खान नमिल्ने फ्रुटी भेटिएपछि दुगडको उद्योगमा सिलबन्दी मिति सकिएका फ्रुटीलाई नयाँ लेबलिङ गर्दै बजार पठाएको भेटियो
सतुङ्गलस्थित दुगड फूड्सएण्ड बेभरेजको गोदाममा रहेका २ लाख साना प्याकेट फ्रुटी खान नमिल्ने भेटिएपछि सरकारी अनुगमन टोलीले उद्योगमा सिलबन्दी गरेको छ।
आपूर्ति व्यवस्थापन विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा उपभोक्तावादी संस्थाहरुको संयुक्त अनुगमन टोलीले उद्योगमा रहेको प्लान्ट तथा गोदाममा सिलबन्दी गरिदिएको हो।
बजारमा बिक्री नभई म्याद सकिएका फ्रुटी फिर्ता ल्याएर त्यसमै नयाँ लेबलिङ गर्दै पठाउने गरेको पाइएपछि अनुगमन टोली दुगडको गोदाममा पुगेको थियो।
दुगड फूड्सले फ्रुटीको प्लान्ट परिवर्तन गर्नुपर्ने भएकाले १५ दिनदेखि उत्पादन गर्न नसकेको जनाएको छ। प्लान्टमा समस्या आएकाले हाल फ्रुटी उत्पादन भएको छैन। नयाँ तवरले लेबलिङ गरेर बजार पठाइने गरेको त्यहाँका कर्मचारीले स्वीकार गरेका छन्।
टोलीको नेतृत्व गरेका आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक रामचन्द्र काफ्लेका अनुसार २ लाख फ्रुटीको अध्ययन तथा अनुसन्धान गर्नका लागि उद्योगमा सिलबन्दी गरिएको हो। काफ्लेले फ्रुटीका बट्टा फुलेको, टुटेफुटेको तथा मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पाइएका कारण सील गरेर विक्रीवितरणमा रोक लगाइएको बताए।
उनले भने ‘प्रयोग गर्न नमिल्ने फ्रुटी पनि नयाँ लेबलिङ गरेर बजार पठाउने गरेको पाइयो, यसको गुणस्तर तथा विविध पक्षमा थप अध्ययन हुन्छ।’
सरकारी अनुगमन टोलीसमक्ष दुगड फुड एण्ड वेभरेज प्रालि आफैंले पनि गल्ती स्वीकार गरेको छ ।
उसले एक महिना १० दिन पहिले बजारमा गएका फ्रुटीमा प्राविधिक कारणवश कमजोरी देखिएको भन्दै कमजोरी देखिएका फ्रुटी फिर्ता मगाइएको बताएको छ।
अनुगमनमा गएका उपभोक्ता अधिकारकर्मीहरुले गल्ती स्वीकार गरेर फिर्ता मगाइएपनि फ्रुटी नखानका लागि सूचित नगरेर दुगड फुड एण्ड वेभरेज प्रालिले उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै कारवाहीको माग गरेका छन् ।
उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई ५ लाख रुपैयाँ जरिवाना र १४ वर्षसम्म जेल सजायको व्यवस्था छ । उपभोक्ता अधिकारकर्मीहरुले कानूनमा भएको व्यवस्था अनुसार दुगड फुड एण्ड वेभरेज प्रालिका संचालकलाई कारवाहीका लागि दवाब दिने बताए।
उपभोक्ताहरुले फ्रुटीभित्र कालो लेदो भेटिएको तथा फ्रुटी खाँदा अस्वस्थ्य भएको उजुरी गरेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सरोकारवालाहरुसहित फ्रुटीको उत्पादक दुगड फुड एण्ड वेभरेज प्रालिको कारखाना अनुगमन गरेको हो।


0 comments
Write Down Your Responses