सरकारले ल्यायो कार्ययोजना अब एक वर्षमा तीन निर्वाचन
काठमाडौं: सरकारले आगामी मंसिरदेखि एक वर्षभित्र तीन तहका निर्वाचन गर्ने महत्वाकांक्षी कार्ययोजना तयार गरेको छ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले डेढ वर्षभित्र स्थानीय, प्रदेश र संसद् गरी तीनवटा निर्वाचन गर्नेलगायत संविधानले तोकेका कामको योजनाबद्ध कार्ययोजना तयार पारेको कानुनमन्त्री अग्नि खरेलले बताए। बैठकले उक्त कार्ययोजना संसद्मा पेस गर्ने निर्णय पनि गरेको छ।
सरकारले आगामी मंसिरमा अन्तरिम स्थानीय तहको निकाय, जेठमा प्रदेशसभा र २०७४ कात्तिक÷मंसिरमा केन्द्र संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को निर्वाचन गर्ने कार्ययोजना बनाएको छ। संसद्को कार्यकाल २०७४ माघ ७ गतेसम्ममात्र रहेकाले त्यसअघि नै तीनवटा निर्वाचन गर्ने कार्ययोजना ल्याइएको हो।
स्थानीय निकायको निर्वाचन मंसिरमा गर्ने भनिए पनि राजनीतिक सहमति जुट्न सकेको छैन। ‘स्थानीय निकायको पुनर्संरचनासम्बन्धी आयोगलाई आगामी साउनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। त्यसो भयो भने ३ महिना तयारी गरेर मंसिरमा निर्वाचन गराउन सकिन्छ भन्ने सरकारको कार्ययोजना छ', मन्त्री खरेलले भने।
सत्तासीन माओवादी केन्द्र, विपक्षी कांग्रेस र मधेसकेन्द्रित दल भने स्थानीय चुनावका विपक्षमा छन्। स्थानीय निर्वाचनसम्बन्धी विधेयक संसद्बाट चाँडो पारित गराउने सरकारको योजना छ।



0 comments
Write Down Your Responses