दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गर्नु दुर्भाग्यपूर्णः खुमबहादुर खड्का
नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गर्नु पार्टीका नेता तथा कार्यकर्ताका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्। खड्काले विगतमा काँग्रेसका नेता तथा कार्यकर्ताको हत्या र सम्पति लुटपाटमा संलग्न पार्टीका अध्यक्षलाई प्रधानमन्त्री बनाउने सहमतिले पार्टीलाई भविष्यमा अझै कमजोर बनाउने बताए। नेपाल विद्यार्थी संघका नेता शुभराम बस्नेतको समूहले बिहिबार काठमाडौंमा गरेको कार्यक्रममा नेता खड्काले माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा सत्तामा जाँदा काँग्रेसलाई फाइदा भन्दा नोक्सान बढी हुने बताए। माओवादीसँगको सहमति तत्कालका लागि सत्तामा जाने भर्याङ बनेपनि भविष्यमा उक्त सहमतिले काँग्रेसलाई अन्य दलबाट एक्ल्याउने खड्काको भनाइ छ । खड्काले बीपीको विचारको वकालत गर्ने पार्टी आफ्नो विचार छोडेर माओवादीको पुच्छर लागेको भन्दै यसले पार्टी खिइएर जाने बताए। उनले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाए । १३ औं महाधिवेशनमा देउवालाई सभापति जिताउन सहयोग गरेका खड्काले सहमति अनुसार पद पाउन नसकेको असन्तुष्टिस्वरुप प्रजातन्त्रको वकालत गर्ने पार्टी अप्रजातान्त्रिक तवरमा संचालन भइरहेको र यसले धेरै कार्यकर्तामा निराशा छाएको बताए। खड्काले युरोपियन युनियन र अन्य विदेशी संस्थाको दवाब र प्रभावमा संविधानमा धर्मनिरपेक्षताको व्यवस्था गरिएको भन्दै काँग्रेसले मुलुकलाई हिन्दु राज्य कायम गर्न भूमिका खेल्नुपर्ने बताए।


0 comments
Write Down Your Responses