आर्थिक अभावका कारण अस्पताल जान नसक्दा मरेको बच्चा २१ दिनसम्म पेटमा
बाजुरा जिल्लाको साप्पाटा गाविसकी ३२ वर्षीया मिठु नेपालीले २१ दिनसम्म मरेको बच्चा पेटमै बोकीन् । उनी सुत्केरी हुने दिन नजिकिदै थियो । नौ महिना पुगिसकेको थियो । गाँउ नजिकै रहेको जंगलबाट दाउरा बोकेर घर आउने क्रममा बाटोमा लडेर उनको पेटमा रहेको बच्चाको मृत्यु भयो । बच्चा पेटमा मरेको २१ दिनपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा मिठुको शल्यक्रिया गरेर बच्चा निकालिएको स्त्री रोग बिशेषज्ञ डा. राजन न्यौपानेले वताएका छन् । पेटमा रहेको बच्चा मरेको दुई दिनपछि एक दिनको दुरीमा रहेको साप्पाटा स्वास्थ्य चौकीमा मिठु र उनका श्रीमान पाशवान नेपाली जचाउँन गएका थिए । स्वास्थ्यकर्मीले त्यहाँ जाँच गर्न नसक्ने वताएपछि आर्थिक अभावका कारण अरु अस्पताल लैजान नसकेको उनका श्रीमान पाशवान नेपालीले वताए । उनले छिमेकी गाविसमा रहेको गोत्री स्वास्थ्य चौकीमा समेत लगे । त्यहाँपनि उपचार सम्भव भएन । उनले भने ‘त्यसपछि केही दिनसम्म घरमै राखें, बच्चा पेटमा मरेको पनि थाहा भएन, स्वास्थ्यकर्मीले समेत बच्चा मरेको भनेन् ।’ ठिक भइहाल्ला भन्ने लागेर घरमै राखेको उनले वताए । ‘त्यहीवेला गाविस नजिकै स्वास्थ्य शिविर सञ्चालन भयो । त्यहाँ अल्ट्रासाउन्ड गर्दा बच्चा मरेको थाहा पाइयो’ उनले भने । स्वास्थ्यकर्मीले चाँडो उपचार गर्न सदरमुकाम मार्तडी वा अन्यन्त्र लैजान सुझाव दिएपनि पैसा नभएपछि अस्पताल लैजान नसकेको उनले बताए । श्रीमतीको उपचारका लागि धेरै ठाँउमा पहल गरेपनि कतैबाट ऋण पाउँन नसक्दा समयमै अस्पताल लैजान नसकेको गुनासो उनले गरे । सामुदायिक विकास कार्यक्रम मार्फत गाँउमा गठन भएको धुपीरुप समूहबाट २० हजार रुपैयाँ ऋण पाएपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुरा ल्याएको उनले वताए । ‘समूहले ऋण नदिएको भए बच्चा त मर्यो, श्रीमतीलाई समेत झण्डै गुमाउनुपरेको थियो’ पाशवान भन्छन् । अन्तिम अवस्थामा पुगिसकेपछिमात्र उनले श्रीमती मिठुलाई अस्पतालमा ल्याइ पुर्याएको डा. न्यौपानेले वताए । आर्थिक अभावको समस्या त छदैछ, चेतनाको अभावले गर्भवती र सुत्केरी हुन समस्या भएका धेरै महिलालाई अन्तिम अवस्थामामात्र अस्पताल ल्याइने गरेका अनमी सर्मीला सिंह बताउँछिन् । विपन्नताका कारण सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न लैजान नसक्दा दुर्गमका महिलाको ज्यान निकै जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयकी परिवार नियोजन सुपरभाइजर दुर्गा बजगाईले वताउँछिन् । सुत्केरी हुने समयमा स्वास्थ्य चौकी लैजानुको साटो धामी झाँक्री कहाँ लैजाने प्रचलनले उनीहरू झन धेरै जोखिममा रहेको महिला स्वास्थ्य स्वयमसेविका सीता विकले वताइन् । बच्चा जन्मने बेलासम्म कडा परिश्रम गर्नुपर्ने अर्को बाध्यताले बच्चा र आमाको ज्यान जोखिममा रहने गरेको छ ।



0 comments
Write Down Your Responses