बलिउड निर्देशक शिरीष कुन्दरद्वारा नेपाली फिल्मको चोरी फिल्म 'चोरेका' बलिउड निर्देशकद्वारा नेपाली निर्देशकलाई धम्की!
नेपाली सर्ट फिल्म ‘बब’ का निर्देशक अनिल न्यौपानेलाई बलिउड फिल्म निर्देशक शिरीष कुन्दरले ‘लिखित रूपमा सार्वजनिक माफी माग्नुपर्ने’ चेतावनी दिएका छन्। बलिउडमा दुईवटा फिल्म निर्देशन गरिसकेका शिरीषमाथि २४ वर्षीय नेपाली निर्देशक अनिलको ‘बब’ चोरेर ‘कृति’ निर्माण गरेको आरोप छ। अनिलले नै सामाजिक सञ्जालमा आफ्नो फिल्म चोरिएको खुलासा गरेपछि यो घटना सार्वजनिक भएको हो। शिरीषले सोमबार अनिललाई व्यक्तिगत इमेल लेख्दै यस्तो आरोप नलगाउन धम्की दिएका छन्। युट्युब, भिमियोलगायत भिडियो वेबसाइटबाट तीन दिनभित्र ‘बब’ हटाउनुपर्ने, लिखित रूपमा माफी माग्नुपर्ने, सामाजिक सञ्जालमा कृति र शिरीषका बारेमा कुनै प्रतिक्रिया जनाउन नपाइने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको अनिलले बताए। शिरीषले पठाएको इमेल उद्धृत गर्दै अनिलले मंगलबार सेतोपाटीसँग भने, ‘हाम्रो यो फिल्म व्यावसायिक हो, तिमीहरू सिकारु हौ। यस्ता फिल्म त केही दिनमै बनाउन सकिन्छ।’ अनिलले भने ‘जसले फिल्म चोरेको हो उसैले धम्कीपूर्ण भाषा प्रयोग गरेर थर्काउन खोजेको’ बताएका छन्। युट्युब र भिमियो कतैबाट पनि आफ्नो फिल्म नहटाउने, माफी पनि नमाग्ने उनको अडान छ। ‘अहिलेको जमानामा कसले कसको फिल्म चोरेको हो भन्ने पत्ता लगाउन एक सेकेन्ड पनि लाग्दैन, मैले भिमियोमा आफ्नो फिल्म कहिले अपलोड गरेँ भन्ने कुरा मिति हेरेर भर्खरै थाहा पाउन सकिन्छ,’ अनिलले भने, ‘त्यसमा पनि शंका लागे भिमियोबाटै पुष्टि गराउन सकिन्छ।’ ‘गलत छैन भने म किन डराउँ? शिरीषजीले बोलेको कुरा कुनै कोणबाट पनि तर्कसंगत छैन। माफी माग्ने वा बबलाई युट्युबबाट हटाउने त परै जाओस्, म त उल्टै शिरीषजीविरुद्ध मुद्दा हाल्ने तयारीमा छु,’ उनले भने। छ दिनअघि हिन्दी सर्ट फिल्म ‘कृति’ युट्युबमा रिलिज भएपछि नेपाली फिल्म निर्देशक अनिलले आफ्नो फिल्म ‘बब’ बाट चोरिएको भन्दै फेसबुकमा लेखेका थिए। त्यसपछि यो खबर भारतीय सञ्चारमाध्यम हुँदै अमेरिकासम्म फैलियो। यसअघि ‘जोकर’ र ‘जानेमन’ निर्देशन गरिसकेका शिरीष कुन्दरको यो समाचारपछि सर्वत्र आलोचना सुरु भएको छ। आलोचनापछि शिरीषले फेसबुकमार्फत् बब रिलिजअघि नै कृतिको सुटिङ सुरु भएको बताएका थिए भने हालै उनले अनिलविरुद्ध उल्टै उजुरी दिएका छन्। यति मात्र होइन, अहिले आएर आफ्नो ‘स्क्रिप्ट चोरी भएको थियो’ भनी बयान पनि दिन थालेका छन्। ‘फेब्रुअरीमा मेरो स्क्रिप्ट हराएको थियो, तिमीले त्यहीँबाट चोर्यौ। अब मेरो बेइज्जत गर्न छोड,’ शिरीषले पठाएको इमेल उद्धृत गर्दै अनिलले भने। शिरीषको यो दाबी आफैंमा गलत भएको अनिल बताउँछन्। सन् २०१५ अक्टोबरमै अनिलले बबको सुटिङ सकेका थिए। त्यही वर्ष नोभेम्बर ८ मा उनले ‘भिमियो’ नामक भिडियो वेबसाइटमा आफ्नो फिल्म अपलोड गरे। झन्डै ३० जना साथीहरूलाई प्रतिक्रियाको निम्ति फिल्मको लिंक पनि पठाए। युट्युबमा भने २०१६ मे १२ मा सार्वजनिक गरिएको थियो। यो फिल्म रिलिज भएको लगभग एक महिनापछि मात्र कृति सार्वजनिक भयो। शिरिष चर्चित कोरियोग्राफर तथा निर्देशक फराह खानका पति हुन्। बलिउडमा पहिचान बनाइसकेका शिरीषको ‘कृति’ अनिल न्यौपानेको ‘बब’ सँग कथा र विषयवस्तु मात्र मिल्दैन, यसका अधिकांश दृश्य र कतिपय संवाद पनि उस्तै छन्। दुवै फिल्मको सुरुआत नै एकै किसिमबाट हुन्छ। जसरी ‘बब’ शीर्षक एउटा पात्रको नामबाट राखिएको छ, ‘कृति’ मा पनि त्यही गरिएको छ। पात्रहरूका क्रियाकलापदेखि कतिपय दृश्यमा क्यामराको एंगलसम्म एउटै छ। कृतिले क्लाइमेक्समा मात्र घटना अलिकति लम्ब्याएर छुट्टै अनुभूति गराउन खोजेको छ। विस्तृतमा पढ्नका लागि यहाँ क्लिक गर्नुहाेस्


0 comments
Write Down Your Responses