अनमोल भन्छन् म 'पर्फेक्ट एक्टर' होइन :

अनमोल पछिल्लो समयका फिल्मपिच्छे उदाइरहेका स्टार हुन। स्टार पावर भएको कमजोर एक्टर भनेर उनको आलोचना हुने गरेको छ। अनमोल आफै पनि आफूलाई 'पर्फेक्ट एक्टर' मान्दैनन्। एक्टरका रूपमा आफूमा अझै सुधार आवश्यक रहेको उनी स्वयम सहमत छन्। 'होस्टेल', 'जेरी' तथा 'ड्रिम्स'बाट वक्स अफिसमा ह्याट्रिक गरिसकेका अनमोल आफ्नो चौथो फिल्म 'गाजलु'लाई लिएर निक्कै उत्साहित छन्। उनको कुराकानीमा 'गाजलु'मा आफू केहि परिपक्व भएको बताए। शुक्रबार फिल्म रिलिज भइसकेको छ। फिल्म रिलिजको पूर्वसन्ध्यामा आफ्नो स्टारडम, करियर र भविष्यको बारेमा अनमोल यसरी खुले:


 अनमोललाई मासलाई तान्ने नयाँ स्टारको रूपमा हेर्न थालिएको छ। त्यसलाई अनमोलले कसरी हेरिरहेको छ?

एउटा ठूलो चुनौतीका रूपमा हेरेको छु। भर्खर काम गर्न सुरू गरेको छु, अझ धेरै गर्न र देखाउन बाँकी छ।


सुरूमा आउँदा सुपरस्टार भुवनको छोराको 'ट्याग' बोकेर फिल्ममा प्रवेश भयो। कतिजनाको सन्दर्भमा बाबुहरूको नामले 'ओभरस्याडो' गरिरहेको हुन्छ जसलाई अनमोलले चिर्ने काम गरेको छ। त्यसलाई कसरी विश्लेषण गर्ने गर्‍या छ?

 ड्याडको नामको 'ओभर स्याडो'लाई चिरेर भन्दा पनि उहाँको नामलाई लिएर अघि बढिरहेको छु भन्ने लाग्छ। अघिल्लो पुस्ताको फिल्मको एउटा 'आइकन'लाई यसरी मेरो जेनेरेसनमा चिनाउनु भनेको नेपाली फिल्मको इतिहासलाई पनि अगाडी ल्याउनु हो। ड्याडको नामलाई अगाडी ल्याउनेसँगै पूरै नेपाली फिल्म क्षेत्रलाई अगाडी ल्याउन पाएँ। त्यस्तै यति कम समयमा यो स्थान बनाउन सकेकोमा खुशी छ र साथै चुनौती पनि छ।

सानो भएपनि 'साथी म तिम्रो'बाट अभिनय सुरू गर्नुभयो। त्यो बेला पहिलो पल्ट क्यामरा फेस गर्दा कस्तो लागिरहेको थियो?

 म 'नर्भस'चाँहि थिइन। पहिलादेखि आत्मविश्वाचाँहि थियो। स्कूलमा हाम्रो एउटा व्याण्ड थियो, त्यसमा म गिटार बजाउँथे र स्टेज पर्फमेन्स दिइरहेको हुन्थे। 'साथी म तिम्रो' गर्दाचाँहि मलाई एक हिसाबले लजाउने, क्यामरा अगाडी आत्तिने कुरा याद छैन्। युनिटमा सबैजना चिनेको मान्छेहरू भएर होला।


फिल्मबाट अब म नयाँ बाटोमा हिड्दै छु भन्ने सोच आउँदा कस्तो लागेको थियो?

 त्यतिबेला म फिल्ममा आउँछु भन्ने सोचेकै थिइन। 'साथी म तिम्रो' मैले ड्याड-ममको लागि मात्र गरेको थिएँ। अब यो नै मेरो करियर हुन्छ वा बनाउँछु भन्ने थिएन। 'होस्टल' गर्दाचाँहि मैले पहिलोपल्ट यो मेरो करियर हो र बनाउँछु भनेर गरे। किन गरे? भन्दा म आफै पनि १० वर्ष होस्टल बसेको जून मेरो जीवनसँग मिल्दोजुल्दो थियो। मलाई यो फिल्म गर्नपर्छ भन्ने भयो र गरे। 'होस्टल'का लागि दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएपछि यसमै करियर अगाडी बढाउनुपर्छ भन्ने सोच ममा आयो।

 त्यो भन्दा अगाडी के गर्छु भनेर सोचिन्थ्यो?

त्यो भन्दा अगाडी म लक्ष्यविहिन थिएँ। मैले के बन्ने हो भनेर आफूलाई 'डिस्कभर' गरेकै थिइन। त्यतिबेला १७-१८ को थिएँ, कलेज गइरहेको थिएँ तर के हुन्छु, बन्छु भन्नेमा मैले सोचेको थिइन। मलाई संगीतमा विशेष रूचि थियो। रूचि भनेर आफूलाई गायकको रूपमा सोचेको थिइन, त्यो एउटा रूचिको विषयमात्र थियो।

 फिल्मको यात्रा सुरू भइसकेको छ। शो बिजनेस भएकाले एउटा बिन्दुबाट कलाकारको समिक्षा हुन थाल्छ। 'गाजलु' रिलिज हुँदैछ, कस्ता प्रतिक्रियाहरू आउलान जस्तो लाग्छ?

 फिल्म गर्ने भएपछि मलाई स्क्रिप्टको बेलादेखि नै त्यसलाई लिएर एउटा 'कन्फिडेन्ट' आउँछ कारण म आफू विश्वस्त भएपछि मात्र फिल्म साइन गर्छु, छैन् भने गर्दिन। तर एकचोटी लिइसकेपछि मलाई मेरो 'लक' र 'अडियन्स'ले फेभर हुन्छ भन्ने लाग्छ। फिल्ममा आएको ३ वर्ष भइसकेको छ, मबाट उहाँहरूले के चाहनुहुन्छ त्यो मैले राम्ररी बुझिसकेको छु।

आफ्नो फ्यान फलोइङ्लाई देख्दा मनमा के आउँछ?

 यो मलाई एउटा आर्शिवाद जस्तो लाग्छ। सबैको माया पाउनु भनेको धनले किन्न नसक्ने चिज हो। एउटा राम्रो जुनी लिएर आएको रहेछु। पहिला केहि राम्रै गरेको रहेछु भन्ने लाग्छ।

आलोचकहरूले तपाईको अभिनय र शारिरिक हाउभाउ नमिलेको भनेर आलोचना गर्ने गर्छन। आफूलाईचाँहि के लाग्छ? हो जस्तो लाग्छ? अरूको प्रतिक्रिया सुझाव सुनेर भन्दा पनि एउटा व्यक्तिको रूपमा सोच्दा म 'पर्फेक्ट एक्टर' होइन। म अरूको कुराबाट प्रभावित हुँदिन तर आफैले आफैलाई हेर्दा एक्टरका हिसाबमा मैले आफूलाई धेरै नै ग्रुम गर्नुपर्छ। त्यो चिजलाई आउने दिनमा सुधार्दै लैजान्छु। अनमोल एउटा 'स्टार' भइसक्यो भन्ने अहम म पाल्दिन्। म आफूलाई नयाँ नै मान्छु। मलाई फिल्म क्षेत्रमा अझै लामो समय रहिरहनु छ। त्यसकारण म आफूलाई सुधार्दै लैजाने छु।

 पछिल्ला तीन फिल्ममा अनमोललाई सबैभन्दा मनपरेको फिल्म कुन हो? कुन मनपर्छ?

 त्योचाँहि म भन्न सक्दिन। मलाई सबै उस्तै लाग्छ। जब मैले 'जेरी' गरे, मलाई 'होस्टल' पुरानो लाग्यो। जब 'ड्रिम्स' गरे, 'जेरी' पुरानो लाग्यो र अहिले 'गाजलु' आउँदाखेरि 'ड्रिम्स' पुरानो लाग्न थालिसकेको छ। त्यो समयका लागि ती फिल्म एकदम 'राइट' थिए।

'राइट' भन्दा पनि 'एक्टर'को हिसाबले चाँहि के लाग्छ भन्ने प्रश्न हो? '

एक्टरको हिसाबले हेर्ने हो भने मेरो 'ग्रोथ'चाँहि 'गाजलु'मा धेरै भएको छ।



 अनमोललाई लिन निर्माताहरूको लाइन लाग्छ तर अनमोल धेरै डिमाण्डिङ् भयो भन्ने छ?

मैले कहिले पनि मलाई यति दिनु भनेर बार्गेनिङ् गरेको छैन्। बजारमा जति पनि रेटहरूको खबर आएका छन् ती मैले नमागेको भइ उहाँहरू आफैले गर्नु भएको प्रस्ताव हो।


अनमोल एक्टर हो तर फिल्ममा भइसकेपछि अनमोल एक्टरभन्दा पनि डाइरेक्टर इन्भल्ब भएजसरी हरेक चिजमा यो यस्तो हुनुपर्छ यो यस्तो भनेर माग राख्छ, हस्तक्षेप गर्छ भन्ने आरोप छ। फिल्म त निर्देशकले बनाउने हो यसरी एक्टरले यो त्यो भन्न मिल्छ?

 त्यो हो, एकदमै सहि हो, म त्यो गर्छु तर आफ्नो लिमिटमा बसेर गर्छु। मैले जति नै ठूला मान्छेहरूसँग काम गरे पनि फिल्म फ्लप भयो भने दर्शकहरूले 'अनमोलको फिल्म फ्लप भयो भन्नुहुन्छ र हिट भयो भने पनि अनमोलको फिल्म हिट भयो भनेर भन्नुहुन्छ। त्यसै कारणले मैले नचाहेर पनि त्यो गर्नुपर्ने हुन्छ। मैले व्यक्तिका रूपमा भन्दा पनि त्यसलाई प्रोजेक्टको रूपमा सोच्छु।

 फिल्म त डाइरेक्टरको भिजन हो, त्यसमा एक्टरले 'इन्टरभेन' गर्नु ठीक हो त?

 मैले जति पनि निर्देशकसँग काम गरे उहाँहरू सबै त्यसलाई 'डन्टरभेन'को रूपमा लिने पर्नुभएन। उहाँहरू मेरो सल्लाहलाई लिने पर्नुभएको छ। त्यस्तो निर्देशक भयो भने त्यतिबेलाको दृश्य के हुन्छ भगवान जानोस्।


 किन?

 एउटा प्रोजेक्ट भएकाले सबैले सहि कुरामा कुरा बोल्नु जरूरी छ। मलाई फिल्म सबैको भएकाले त्यस्तो हुनुपर्छ भन्ने लाग्छ।

 तर निर्देशकलाई थाहा हुन्छ नि हैन उसले के गर्दै छ भनेर। निर्देशकले अनमोल एउटा स्टार हो भन्यो ठीकै भनेर सोच्यो भने त फिल्ममा कम्प्रोमाइज हुँदैन र? एक्टरका हिसाबले बढि गरे जस्तो लाग्छ?

 बढि गरेजस्तो त लाग्दैन्। म वाहियात भन्दा पनि सहि कुराको लागि फाइट गर्ने मान्छे हो।


 नेपालमा कुनै एउटा निर्देशक जससँग अनमोललाई काम गर्ने इच्छा छ?

 निश्चल बस्नेतसँग छ। उहाँको फिल्म बनाउने शैली र मैले गरि आएको फिल्महरूको शैली फरक छ। किन नयाँ चिज नगर्ने भनेर गर्न मन छ। उहाँले जसरी आफूलाई प्रस्तुत गरिरहनुभएको छ त्यो हेर्दा मलाई उहाँसँग काम गर्ने इच्छा भएको हो।

 फिल्ममा एक्टरका रूपमा कस्ता भूमिकामा आफूलाई एक्सपेरिमेन्ट गर्ने चाहाना छ?

 थुप्रै छ। मलाई ड्रग एडिक्ट, साइको अझ भन्दा आफ्नो उमेर सुहाउँदो रोलहरू गर्न मन छ। एक्टरका रूपमा जतिसक्दो 'एक्सट्रिम' रोलहरू गर्ने इच्छा छ। मलाई 'बास्केटबल डायरिज'मा लियोनार्दोको जुन रोल छ, त्यो प्रकारका रोलहरू गर्ने इच्छा छ।


 'ड्रिम्स'को रिलिज ताका अर्को एउटा फिल्म पनि सँगै रिलिज हुँदै थियो। त्यो फिल्मका निर्देशकले अनमोल एक्टरे होइन भनेर मिडियामा चर्को गरि आलोचना गरेका थिए। त्यो सुन्दा अनमोलले के सोच्यो?


 खै? कस्तो भन्ने? सबैभन्दा पहिला मैले उहाँलाई चिनेको थिएँ, अंकल मानको थिएँ। उहाँले किन त्यस्तो भन्नुभयो, म 'सक्ड' थिएँ। अरूको बारेमा बोल्न जरूरी थिएन। आफ्नो कामले प्रमाणित गरेर देखाउने हो। अरूको बारेमा नराम्रो भनेर के हुन्छ। आखिरमा नतिजा के भयो? देखिहाल्नु भयो।

,

0 comments

Write Down Your Responses