रोनाल्डो सर्वाधिक कमाई गर्ने खेलाडी

न्युयोर्क – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो सन् २०१६ को सर्वाधिक कमाई गर्ने खेलाडी बनेका छन् । फोब्र्स पत्रिकाको अनुसार प्रतिद्वन्द्वी लियोनेल मेस्सी र एनबीए स्टार लिब्रोन जेम्सलाई पछि पार्दै रोनाल्डोले शीर्ष स्थान ओगट्न सफल भएका हुन् । सन् २०१६ को जुन १ सम्ममा रोनाल्डोले ८८ मिलियन डलर कमाई गरेका छन् । जसमा उनले ५६ मिलियन डलर तलब र ३२ मिलियन इन्डोर्समेन्टले भूमिका खेलेको छ । सन् २००० पछि बक्सर फ्लोयड मेवेदर र टाइगर वुडस्ले शीर्ष स्थान नओगटेको यो पहिलो पटक हो । दोस्रो स्थानमा रोनाल्डोका प्रतिद्वन्द्वी मेस्सी रहेका छन् । उनले ८१.४ मिलियन डलर आम्दानी गरेका छन् भने तेस्रो स्थानमा रहेका लिब्रोनले ७७.२ मिलियन डलर आम्दानी गरे । उनी गत साल छैटौं स्थानमा थिए । इन्डोर्समेन्टको मामिलामा उनले सर्वाधिक ५४ मिलियन डलर आम्दानी गरे पनि उनको तलब २३.२ मिलियन मात्र रहेको कारण तेस्रो स्थानमा चित्त बुझाउन बाध्य बने । शीर्ष १० स्थानमा ३ जना बास्केट बलका खेलाडी रहेका छन् । केभिन डुरान (५६.२ मिलियन सहित ) पाँचौं स्थानमा रहेका छन् भने कोबी ब्रायन्ट (५० मिलियनसहित ) १० औं स्थानमा रहेका छन् । टेनिस स्टार रोजर फेडेरर (६७.८ मिलियन) र नोभाक जोकोभिच (५५.८ मिलियन) क्रमशः चौंथो र छैटौं स्थानमा रहेका छन् । शीर्ष १० मा बेसबलका खेलाडी नपरे पनि १०० जनामध्ये २६ जना यसै खेलसँग आबद्ध खेलाडीहरु रहेका छन् । एनफएलबाट २१ खेलाडी रहेका छन् जसमा क्यारोलिना प्यान्थर्सका क्वाटरब्याक क्याम न्युटन (५३.१ मिलियनसहित) सातौं स्थानमा रहेका छन् । शीर्ष १०० जनामा बास्केटबलबाट १८ तथा फुटबलबाट १२ खेलाडी समावेश छन् । गल्फर फिल मिकेल्सन (५२.९ मिलियन) र जोर्डन स्पेथ (५२.८ मिलियन) आठौं र नवौं स्थानमा रहेका छन् ।

,

0 comments

Write Down Your Responses