चीनको नाकाबन्दीपछि झुक्यो मंगोलिया, आइन्दा दलाइ लामालाई प्रवेश नदिने

चिनीयाँ नाकाबन्दी खेपिरहेको मंगोलियाको सरकारले अब उप्रान्त दलाई लामालाई आफ्नो देश प्रवेश गर्न नदिने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेको छ। गत महिना लामाले मंगोलिया भ्रमण गरेपछि त्यसले चिनियाँ सरकारले मंगोलियाबाट आयात गरिने सामानमा थप कर लगाएको थियो भने दैनिक १ हजार जति ट्रक पार हुने गान्टस मोड सीमा बन्द गराएको थियो। लामाको भ्रमणले आफ्नो ‘कोर इन्टरेस्ट’ मा दखल परेको भन्दै मंगोलियासँग सबै किसिमका द्विपक्षीय वार्ता पनि उसले स्थगित गरेको थियो। मंगोलियामा आर्थिक मन्दी भएका कारण उसले चीनबाट ४ अर्ब डलर बराबरको ऋण सम्झौता अपेक्षा गरेको थियो। मंगोलियाले दलाइ लामाको भ्रमणलाई राजनीतिक नभई धार्मिक भएको बताएको थियो। तर, त्यसबाट चीन सन्तुष्ट हुन् सकेन। चिनियाँ कदमले अफ्टेरोमा परेको मंगोलोयाको सरकारले अन्तत: दलाई लामालाई आफ्नो देश फेरि प्रवेश गर्न नदिने वाचा गरेको छ। ‘तपाईँ बुझ्न सक्नुहुन्छ, अहिले सरकार रहेसम्म दलाइ लामालाई धार्मिक नै भए पनि मंगोलिया भ्रमण गर्न दिइने छैन,’ मंगोलियाका विदेशमन्त्री सेन्ड मुन्खा ओर्गीलले भनेका छन्। चीनले उक्त प्रतिबद्धताको स्वागत गरेको छ। चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुवा चुनइंगले मिडयासँग भनिन्, ‘हामीलाई आशा छ मंगोलियाले यो घटनाबाट शिक्षा लिने छ, चीनको कोर इन्टरेस्टलाई सम्मान गर्नेछ, आफ्नो प्रतिबद्धता पुरा गर्नेछ र चीन-मंगोलिया सम्वन्ध सुधारका निम्ति कदम उठाउने छ।’

0 comments

Write Down Your Responses