साढे पाँच लाख परिवारमध्ये जम्मा ६ हजारले ५० हजार पाए

काठमाडौं–बर्खाअघि नै भूकम्पपीडितको बसोबासको व्यवस्था गर्ने सरकारको घोषणा अलपत्र छ । हजारौँ पीडित अहिले पनि मुसलधारे पानीमा पालमुनि नै ओत लाग्न बाध्य छन्  सरकारले चैत मसान्तसम्ममा पीडितको लगत संकलन गरिसक्ने, १२ वैशाखबाट अनुदान सम्झौता तीव्र पार्ने र जेठभित्र भूकम्पपीडितको घर निर्माण गरिसक्ने घोषणा गरेको थियो । तर, पीडितले घर निर्माणका लागि सरकारबाट पाउने दुई लाख रुपैयाँसमेत पाएका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार १२ असारसम्ममा पाँच हजार आठ सय ४१ पीडित परिवारले मात्रै अनुदानबापतको ५० हजार पाएका छन् । हालसम्म २४ करोड ५९ लाख ५० अनुदान रकम बाँडिएको छ । दोलखा लापिलाङ–७ का बिनकुमार थामीले यो बर्खा पनि पालमुनि नै बिताउनुपर्ने अवस्था आएको बताए । ‘अनुदान दिने भनेको रकम पाइएको छैन, बर्खा लागिसक्यो, दैनिक झरीले रुज्नुपर्ने अवस्था छ,’ उनले भने । पुनर्निर्माण प्राधिकरणले १२ असारसम्म प्रभावित ११ जिल्लाका एक लाख ५१ हजार एक सय ६४ घरधनीसँग मात्रै अनुदान सम्झौता गरेको छ । पाँच लाख ३३ हजार चार सय ५४ परिवार अनुदान सम्झौताका लागि योग्य रहेको ठहर पुनर्निर्माण प्राधिकरणले गरेको छ । अझै तीन लाख ८२ हजार दुई सय ९० पीडित परिवारसँग अनुदान सम्झौता हुन बाँकी छ । आजको नयाँ पत्रिका दैनिकमा

0 comments

Write Down Your Responses