यसपाली १० केन्द्रबाट कोरियाली भाषा परीक्षा हुने
काठमाडौं उपत्यकाका ५ र बाहिरी जिल्लाका ५ केन्द्रबाट यो पटक कोरियाली भाषा परीक्षा संचालन हुने भएको छ। ईपीएस प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा पठाउनको लागि लिइने भाषा परीक्षा आगामी असार ४ र ५ गते हुने छ। एक दिनमा २ सिफ्ट परीक्षा संचालन हुने ईपीएस कोरिया शाखा कार्यालयले जनाएको छ। काठमाडौं उपत्यकाभित्र च्यासल फुटबल खेल मैदान बालकुमारी, काठमाडौं भ्याली उच्च माबि महाराजगञ्ज, ल्याब्रोटरी उच्च माबि कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो, नेपाल बेद विद्याश्रम बनकालीबाट परीक्षा संचालन हुने छ। त्यस्तै उपत्यकाबाहिर धरान उपनगरपालिका ८ स्थित धरान सभागृह, बुटवल नगरपालिकास्थित प्रहरी तालिम केन्द्रको प्रदर्शनी मण्डप, पोखरा उपमहानगरपालिका बाटुलेचौरस्थित बिन्ध्यबासिनी उच्च माबि, डढेलधुरा जिल्ला प्रशासन कार्यालय र जनकपुर उपमहानगरपालिका श्रम कार्यालय परिसरबाट परीक्षा संचालन हुने ईपीएस कार्यालयले जनाएको छ। यस वर्षको परीक्षाबाट कुल ३ हजार १ सय आवेक पास गराइने छ। जसमा उत्पादनमुलक क्षेत्रमा १ हजार तथा कृषि र पशुपालन क्षेत्रमा २ हजार १ सय जना पास हुने छन्। फारमको दर्ता प्रक्रिया बैशाख १५ गतेदेखि १८ गतेसम्म हुनेछ। १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले परीक्षाको फारम भर्न सक्ने छन्। श्रावण ११ गते भाषा परीक्षाको नतिजा सार्वजनिक हुने बताइएको छ। परीक्षा शुल्क २४ अमेरिकी डलर लाग्ने बताइएको छ। थप जानकारीका लागि ईपीएसनेपाल डट जीओभी डट एनपी लगअन गरेर प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ।



0 comments
Write Down Your Responses