नेपाल र नेदरल्याण्ड बीचको खेल साउन २९ र ३१ गते नेदरल्याण्डमा हुने
विश्व क्रिकेट लिग प्रतियोगिताको चौथो चरणमा हुने नेपाल र नेदरल्याण्ड बीचको खेलको मिति तय भएको छ। विश्व क्रिकेट परिषद (आइसीसी)ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार आउने साउन २९ र ३१ गते नेपालले अंक तालिकाकोको शीर्षस्थानमा रहेको नेदरल्याण्डसँग खेल्ने छ।'होम एण्ड अवे' का आधारमा भइरहेको प्रतियोगिता अन्तर्गतको यो खेल नेदरल्याण्ड्समा हुने छ। नेदरल्याण्ड्सको एम्टेलभिन क्रिकेट मैदानमा यो खेल सञ्चालन हुने आइसीसीले जनाएको छ।
केही समयअघि घरेलु मैदानमा नामिबियाविरुद्धका दुई खेल जित्दै नेपाल पुछारबाट पाँचौ स्थानमा उक्लिएको छ। नेपालको चार अंक छ।
विश्व क्रिकेट लिगमा नेपालसँग खेल्नु अघि नेदरल्याण्ड्सले अर्को ठूलो प्रतियोगिता 'आइ-कप'मा अफगानिस्तानसँग खेल्ने छ। साउन १४ गते हुने यो खेल पनि नेदरल्याण्ड्सले नै आयोजना गर्ने छ।
आइसीसीले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको भोलिपल्टै खेल तालिका सार्वजिनक गरेको हो। निलम्बित क्यानले आइसीसीबाट कुनै आर्थिक सहयोग प्राप्त गर्ने छैन भने अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न पनि सक्ने छैन। तर, नेपाली खेलाडीहरूलाई समस्या नपरोस् भन्ने उद्धेश्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन भने प्रतिबन्ध लगाएको छैन।
आइसीसीले विश्वक्रिकेट लिग र 'आइ-कप'को चौथो चरणमा हुने अन्य खेलहरूको पनि मिति र स्थान तय गरेको छ।
विश्व क्रिकेट लिगमा नेपाल र नेदरल्याण्ड्सपछि साउन ३० र ३२मा स्कटल्याण्ड र युएइ, कात्तिक ६ र ८ गते नामिबिया र पपुवा न्युगिनी तथा मंसिर ३ र ५ गते केन्या र हङकङबीच खेल हुने छ।
विश्व क्रिकेट लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससँग १० अंक छ। उसले अहिलेसम्म खेलेका ६ मध्ये ४ मा जित हात पारेको छ भने दुई खेलमा अंक बाँडेको छ। ९ अंक भएको हङकङ दोस्रो, ७ अंक भएको स्कटल्याण्ड तेस्रो तथा ६ अंक भएको केन्या चौथो स्थानमा छ।
नेपालकै जति समान ४ अंक नै भएको पपुवा न्युगिनी पाँचौ स्थानमा छ। २-२ अंक भएका नामिबिया र युएई सातौं र आठौं स्थानमा छन्।
सन् २०१७ सम्म चल्ने प्रतियोगिताका शीर्ष चार टोलीले सन् २०१९को एकदिवसीय क्रिकेट विश्वकपका लागि छनोट खेल्न पाउने छन्।


0 comments
Write Down Your Responses