मोदीलाई प्रधानमन्त्री ओलीले गरे फोन किन ? ????

          चैत्र ३०, २०७२- देशबासीको नाममा सम्बोधन गर्नु केहीघण्टा अघि प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् । भारत र त्यसपछिको चीन भ्रमणको केही समयपछि ओली र मोदीबीच पहिलो टेलिफोन वार्ता हो । भारतको केरला राज्यको पुत्तिंगल मन्दिरमा आगलागी भई ठूलो संख्यामा जनधनको क्षति भएकोमा प्रधानमन्त्री ओलीले भारत समकक्षी मोदीलाई दु:ख व्यक्त गर्न टेलिफोन गरेको उनका सहयोगीहरुले बताए । भारतमा भएको उक्त घटनाबाट नेपाल सरकार, नेपाली जनता र आफू मर्माहत भएको प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई बताएको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । प्रधानमन्त्रीले घटनामा दिवंगत भएका भारतीय नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजन र आफन्तजनहरुप्रति भारतका प्रधानमन्त्रीमार्फत हार्दिक समवेदना प्रकट गरेको पनि उनले बताए । समवेदना ब्यक्त गर्ने क्रममा पछिल्लो राजनीतिक अवस्थाको बारेमा समेत छलफल भएको बताइए पनि दाहालले श्रद्धाञ्जली र समवेदना बाहेक अन्य कुनै विषयमा पनि छलफल नभएको दाबी गरे । प्रधानमन्त्रीले समवेदनाबाहेक नेपालको पछिल्लो राजनीतिक अवस्था र द्विपक्षीय सम्वन्धको बारेमा पनि छलफल गरेको स्रोतको दाबी छ । देशबासीको नाममा सम्वोधन गर्नु केही घण्टाअघि उनले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेका हुन् । यसैबीच, प्रधानमन्त्रीले खोटाङमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति पनि दु:ख व्यक्त गरेका छन् । दुर्घटनामा परेकाहरुको चाँडोभन्दा चाँडो उद्धार गर्न र घाइतेहरुको उपचार गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

0 comments

Write Down Your Responses