गर्भनिरोधक ७२ घण्टे चक्की : जसले निम्त्याउँदै छ गम्भीर खतरा

के हो आकस्मिक गर्भनिरोधक औषधि ?


विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले आकस्मिक गर्भनिरोधक औषधिका रूपमा लिभोनोरजेस्ट्रेल र युलिप्रिस्टललाई मान्यता दिएको छ । यो हर्मोनयुक्त खाने चक्की हो । यो चक्की असुरक्षित यौन सम्बन्धको पाँच दिन अर्थात् एक सय २० घन्टाभित्र लिभोनोरजेस्ट्रेल भए १ दशमलव ५ मिलिग्रामको एक मात्रा बराबर र युलिप्रिस्टल भए ३० मिलिग्राम लिनुपर्ने डब्लुएचओले बताएको छ ।
लिभोनोरजेस्ट्रेल भए यसलाई ० दशमलव ७५ मिलिग्रामको दुई चक्की १२ घण्टाको फरकमा पनि खान सकिने डब्लुएचओले बताएको छ । आकस्मिक गर्भनिरोधक चक्की उपयोग गर्दा शतप्रतिशत गर्भ रोक्ने ग्यारेन्टी भने हुँदैन । डब्लुएचओले बताएअनुसार यस्ता इसीपीको प्रभावकारिता ५२ देखि ९६ प्रतिशतसम्म मात्रै हो । असुरक्षित यौन सम्पर्कपछि जति छिटो यस औषधि प्रयोग गर्यो, यसको प्रभावकारिता त्यति नै बढी हुने बताइएको छ । मुख्यतः ७२ घण्टासम्म यसले राम्रोसँग काम गर्ने तर त्यसपछि यसै भन्न नसकिने विश्व स्वास्थ्य संगठनले बताएको छ ।

 कसरी काम गर्छ औषधिले ? 

 आकस्मिक गर्भनिरोधक चक्कीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक एउटा हर्मोन हुन्छ, जसले गर्भ बस्न दिँदैन । गर्भ बस्न आवश्यक हर्मोनलाई यसले नष्ट गरिदिन्छ र गर्भ बस्न दिँदैन । यो हर्मोनले पुरुष हर्मोन र महिला हर्मोनको बीचमा द्वन्द्व गरेर गर्भ बस्न दिँदैन, जसकारण अनिच्छामा गर्भ बस्न सक्दैन भन्ने मान्यता हो । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्ने, यदि डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भ्रुण बन्न नदिने र यदि भ्रुणसमेत बनिसकेको छ भने पाठेघरमा टाँसिन दिँदैन । सेचन भइसकेको भए पनि भु्रण बन्न ७२ घण्टा लाग्ने भएकाले यसलाई ७२ घण्टे चक्की पनि भनिएको हो ।

 के यो सुरक्षित छ ?

 आकस्मिक गर्भनिरोधक चक्की स्वास्थ्यका दृष्टिकोणले सुरक्षित भन्न सकिने अवस्था छैन । आकस्मिक घटनामा एक÷दुईपटक प्रयोग गर्नाले यसले खासै फरक पार्दैन । तर यसलाई अन्य पिल्ससरह नियमित प्रयोग गर्ने गरियो भने यसलाई गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने बताउँछन् प्रसूतिगृहका निर्देशक तथा वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतम । त्यतिमात्रै होइन, यो पिल्स गर्भ रोक्नमा शतप्रतिशत सक्षम छैन । कतिपय अवस्थामा यो औषधि प्रयोग गरे पनि गर्भ रहन सक्छ ।

 यस्ता हुन्छन् ६ असर

 १. हर्मोनमा गडबडी महिलाले प्रयोग गर्ने यस्ता औषधिमा शरीरमा हुनेभन्दा फरक हर्मोन हुन्छ । यो हर्मोनले अर्को हर्मोनसँग संघर्ष गरेर गर्भ बस्न दिँदैन । तर, यस्तो औषधि प्रयोगपछि यस्ता हर्मोन पनि महिलाको शरीरमा रहन सक्छ । जसकारण शरीरमा अनावश्यक हर्मोन प्रवेश भई विभिन्न शारीरिक समस्या ल्याउन सक्छ ।

 २. पाठेघरको नली फुट्ने खतरा यस्ता चक्की प्रयोगले पाठेघरको नलीसमेत फुटाउन सक्ने प्रसूति गृह निर्देशक डा. जागेश्वर गौतम बताउँछन् । महिलाको पाठेघर अत्यन्तै संवेदनशील अंग भएकाले यस्ता औषधि प्रयोगले नलीमा विकास भएको वा हुन लागेको भ्रुणलाई असर गर्छ । जसकारण पाठेघरको नली फुट्न सक्ने खतरासमेत हुने उनको भनाइ छ ।

 ३. अत्यधिक रक्तश्रावको खतरा आकस्मिक गर्भनिरोधक चक्की सेवनले धेरै रक्तश्राव हुने खतरा रहेको निर्देशक गौतम बताउँछन् । भ्रुण बनिसकेको भए यस्ता चक्कीले त्यो भ्रुण तुहाउँछ । यस्तो अवस्थामा यस्ता औषधि लिने महिलालाई अत्यधिक रक्तश्राव हुने उनको भनाइ छ । 

 ४. बाँझोपनको खतरा आकस्मिक गर्भनिरोधक चक्की अत्यधिक प्रयोग गर्नाले महिलामा बाँझोपन समस्या आउन सक्ने चेतावानी दिन्छन् डाक्टर गौतम । यी औषधि लगातार प्रयोग गर्नाले प्रोजेस्टेरोन हर्मोन उत्पादन नै बन्द हुन सक्ने खतरा छ । जसकारण पछि गर्भ नै नबस्ने । औषधि प्रयोगले यौनरोग सर्नबाट रोक्न सक्दैन । जसकारण एचआइभी एड्सजस्ता भयानक रोगको खतरा दिनानुदिन बढ्दै गएको छ ।

 ६. महिनावारी गडबड यो औषधिमा हर्मोन हुने र महिलाको शरीरमा हुने हर्मोनसँग द्वन्द्व हुने भएकाले यसले महिलाको मासिक चक्रमा असर गर्न सक्छ । कतिपयलाई यो औषधि प्रयोग गरेलगत्तै रक्तश्राव पनि हुन सक्छ । जसकारण महिनावारीमा गडबडी ल्याउने काम गर्छ । यस्ता औषधिका कारण कहिले समयभन्दा अगाडि र कहिले महिना पुगेको लामो समयपछि मात्रै महिनावारी हुने गरेको डाक्टर गौतम बताउँछन् ।

 के–के नाममा छन्

– यस्ता औषधि ? औषधिको जेनेरिक नेम लिभोनोरजेस्ट्रेल र युलिप्रिस्टल नै भए पनि नेपाली बजारमा विभिन्न नाममा यस्ता औषधि प्रयोग र बिक्री भइरहेको छ । नेपाली बजारमा अनवान्टेड ७२, आइपिल, इ–७२ म्याक्स, इकोन, ओके, एमटीपी प्रिग्नो, एमटी पिल्स आदि नाममा यसको बिक्री र प्रयोग भइरहेको छ । आकस्मिक गर्भनिरोधक औषधि आकस्मिक अवस्थाका लागि मात्रै हो । अनिच्छामा गर्भ बसेर पछि गर्भपतन गराउनुभन्दा यसको प्रयोग उत्तम हो भन्न सकिन्छ । 

तर, यसलाई अन्य पिल्ससरह नियमित सेवन गर्नु वा अत्यधिक प्रयोग गर्नु राम्रो हुँदै होइन । बरु जनचेतना बढाएर कन्डमको प्रयोगलाई बढाउनुपर्छ । चाउचाउ वा चक्लेट किनेर खाएझैं प्रयोग गर्दा यसले भविष्यमा गम्भीर स्वास्थ्य समस्या ल्याउने निश्चित छ ।

,

0 comments

Write Down Your Responses