आन्तरिक राजनीति र विपत्तिका कारण राष्ट्रपतिको भ्रमण स्थगित परराष्ट्रमन्त्री

२०७३-वैशाख २५- उपप्रधान तथा परराष्ट्र्रमन्त्री कमल थापाले मुलुकको आन्तरिक राजनीतिक घटनाक्रम र भारतको धार्मिकस्थलमा भएको प्राकृतिक विपत्तिका कारण राष्ट्रपति विद्या भण्डारीको भ्रमण स्थगित भएको बताएका छन् । संसद बैठकमा शनिबार सभामुख ओनसरी घर्तीसँग समय लिएर बोल्दै उनले राष्ट्रपति भण्डारीको भारत भ्रमण स्थगन र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको फिर्तालाई लिएर अतिरञ्जित रूपमा व्याख्या नगर्न आग्रह गरे । उनले नेपाल-भारत सम्बन्धलाई सरकारको सोचाइअनुसार अघि बढाउन उपाध्यायलाई फिर्ता गरिएको दाबी गरे । उनले राष्ट्रपति भण्डारी जाने तय भएको भारतको धार्मिकस्थल उज्जैनमा प्राकृतिक विपत्तिको घटना भएका कारण द्विपक्षीय परामर्शमा भ्रमण स्थगित गरिएको दाबी गरे । मलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका साथै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले र उज्जैनमा आएको ठूलो प्राकृतिक विपत्तिमा छ जनाको निधन भएको तथा ४० जना घाइते भएका सूचना सरकारलाई आएका कारण भ्रमण स्थगित भएको हो उनले भने । उपयुक्त समयमा कूटनीतिक तवरबाट राष्ट्रपतिको भ्रमण हुने जानकारी गराउँदै उनले भ्रमण स्थगन भएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमा मागे । उनले नेपाल-भारतको सम्बन्धमा कुनै पनि असहज अवस्था नभएको दाबी गर्दै प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि दुई देशबीच नयाँ आधारमा सम्बन्ध सौहार्द र मैत्रीपूर्ण रहेको बताए । उनले नेपालको आर्थिक विकासका लागि भारत सरकारले प्रतिबद्धता जनाएको उल्लेख गर्दै भूकम्पपछिको पुनर्निर्माणमा भारतीय सरकारको अत्यन्तै चासो रहेको बताए । उनले राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिँदै आगामी एक वर्षभित्र उनको भ्रमण हुने दाबीसमेत गरे । उनले राजदूत फिर्ताको विषयमा अतिरञ्जित व्याख्या गर्नु ठीक नभएको बताए । राजदूत उपाध्यायले विगत केही समयदेखि गरेको कामलाई सरकारले सामान्य रूपमा लिएको र निरन्तर काम गरिराख्न भनेर जानकारी गराएको समेत दाबी गरे । उपाध्यायलाई राजनीतिक पृष्ठभूमि, आग्रह पूर्वाग्रहका आधारमा फिर्ता बोलाइएको होइन र नेपाल-भारत सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउने, नीति कार्यक्रम र दुई देशको सम्बन्धलाई अगाडि बढाउने र सरकारको सोचाइअनुसार काम गर्न उहाँलाई फिर्ता बोलाइएको हो, अतिरञ्जित तवरले हेर्न जरुरी छैन, उनले भने । थापाले राष्ट्रपतिको भ्रमण स्थगनको सूचना र राजदूतलाई फिर्ता बोलाउने सूचना उपाध्यायलाई एकैपटक दिइएको दाबी गर्दै त्यसबारेमा गलत प्रचार नगर्नसमेत आग्रह गरे । नेपाल-भारत सम्बन्धलाई सरकारको प्राथमिकता, नीति, सोचाइअनुसार सरकारले राजदूत फिर्ताको निर्णय गरेको संसदलाई जानकारी गराए । उनले नेपाल-भारत सम्बन्ध अझै परिपक्व तवरले अगाडि बढ्ने विश्वास पनि व्यक्त गरे । त्यसअघि कांग्रेसका सांसदले राजदूत उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै विपक्षीसँगको रिसले अन्तर्राटि्रय सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका थिए । राजदूतमाथि सरकार ढाल्ने योजना बनाएको लगायत आरोप छन् । सत्तारूढ घटक एमाओवादीले नयाँ सरकार गठन गर्ने भनेर विज्ञप्ति जारी गरेको छ । उपप्रधानमन्त्री विजय गच्छदारले तीन महिनामा सरकार ढल्छ भनेका छन् । किन प्रधानमन्त्रीले उनीहरूलाई बर्खास्त गर्नु भएन ?'कांग्रेस सांसद प्रकाशशरण महतले प्रश्न गरे, भारतस्थित राजदूत उपाध्यायले भनेर नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारको समर्थन फिर्ता लिन खोजेको हो ? उनले बीचैमा राजदूत फिर्ता गरेर दुईपक्षीय सम्बन्धमा समस्या आउने कूटनीतिक रूपमा अप्ठेरो र अपरिपक्व काम गरेको दाबी गरे । राष्ट्रपतिको भ्रमण कायम राख्नुपर्छ भन्ने कुरा राजदूत उपाध्यायले राख्नुभयो भनेर समाचार आएको छ । तर यताबाट भ्रमण रोक्ने काम गरेको भन्ने आरोप लगाइएको छ । देशको अन्तर्राष्ट्रिय सम्बन्धमा खतरनाक असर पर्ने काम सरकारले गरेको छ, उनले भने । सरकारले तीन गम्भीर आरोप लगाउँदै उपाध्यायलाई शुक्रबार फिर्ता बोलाएको थियो ।

0 comments

Write Down Your Responses