मेट्रो रेल राजधानीमा चल्छ, चलाउनैपर्छ’ मुलुकभरको रेलबारे ‘मास्टर प्लान’ बनाउन निर्देशन

काठमाडौं: मुलुकभर सञ्चालन हुने रेलबारेको गुरुयोजना बनाउन र राजधानीमा मेट्रो रेलको काम द्रूत गतिमा अघि बढाउन सरकारले चासो लिएको छ । नेपालमा रेल सपनाजस्तै भएको र कामभन्दा कुरा बढी भएको भन्दै सरकारको संसदीय समिति, मन्त्री र सांसद रेल सञ्चालनको काम जतिसक्दो चाँडो गर्न प्रतिवद्ध र एक भएका हुन् । संसदको विकास समितिले बिहीबार सिंहदरबारमा राखेको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भने, ‘सरकार राजधानी रहेको काठमाडौंमा मेट्रो रेल सञ्चालन गर्न प्रतिवद्ध छ, काठमाडौंमो मेट्रो रेल चल्नुपर्छ, चलाउनै पर्छ ।’ उनले पूर्वपश्चिम रेलका लागि पनि आवश्यक तयारी भइसकेको जानकारी दिँदै विस्तृत अध्ययन परियोजना (डिपिआर) सक्नासाथ ती ठाउँहरुमा काम थाल्ने पनि जानकारी दिए । उनले थपे, ‘जनशक्ति र निर्माण सामग्री आदि मुलुकमा सीमित भए पनि आयोजनाको महत्व ठूलो र सरकारको प्रतिवद्धता फराकिलो छ । सरकार अब रेल निर्माणका सम्बन्धमा गति बढाउँछ ।’ समय लिने आयोजना भएकाले सोचेजस्तो गतिमा काम नदेखिएको उनको भनाई थियो । विकास समितिका सभापति रविन्द्र अधिकारीले मन्त्री, रेल विभाग, मन्त्रालयका सचिव र सांसदहरुका भनाई सुनेपछि विभागका महानिर्देशक अनन्त आचार्यलाई मुलुकभर सञ्चालन हुने रेलहरुका बारेमा तत्काल गुरुयोजना (मास्टर प्लान) बनाउन निर्देशन दिए । उनले भने, ‘यसै आर्थिक वर्षभित्रै राजधानीमा सञ्चालन गर्ने भनिएको मेट्रो रेलको पनि काम सुरु गर्नोस् । निर्माण सामग्रीको अभाव हुन्छ भने नदीजन्य ढुंगा, गिटी र बालुवामा मात्र भर नपर्नोस् अब खानीमा आधारित निर्माण सामग्री उत्पादनमा लाग्नोस् ।’ अधिकारीले रेलवे सेवा सञ्चालनमा छिमेकी देश चीन एक वा दुई नम्बरमै पर्ने र अर्को छिमेकी देश भारत पनि रेल सञ्जालका दृष्टिले यूरोप पछिको मुलुक भएकाले यी दुवै देशसँग नेपालले पुलको भूमिका खेल्नेगरि अघि बढ्नुपर्नेमा जोड दिए । ‘नेपालको विकासमा सरकार नै बाधक छ, एउटा मन्त्रालय निर्माण गरिरहँदा अर्को मन्त्रालय बाधाव्यवधान खडा गरिरहेको हुन्छ’, उनले भने, ‘सरकार परिवर्तनले भन्दा दस गुणा बढी बाधा अन्तरमन्त्रालय समन्वयमा देखिन्छ ।’ रेल विभागका महानिर्देशक अनन्त आचार्यले मेचीकाली नौ सय ४५ किलोमिटर, काठमाडौं पोखरा एक सय ८७ किलोमिटर, मेचीकालीमा अबुखैरेनी लिंक ७२ किलोमिटर, मेचीकाली उत्तरदक्षिण लिंक एक सय १३ किलोमिटर र निजगढ हेटौंडा भरतपुर एक सय ३५ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन पूरा भइसकेको जानकारी दिए । उनले बर्दिबास काँकडभिट्टा दुई सय ६२ किलोमिटर रेलमार्गको विस्तृत अध्ययन परियोजनाका लागि काम सुरु भएको र काठमाडौं मेट्रो रेलको पनि विस्तृत अध्ययन परियोजना (डिपिआर) को प्रक्रिया अघि बढाउन लागेको जानकारी दिए ।

0 comments

Write Down Your Responses