ओलीका अगाडि आइलागे यस्ता चार संकट
काठमाडौं– माओवादीको समर्थन फिर्तापछि अल्पमतमा परेका प्रधानमन्त्री ओलीका अगाडि चुनौति थपिदै जान थालेका छन् । उनलाई सरकारमा रहेका साना दलको समर्थन कायम रहेपनि समर्थन फिर्ता लिएको माओवादी र काँग्रेसले घेराबन्दी गर्ने रणनीति तयार पारेका छन् । त्यति मात्र होइन आफ्नै पार्टीभित्र पनि दुइ थरि मत उठेका छन्, जुन प्रधानमन्त्रीको भावी कदमका लागि असहज देखिन्छन् ।
संकट १ समर्थन फिर्ता लिएपछि दवाव बनाउन माओवादीले आज संसदमा बजेट सम्बन्धी थप विद्येयक पारित हुन नदिने निर्णय लिएको छ । यो ओलीका लागि आज सवैभन्दा ठूलो चुनौति हुनेछ । आफ्नै नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नदिने माओवादी र काँग्रेसको रणनीतिलाई असफल पार्न उनलाई मस्किल हुनेछ । माओवादी र काँग्रेसले मध्धे एकले समर्थन नदिदा बजेट सम्बन्धी विद्येयक पारित हुने अबस्था हुँदैन ।\
संकट २ अल्पमतमा परेका प्रधानमन्त्री ओलीले राजीनामा नदिए माओवादी केन्द्रले आज नै संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । यो ओलीका लागि अर्को संकट हो । मधेशी दलहरु ओली सरकारप्रति पहिलादेखि नै असन्तुष्ट छन् । काँग्रेस, माओवादी र मधेशी दल कसैको पनि समर्थन विना ओली सरकारलाई बहुमत पुग्दैन । यो ओलीका लागि अर्को चुनौति हो ।
संकट ३ माओवादीको समर्थन फिर्ताले एमालेभित्रै प्रधानमन्त्रीको भावी कदमवारे भिन्दाभिन्दै धारणा बाहिर आएका छन् । परिस्थितिको सामना गर्दै जाने ओलीपक्षधर नेताहरुका मत छ भने उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रील राजीनामा दिनुपर्ने मत राखेका छन् । यद्यपी उनले आफ्नो मत अल्पमतमा रहेको बताएका छन् । एमालको मंगलवार साँझ बसेको स्थायी समिति वैठकले बजेट सम्बन्धी विद्येयक पारित भएपछि प्रधानमन्त्रीको भावी कमदवारे थप रणनीति बनाउने निर्णय लिएको थियो ।
संकट ४ मुख्य सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीमाथि नैतिक संकट थपिएको छ । माओवादीकै समर्थनमा आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल भएका प्रधानमन्त्री ओली अल्पमतमा परेपछि नैतिक संकटमा परेका छन् ।
एमालेको वैठक आज पनि
आफ्ना अगाडि आएका यी संकटहरु ओलीले कसरी फेस गर्दे जान्छन् भन्ने यकीन भएको छैन । वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने माओवादी निर्णय देशका लागि दुर्भाग्य भएको ठहर एमालेको छ । मंगलवार बसेको स्थायी समिति वैठकले । संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा माओवादी केन्द्रको यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गम्भीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको निष्कर्ष निकालेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका थिए । उनका अनुसार स्थायी कमिटीको बैठक आज पुनः बस्ने र आवश्यक निर्णय गर्ने छ । वर्तमान सरकार बनेयता सुदृढ बनेको राष्ट्रिय स्वाधीनता, स्वाभिमान, राष्ट्रिय हितको रक्षा, आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्र राष्ट्र भारत र चीन भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुग्नसक्ने सम्भावनाप्रति पार्टी गम्भीर बनेको बैठकपछि महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र यसबीचमा सरकारबाट अघि बढाइएका अग्रगामी, जनपक्षीय कार्यक्रमको पक्षमा दृढतापूर्वक अघि बढ्ने एमालेले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “राजनीतिक अस्थिरताको घडीमा राजनीतिक विकृृतिले प्रश्रय नपाउन् र आधारभूत राष्ट्रिय हितमा आँच पु¥याउने कुनै पनि काम कारबाही हुन नपाओस् भन्ने कुरामा सजग रहन तथा संविधान, राष्ट्रिय हित र एकताको पक्षमा एकताबद्ध भएर अघि बढ्न सबै प्रगतिशील र देशभक्ति शक्तिलाई एमाले आह्वान गर्दद्ध ।”



0 comments
Write Down Your Responses