगाको उपाधिमा तीन क्लबको कडा प्रतिस्पर्धा

कसले हत्याउला यो पटकको उपाधि काठमाडौंः स्पेनिस ला लिगाको उपाधि जित्ने दाउमा रहेका तीन ठूला क्लबले गएरातिका खेलमा जित निकालेका छन् । गएरातिका खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले रियल बेटिसलाई पराजित गर्दा एट्लेटिको मड्रिडले रोयो भालेकानोलाई हरायो । उपाधि होडको तेस्रो नम्बरमा रहेको रियल मड्रिडले पनि रियल सोसिडसँग कठिन जित निकाल्यो । उपाधि होडको अग्रस्थानमा रहेको बार्सिलोनाले लुईस स्वारेज र इभान राकिटेकको गोलमा बेटिसलाई २–० ले पराजित गर्यो । अर्को खेलमा एट्लेटिको मड्रिडले एन्टेनियो ग्रिजमनको एकमात्र गोलमा भालेकानोलाई पराजित गर्दै बार्सिलोनासँग अंक बराबरी ग¥यो । उपाधि होडमा एक अंकले पछि रहेको रियल मड्रिडले खेलको अन्त्यतिर ग्यारेथ बेलले गरेको एकमात्र गोलमा सोसिडलाई पराजित गर्न सफल भयो । ला लिगामा दुई खेल बाँकी रहँदा तीनै क्लबको उपाधि जित्ने सम्भावना उत्तिकै छ । बार्सिलोना र एट्लेटिकोले दुई खेलमा एक खेल गुमाए या बराबरी गरेको खण्डमा रियलले बाँकी दुई खेलमा जित निकाल्यो भने उसले उपाधि लैजानेछ । तर बार्सिलोनाले बाँकी दुई खेलमै जित निकाल्यो भने उपाधि उसैले उचाल्ने छ । अंक समान भएपनि गोलअन्तरका आधार अगाडि रहेकाले बार्सिलोनासँगै एट्लेटिकोले पनि उपाधि जित्ने आशा कायम राख्न बाँकी दुई खेल जित्नै पर्ने दबाब छ । गएरातिका ३६ औं चरणका खेलपछि बार्सिलोना ३६ खेलबाट ८५ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट समान अंक भएपनि एट्लेटिको लिगको दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल मड्रिडको भने ३६ खेलबाट ८४ अंक रहेको छ । उपाधि होडमा रहेका यी तीनै क्लबले अब दुई खेल खेल्न बाँकी रहेको छ ।

,

0 comments

Write Down Your Responses