बजेटमा छुट्याएको १० अर्ब फास्ट ट्रयाककै लागि होः भौतिक पूर्वाधार सचिव

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०७३/०७४ को बजेटमा छुट्याइएको १० अर्ब रुपैयाँ काठमाडौं-निजगढ फास्ट ट्रयाककै लागि भएको बताएको छ। मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले बजेटमा व्यवस्था गरिएको १० अर्ब रुपैयाँ फास्ट ट्रयाकका लागिनै छुट्याइएको बताए। ‘रातो किताबमा समेत जग्गा अधिग्रहण, ठेक्का व्यवस्थापन लगायत कामका लागि भनरे स्पष्टसँग लेखिएको छ' सचिव कार्कीले भने। मन्त्रालयका प्रवक्ता सहसचिव देवेन्द्र कार्कीले मिडियामा सरकारले फास्ट ट्रयाकका लागि नभई बुधुने–हेटौंडा लिंक रोडका लागि रकम छुट्याएको भनेर आएका खबर तथ्यमा आधारित नभएको बताए। ‘फास्ट ट्रयाकको लागि पैसा छुट्याइएको छ, त्यसलाई कहाँ कसरी खर्च गर्ने भन्ने कार्यक्रम मन्त्रालयले तयार पारिरहेको छ' कार्कीले भने ‘मन्त्रालयले कार्यक्रम नबनाई अहिले यहाँ पैसा खर्च हुन्छ भन्नु हतार मात्र हुन्छ।' उनले मन्त्रालयले असार मसान्तसम्म के गर्न कति रकम छुट्याउने कार्यक्रम बनाएपछि मात्र १० अर्ब कहाँ कहाँ खर्च हुन्छ भन्ने टुंगो लाग्ने बताए। फास्ट ट्रयाक आयोजना प्रमुख सतिन्द्र शाक्यले आयोजनाले १० अर्ब रुपैयाँ अहिलेकै अवस्थामा पनि खर्च गर्न सक्ने बताए। अदालतमा विचाराधीन मुद्धा लगायतका कारण काम गर्न ढिलाई भए पनि लगानीकर्ताको दायित्वमा नपर्ने अन्य काम गर्न सकिने शाक्यले बताए। ‘खोकनामा बसपार्क बनाउनु छ, त्यही क्षेत्रमा मुअब्जा दिन पनि बाँकी छ' शाक्यले भने, ‘बुधुने–हेटौंडा लिंक रोडमा पनि त्यो पैसा खर्च गर्न सकिन्छ। त्यो पैसा फास्ट ट्रयाककै कामका लागि खर्च हन्छ।' आफूले मन्त्रालयलाई राय सुझाव दिन सक्ने भएपनि पैसा कसरी खर्च गर्ने भन्ने अन्तिम अधिकार मन्त्रालयलाई भएको शाक्यले बताए। यसअघि मिडियामा बजेटमा छुट्याइएको १० अर्ब रुपैयाँ फास्ट ट्रयाकमा नभई बुधुने– हेटौंडा लिंक रोड बनाउन खर्च हुने खबर आएको थियो। काठमाडौंदेखि ४८ किलोमिटरको दुरीमा आउने मकवानपुरको बुधुनेबाट हेटौंडा १८ किलोमिटर टाढा पर्छ। यो बाटोमा नेपाली सेनाले ट्रयाक खोलिसकेको छ। हेटौंडा–बुधुने सडकलाई फास्ट ट्रयाकमा जोड्न सके काठमाडौं–हेटौंडा सुरुङ मार्ग आवश्यक नहुने विज्ञहरुले बताउँदै आएका छन्।

0 comments

Write Down Your Responses