नेदरल्याण्ड्सविरुद्ध हुने क्रिकेटका लागि शुक्रबारदेखि बन्द प्रशिक्षण
आइसिसी विश्व क्रिकेट च्याम्पियन लिगको चौथो चरणमा नेदरल्याण्ड्सविरुद्ध हुने खेलको लागि नेपालले शुक्रबारदेखि बन्द प्रशिक्षण थाल्ने भएको छ। शुक्रबार सुरु हुने बन्द प्रशिक्षणका लागि बुधबार २४ खेलाडी छनोट गरिएको प्रशिक्षक जगत टमाटाले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार नामिबियाविरुद्धको टोलीमा रहेका १८ र थप ६ जना गरी २४ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। उनले भने, 'नामिबियाविरुद्ध खेल्दा टीममा रहेका सबै खेलाडीलाई क्याम्पमा समावेश गरिएको छ। त्यसबेला टीममा नरहेका थप छ जनालाई हामीले क्लोज क्याम्पमा सहभागी हुने मौका दिएका छौं।' नेदरल्याण्ड्सविरुद्ध उसकै घरेलु मैदानमा खेल्नु पर्नेभएको हुँदा यसपटक फास्ट बलरहरूलाई प्राथमिकताका साथ क्याम्पमा बोलाइएको उनले बताए। विश्व क्रिकेट लिगको चौथो चरणमा नेपालले साउन २९ र ३१ गते नेदरल्याण्ड्सकै घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। नेदरल्याण्ड्स समूहको शीर्ष स्थानमा रहेको टोली हो। १० अंक जोडेको नेदरल्याण्ड्सले ६ खेलमध्ये चारमा जित हात पारेको छ र दुई खेल रद्ध भएपछि अंक बाँडेको छ। ८ मुलुक सहभागी भएको प्रतियोगितामा नेपाल ४ अंकसहित छैठौं स्थानमा छ। प्रतियोगिताको तेस्रो चरणमा किर्तिपुरमा नामिबियाविरूद्धका दुवै खेल जित्दै नेपालले चार अंक जोडेको हो। यसअघि स्कटल्याण्ड र पपुवान्युगिनीविरुद्धका सबै खेलमा नेपाल पराजित भएको थियो। प्रतियोगिताका शीर्ष चार टोलीले सन् २०१९मा हुने एकदिवसिय क्रिकेट विश्वकप खेल्न पाउनेछन्। विश्वक्रिकेट परिषद (आइसिसि) ले क्यानको सदस्यता निलम्बन गरेपछि केहिदिन अघि सिइओ भावना घिमिरेलाई पत्र पठाएर खेलको तयारी थाल्न आइसिसिले निर्देशन दिएको थियो।



0 comments
Write Down Your Responses