सूर्यविनायक-धुलिखेल सडक खण्ड चार लेनको बन्दै
बनेपा वर्दिबास सडक योजनाका प्रमुख भरतकाजी देउजुका अनुसार तिनकुनेदेखि सूर्यविनायसम्म जुन डिजाइनमा सडक निर्माण भएको छ सोहीअनुरुप सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकखण्ड पनि चार लेनको हुनेछ। सडक जापान सरकारले निर्माण गर्न लागेको हो। भक्तपुर सूर्यविनायकदेखि धुलिखेलसम्मको करिब १० किलोमिटर सडकखण्ड अबको दुई वर्षभित्र चार लेनको बन्ने भएको छ। बनेपा बर्दिबास सडक योजनाका प्रमुख भरतकाजी देउजुका अनुसार तिनकुनेदेखि सूर्यविनायकसम्म जुन डिजाइनमा सडक निर्माण भएको छ सोहीअनुरुप सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकखण्ड पनि चार लेनको हुनेछ। सडक जापान सरकारले निर्माण गर्न लागेको हो। नयाँ बन्ने सडकको डिजाइन नेपाल सरकारलाई प्राप्त भइसकेको छैन। नेपाल सरकारलाई डिजाइन प्राप्त नभए पनि कन्सल्ट्यान्टले डिजाइन तयार पारिसकेको र अबको केही समयमै आफूहरुलाई प्राप्त हुने देउजुले सेतोपाटीसँग बताए। प्रायः ठाउँमा तीनकुने सूर्यविनायक सडकखण्डकै डिजाइनमा सडक निर्माण हुने भए पनि साँगा चोक लगायत केही मोडमा भने डिजाइन परिवर्तन हुनसक्ने उनले बताए। अहिले नै जापान सरकारले ‘ग्राण्ट’ रकममा बनाउने कि ऋणमा बनाउने भने विषयमा निर्णय समेत हुन नसकेको देउजुले बताए। यद्यपी ग्राण्ट रकममा सडक निर्माण गर्न जापानसँग अाग्रह गर्ने तयारी भएको उनले बताए। करिब ११ अर्ब रुपैयाँ लागतमा बनाउन सकिने अनुमान भएपनि सडक निर्माणको डिजाइन गर्ने कन्सल्ट्यान्टले १४ अर्ब रुपैयाँ लाग्ने गरी डिजाइन बनाउँदा निर्माणको विषयमा टुङगो नलागेको उनले बताए। ‘जसरी बनाए पनि नेपाल र जापानबीच सेप्टेम्बरमा हुन लागेको ६० वर्षे दौत्य सम्बन्धको कार्यक्रम हुँदैछ’ उनले भने, ‘यही अवसरमा यो विषयमा पनि नेपाल र जापान सरकारको निर्माण कम्पनीबीच सम्झौता हुन सक्छ।’ सम्झौता भएको दुईवर्ष भित्रमा यो सडक खण्ड पनि ४ लेनको बनिसक्ने उनले बताए। यो सँगसँगै थानकोट नागढुङ्गा सुरुङ मार्गको समेत निर्माण सम्झौता हुने देउजुले बताए। उनका अनुसार भूकम्पले क्षति पुर्याएको तीनकुने सूर्यविनायक सडक खण्डको पनि स्थाई रुपमा मर्मत गर्ने तयारी भएको छ। ‘हुन त भूकम्पले क्षति पुर्याएको यो सडकखण्ड एक दिन पनि अवरोध आउन नदिई अस्थाई रुपमा मर्मत गरेका छौं’, उनले भने, ‘अब फेरि स्थाईरुपमा नै मर्मत गर्न तयारी भएको छ।’ अहिले पनि आफूहरुले सडकको पेटी निर्माण तथा विद्युत पोलको व्यवस्थापन गर्दै आएको उनको भनाई छ। उनका अनुसार हाल सडकको दायाँ बायाँ रहेका रेलिङ तथा पुलहरुमा रङ रोगन तथा मर्मत भइरहेको छ। सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि मुआब्जास्वरुप विनियोजन भएको १ अर्ब रुपैयाँ आफूहरुले सरकारलाई बुझाइसकेको उनले बताए। अहिले वितरण हुन नसकेको मुआब्जा सडक निर्माणको टुङ्गो लाग्नासाथ वितरण सुरु हुने उनले बताए। सडक बन्ने कुराले स्थानीय खुसी भएको भन्दै उनले पैदल यात्रुलाई सहजता दिलाउन आकाशे पुल पनि निर्माण हुने बताए। देउजुका अनुसार सडकको सुन्दरताका लागि सडकको बीचमा बगैंचा सहितको रुख तथा फूलहरु रहनेछ। सडक अहिलेजस्तै सबै ठाउँबाट मोड लिन नपाईने गरी निर्माण हुने उनले बताए। यो सडकखण्ड ४ लेनको भएसँगै कोटेश्वर, धुलिखेल, नेपालथोक, खुर्कोट र बर्दिबाससम्मको सडक सुन्दर बन्ने उनले दाबी गरे।


0 comments
Write Down Your Responses