मुख्य अभियुक्त अब्रिनी ब्रसेलमा पक्राउ
पेरिस हमलाका मुख्य फरार अभियुक्त मोहमद अब्रिनी बेल्जियमा पक्राउ परेका छन् । अनुसन्धानकर्ताहरूले अब्रिनी गत महिनाको ब्रसेल्स एयरपोर्ट बम हमलामा संलग्न ‘टोपी लगाउने’ तेस्रा व्यक्ति हुन् वा होइनन् भनेर पनि छानविन भइरहेको बताएका छन् । बम विस्फोटपछि एयरपोर्टबाट ती टोपी लगाउने व्यक्ति भागिरहेको देखिने सीसीटीभी तस्बिर अभियोजकहरूले सार्वजनिक गरेका थिए । ब्रसेल्स एयरपोर्ट र मेट्रो स्टेसनमा भएका आत्मघाती विस्फोटमा ३२ जना मारिएका थिए । आक्रमणका अर्का संदिग्ध ओसामा के पनि शुक्रबार पक्राउ परेका छन् । अन्य तीन पनि समातिएका छन् । तथाकथित इस्लामिक स्टेट (आईएस) ले ब्रसेल्स हमलाको जिम्मा लिएको थियो । गत नोभेम्बरमा भएको पेरिस हमलामा पनि आफ्नै हात रहेको आईएसको दाबी थियो । अब्रिनीको गिरफ्तारी भनेर प्रचारित एक एमेच्योर तस्बिरमा ब्रसेल्सको एन्डरलेक क्षेत्रमा एक व्यक्तिलाई कारमा कोचिँदै गरेको देखिन्छ । अब्रिनीलाई अहिलेसम्म ब्रसेल्स आक्रमणसँग जोडिसकेको अवस्था छैन । बेल्जियन अनुसन्धानकर्मीहरूले एक पत्रकार सम्मेलनमार्फत् अब्रिनीलगायत अन्य दुई अभियुक्त पक्राउ गरेको पुष्टि गरे । तर अन्य दुईको नाम खुलाइएको छैन । अभियोजकहरूको अनुसा अब्रिनीको औंठाछाप र डीएनए ब्रसेल्सको सारविकस्थित दुइटा सेफ हाउस र पेरिस हमला दौरान प्रयुक्त एक कारमा फेला परेका थिए । बिहीबार अधिकारीहरूले ‘टोपी लगाएको मान्छे’ को तस्बिर सार्वजनिक गर्दै उनको खोजीमा सहयोगका लागि सार्वजनिक आह्वान गरेका थिए । ती व्यक्ति ब्रसेल्स एयरपोर्टको प्रस्थान कक्षमा दुई आत्मघातीहरूसँगै देखिएका थिए । उनी विस्फोट हुन केहीअघि मात्रै त्यहाँबाट बाहिरिएका थिए । शुक्रबार बिहान ब्रसेल्समा भएको अर्को कारबाहीमा ओसामा के र हर्भे बीएम नाम दिइएका अर्का व्यक्ति पक्राउ परेका हुन् । ओसामा के स्विडेनका नागरिक ओसामा क्रेयम भएको बताइएको छ । उनले मेलविक मेट्रो स्टेसनमा आत्मघाती बम्बर खालिद एल बक्राउहीलाई सहयोग गरेको आशंका गरिएको छ । उनले ब्रसेल्सकै सपिङ मलमा एयरपोर्ट र मेट्रो स्टेसनमा पड्काउने बम राख्नका लागि स्पोटर्स ब्यागसमेत किनेका थिए । उनी नाइम अल अहमद भन्ने नामको नक्कली सिरियाली पासपोर्ट प्रयोग गरी गएको नोभेम्बरमा सिरियाबाट फर्केका थिए । उनी आप्रवासी सिरियाली शरणार्थीका रूपमा ग्रिस हुँदै ब्रसेल्स पसेका हुन् । अभियोजकहरूका अनुसार उनी अक्टोबर ३ मा बेल्जियम छिरेका हुन् । पेरिस हमलाका अर्का संदिग्ध सलाह अब्देसलामले उनलाई भाडाको कारबाट जर्मनी सहर उल्मबाट ल्याएका थिए । ३१ वर्षीय मोरोक्काली मूलका बेल्जियम नागरिक अब्रिनी पेरिस हमलाको दुई दिनअघि एक पेट्रोल स्टेसनमा अब्देसलामसँगै देखिएका थिए । अब्रिनी एवं सलाम र इब्राहिम अब्देसलाम ब्रसेल्समा बच्चैदेखिका साथी हुन् । अब्रिनी अब्देसलाम दाजुभाइसँगै बेल्जियमबाट पेरिससम्म गई नोभेम्बर १० र ११ मा फर्केका थिए । अब्देसलाम ब्रसेल्समा गत मार्चमा पक्राउ परेका हुन् । जसको केही दिनपछि मात्रै आतंककारीले ब्रसेल्समा आक्रमण गरेका हुन् ।



0 comments
Write Down Your Responses