ग्यास उद्योगीको आन्दोलन फिर्ता एचपी ग्यास सिलिण्डर विस्फोटमा परी ललितपुरको मंगलबजारमा ज्यान गुमाएका परिवारका सदस्यलाई एकमुष्ट रुपमा ४० लाख रुपैयाँ राहतस्वरुप दिने सहमति भएको छ।
एचपी ग्यास सिलिण्डर विस्फोटमा परी ललितपुरको मंगलबजारमा ज्यान गुमाएका परिवारका सदस्यलाई एकमुष्ट रुपमा ४० लाख रुपैयाँ राहतस्वरुप दिने सहमति भएको छ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेका अनुसार पीडित पक्ष, उद्योगी, जिल्ला प्रशासन कार्यालय र ताम्राकार समितिबीच पीडित पक्षलाई राहत दिने सम्झौता भएको हो।
साथै एचपी ग्यास उद्योगको तर्फबाट घटना घटनासाथ पीडितलाई उपलब्ध गराइएको एक लाख रुपैयाँ छुट्टै सहयोगस्वरुप रहने सहमति भएको छ। अब उद्योगीले उपलव्ध गराएको रकम ताम्राकार समितिले पीडित परिवारलाई वितरण गर्नेछ भने ताम्राकार समितिले विरोधका कार्यक्रम फिर्ता लिएको छ।
पीडित पक्षले बिमा दावी नगर्ने तर ग्यास उद्योग संघ र एचपी ग्यास उद्योगलाई आवश्यक परेको सम्वन्धमा सहयोग गर्ने सहमति भएको उद्योग संघका अध्यक्ष शिव घिमिरेले सेतोपाटीलाई बताए।
गत जेठ ७ गते मंगलबजारमा भएको ग्यास सिलिण्डर विस्फोटको घटनामा सुरेश ताम्राकार, ध्रुव ताम्राकार र राजेश ताम्राकारको मृत्यु भएको थियो।
घटनाको विरुद्धमा ताम्राकार समाजले एचपी ग्यास उद्योगको खारेज, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र अबका दिनमा घटना नदोहोर्याउने गरी सिलिण्डको गुणस्तर मापदण्ड ल्याउनुपर्ने माग गर्दै आन्दोलनमा रहेको थियो।
स्थानीयको दबाबपछि सरकारले छानविन समिति गठन गरी घटनाको सत्यतथ्य बाहिर ल्याउन निर्देशन गरेको थियो। छानविन समितिले भने अवैधानिक सिलिण्डर बेच्ने उद्योगीको बचाउ गर्दै उपभोक्तालाई नै दोषी ठहर गर्ने आशयको प्रतिवेदन सार्वजनिक गरेको थियो।
ग्यास उद्योगीको आन्दोलन फिर्ता हुने
एचपी ग्यास उद्योगलाई सरकारले पीडीओ बन्द गरेपछि आन्दोलनमा उत्रिएका ग्यास उद्योगीले आन्दोलन फिर्ता लिने भएका छन्। सरकार तथा उद्योगीबीचको वार्ता टोलीले आपूर्ति मन्त्रालयलाई एचपी ग्यासको पीडिओ रोक्न नपर्ने भन्दै पत्र पठाएको छ।
अब आपूर्ति मन्त्रालयले सो पत्रका आधारमा नेपाल आयल निगमलाई पिडिओ रोक्न नपर्ने निर्देशन दिने र उद्योगीहरुले आन्दोलन फिर्ता गर्ने आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्द राम रेग्मीले जानकारी दिए।
रेग्मीका अनुसार उद्योगीहरु पिडिओ उठाउन सहमत भइसकेका छन्। सेतोपाटीसितको कुराकानीमा उनले भने ‘वार्ताटोलीको पत्रका आधारमा अब मन्त्रालयले निगमलाई पीडिओ रोक्नु नपर्ने निर्देशन दिन्छ र सोअनुसार पिडिओ लिने काम सुरु हुन्छ।’
सम्भवतः भोलिबाटै सबै उद्योगीहरुले पिडिओ उठाउने उनले बताए।


0 comments
Write Down Your Responses